प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै ११ फागुन बेलुकीपख सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदियो । सर्वोच्चको फैसलाको सर्वत्र स्वागत गरियो । इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौरका विद्यार्थीहरुले पनि खुशीयाली मनाए । क्याम्पस गेटमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरे ।
अनेरास्ववियूका प्रचण्ड-माधव पक्षधर विद्यार्थीहरु हर्षोल्लासका साथ नाराबाजी गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर विद्यार्थीहरु रोड पारी समूहगत रुपमा आए र परस्पर विरोधी नारा घन्काउन थाले । उनीहरुले ढुंगा प्रहार गरेर दीप प्रज्ज्वलन गरिरहेका समूहलाई धपाउने प्रयास गरे । त्यसपछि वारीपारी ढुंगाहानाहान भयो । वडा प्रहरी कार्यालय बगरबाटै प्रहरी टोली पुग्यो । शान्तिपूर्ण तबरले दीप प्रज्ज्वलन गरिरहेका टोली क्याम्पस गेटबाट भित्र पसाइयो । त्यसपछि झनै अगाडि बढेर ओली पक्षीय विद्यार्थीहरुले ढुंगा प्रहार गर्न थाले । ओली पक्षका विद्यार्थीसँग मिलेर प्रहरीसमेत जाइलागेको माधव-प्रचण्ड पक्षधर विद्यार्थीको आरोप छ ।

प्रहरीहरु नै गेटबाट भित्र पसेर छात्र होस्टलसम्मै पुगे र दमनमा उत्रिएका थिए । सशस्त्र प्रहरी समेत विद्यार्थी कुट्न क्याम्पसको होस्टलसम्मै पुगेको थियो । दामोदर दाहालसहितका विद्यार्थीहरुलाई चोट लागेको छ ।
क्याम्पसको नियमानुसार विद्यार्थी संगठनको सहमतिविना क्याम्पस हाताभित्र प्रहरी प्रवेश गर्न पाउँदैन । तर, दीप प्रज्ज्वलन गरिरहेका विद्यार्थीमाथि ओलीपक्षीय कार्यकर्तासँग मिलेर प्रहरी नै दमनमा उत्रेको उनीहरुको भनाई छ ।

ढुंगा हान्ने ओली पक्षीय विद्यार्थीलाई रोक्नुपर्नेमा प्रहरीलाई क्याम्पस भित्र नै बोलाएर कुट्न लगाएको भन्दै विद्यार्थीहरु क्याम्पस प्रमुख बस्ने भवन मुनी गएर होहल्ला गर्न थालेका थिए ।
विद्यार्थी नेता अंकित पौडेलले भने, ‘हामीले क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रहरी प्रवेश गरेको छ । यो कार्य गलत हो भन्यौँ । उहाँले अझ दुई गाडी प्रहरी बोलाएर तिमीहरुलाई जेल हाल्छौँ भन्नुभयो ।’ विद्यार्थीका अनुसार क्याम्पसले प्रहरी नबोलाएको भए कुनै पनि घटना घट्ने थिएन ।
क्याम्पस प्रशासनले भने विद्यार्थीहरुको अराजक शैलीका कारण त्यस्तो अवस्था सिर्जना भएको बताएको छ ।
क्याम्पस प्रमुख नै असभ्य गालीगलौजमा उत्रिए
सुरक्षा माग गर्न क्याम्पस प्रमुख ई. राम प्रसाद पौडेललाई गुहार्न पुगेका विद्यार्थीहरुलाई पौडेलले अपशब्द प्रयोग गरेको भिडियो पनि सार्वजनिक भएको छ । देश बनाउने ईञ्जिनियरहरु उत्पादन गर्ने थलोका मूख्य व्यक्ति नै गालीगलौजमा उत्रिएका छन् । उनले विद्यार्थीहरुलाई ‘तेरो बाउ’ भन्दै अपशब्द प्रयोग गरेको प्रष्ट सुनिन्छ ।
भिडियोमा क्याम्पस प्रमुख पौडेलले विद्यार्थीहरुलाई ‘तँलाई राजनीति गर्न मैले सिकाएको हो भन्या ?’ भन्दै प्रश्न गरेका छन् । विद्यार्थीहरुले पनि ‘क्याम्पसमा प्रहरी कसले छिराको ?’ भन्दै प्रतिप्रश्न गरेको सुनिन्छ । क्याम्पस प्रमुख पौडेलले ‘तेरो बाउले छिरा’ भन्दै जवाफ फर्काएका छन् ।
भिडियोमा क्याम्पस प्रमुखले विद्यार्थीलाई कलेजमा राजनीति गरेको आरोप लगाइरहेका छन् भने विद्यार्थीहरुले तपाईं पनि त राजनीतिक नियुक्ति लिएर प्रमुख हुनुभएको हो नि भनेका छन् । क्याम्पस प्रमुख ओली पक्षीय विद्यार्थीसँग नरम र प्रचण्ड माधव पक्षका विद्यार्थीसँग गरम बन्दै विद्यार्थीहरुलाई जेल हाल्ने धम्की पनि दिइरहेका छन् । प्राज्ञिक क्षेत्रमा प्रहरी भित्राएर होस्टेलभित्र नै गुन्डागर्दी शैली अपनाएर छापा मारिएको विद्यार्थीको आरोप छ ।
तालाबन्दी गरे, कुर्सी जलाए, डिजिटल बोर्ड फुटाए
क्याम्पसले आफ्नो गल्तीको जिम्मेवारी नलिएको र आफ्ना विद्यार्थीको सुरक्षा गर्नुपर्नेमा उल्टै दमन गरेको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । साथै, घटनापछि आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी तथा डिजिटल डिस्प्ले तोडफोड समेत गरेका छन् ।

यस्तै, अनेरास्ववियूका नेताहरु अंकित पौडेल र कमल बस्यालले विज्ञप्ति जारी गरेर घटनाप्रति निन्दा गर्दै क्याम्पस प्रमुखमाथि कडा प्रश्न तेर्साएका छन् ।


सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो