भागरथी हत्या प्रकरण सुल्झियो: एकै विद्यालय पढ्ने छिमेकी १७ वर्षीय भाइ दिनेशले हत्या गरेको खुलासा

भागरथी हत्या प्रकरण सुल्झियो: एकै विद्यालय पढ्ने छिमेकी १७ वर्षीय भाइ दिनेशले हत्या गरेको खुलासा

dinesh bhagirathi

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेका छन् । तर हत्या स्वीकार गरेका दिनेशले आफूले बलात्कार नगरेको,  प्रयास मात्र भएको बयान दिएको बताइन्छ । मेडिकल रिपोर्टमा भने उनको बलात्कारपछि हत्या भएको प्रहरीले बताउँदै आएको छ ।

हत्यामा संलग्न स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा अध्ययनरत अभियुक्त दिनेशले आफ्नो अपराधबारे प्रहरीलाई साबिती बयान दिएका हुन् । उनीहरुबीच दिदीभाइको नातासमेत पर्छ । दिनेशले आफ्नो उमेर १७ वर्ष बताएको प्रहरीले जनाएको छ। उनी भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दैछन्। प्रहरीले  विद्यालय खुलेपछि उनको उमेर प्रमाणित गर्ने जनाएको छ।

‘उनले आफ्नो उमेर १७ वर्ष बताएका छन्। विद्यालय खुलेपछि हामी उमेर यकिन गर्छौं,’ बैतडीमै रहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले भने, ‘पक्राउ परेका किशोर नाबालक भए र उनीमाथि बलात्कार-हत्याको आरोप प्रमाणित भए उनलाई सुधार गृहमा पठाइनेछ।’

सोहि विद्यालयको कक्षा १२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो । उनी २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । बलात्कारको प्रयास गरेको तर बलात्कार नगरेको बयान दिएको प्रहरीले स्रोतले जानकारी दियो ।

घटना भएको दिन पनि ती किशोर स्कुल गएका थिए। खोचलेक बजारमा भागरथी साथीहरूसँग छुट्टिएपछि उनी भागरथीको पछि लागेका थिए। अनुसन्धान अधिकृतका अनुसार घर पुग्नुभन्दा एक किलोमिटर टाढा जंगलमा पुगेपछि भागरथीलाई उनले लछारपछार पारेर बलात्कार गरे। र, तुरुन्तै हत्या गरे।

सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वीकार गरेको प्रहरी अधिकारीहरु बताउँछन् । पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो,“म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ ।”

उनले आफूले फुपुको बदला लिन हत्या गरेको बताएको प्रहरी स्रोत बताउँछ । आफूले पहिल्यै मार्न चाहेको भए पनि नमिलेको उनले प्रहरीसमक्ष बयान दिएको स्रोत बताउँछ । हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको दिनेशले बताएका छन् । त्यसपछि उनी नियमितरुपमा विद्यालय समेत गइरहेका थिए ।

उनीहरू दुबै स्कुल जाने आउने लवलेक सामुदायिक वनको बाटो भएर हो।पक्राउ परेका किशोरको घर भागरथीको भन्दा २० मिनेट टाढा पर्छ।  उनले पहिलेदेखि नै भागरथीको बलात्कार र हत्याको योजना बनाएको एक अधिकृतले बताए।

दिनेशले भागरथीसँग आफ्नो ‘दुश्मनी’ रहेको प्रहरीलाई बताएका छन्। यहीँ ‘दुश्मनी’ को कारण आफू भागरथीको पछि लागेको उनले प्रहरीमा प्रारम्भीक बयान दिएका छन्। उनी भागरथीलाई बलात्कारपछि हत्या गर्ने मनसायकै साथ हिँडिरहेका थिए। त्यसदिन उनले उपयुक्त मौका छोपेका थिए।

बुवाको मृत्यु भएको डेढ महिनामै उनको बलात्कारपछि हत्या भएको हो। दुई दिदी बिहे भएर आफ्नो घर गइसकेका छन्। उनका दाजु भारतमा रोजगारी गर्थे।

भागरथीकै न्यायका लागि प्रदर्शनमा उत्रिएका थिए

नियमित स्कुल जाने, धर्ना जुलुसमा सहभागी हुँदा घटनाबाट जोगिन्छु कि भन्ने उनको मनसाय देखिएको ती अधिकृतले बताए। दिनेशलाई घटना भएकै दिनदेखि प्रहरीले निगरानीमा राखेको थियो । ‘उनको गतिविधि शंकास्पद थियो । यौनमा बढी रुची भएका व्यक्तिमाथि निगरानी बढाएका थियौँ । त्यसमा उनी पनि परे ।’ प्रहरी भन्छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनलाई सोधपुछका लागि यसअघि पनि प्रहरीले नियन्त्रणमा लिएको थियो र पछि छाडेको थियो । त्यसपछि ती दिनेश भागरथीको न्यायका लागि भएको प्रर्दशनमा समेत सहभागी भएका थिए । अभियोग पुष्टि हुने प्रमाण पाएपछि प्रहरीले दिनेशलाई फेरि पक्राउ गरेको हो । अभियुक्त दिनेश घटनाको दिन पहिल्यै बाटोमा कुरेर बसेकोसमेत खुलेको छ ।

डिआईजी खटिएपछि लापरवाही हुन पाएन

निर्मला पन्त प्रकरण जस्तो नहोस् भनेर सुदूरपश्चिम प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) उत्तम सुवेदी आफैं घटनास्थलमा पुगेर अनुसन्धानमा खटिए। उनले प्रहरीका सबै खाले शक्तिलाई आफैं फिल्डमा रहेर उपयोग गरे।

अनुसन्धानमा उनको सक्रियताले प्रहरी सतर्क हुनुका साथै लापरवाही हुन पाएन। अनुसन्धानका क्रममा गाउँमा आउने जाने हरकोही माथि प्रहरीले रेकी गरिरहेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का अधिकारीले पनि गोप्य रुपमा गाउँमा आवत जावत गर्ने शंकास्पद व्यक्तिमाथि निरन्तरको रेकी गरेको थियो।

दुई सातासम्म प्रहरीले मिहिन अनुसन्धान गरेपछि अभियुक्तविरुद्ध प्रमाण र सबै प्रकारका आशंका केन्द्रित भएपछि पक्राउ गरिएको हो। अभियुक्त दिनेशले साविति बयान दिइसकेका छन्। उनले हत्या गर्नुको भित्री कारण भने प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds