पोखराबाट प्रकाशमान सिंहले भने- केपीले चुनाव गर्नै खोजेका होइनन्, सर्वोच्चले न्याय दिने विश्वास छ

पोखराबाट प्रकाशमान सिंहले भने- केपीले चुनाव गर्नै खोजेका होइनन्, सर्वोच्चले न्याय दिने विश्वास छ

congr sava

नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संसद् विघटन गरेर निर्वाचन घोषणा गरिनु चुनावै नगराउने खेल भएको बताएका छन् । झन्डै दुई तिहाइको बहुमतको सरकार प्रमुख भएर प्राप्त अवसरको सदुपयोग गर्न नसक्ने र फेरि दुई तिहाइ चाहियो भनेर निर्वाचनमा जान खोज्नु देशलाई दुर्घटनामा पुर्‍याउने बाहेक केही नभएको उनको भनाइ छ । हुनै नसक्ने चुनावको घोषणा गरिएको भन्दै उनले यसले विभिन्न व्यक्तिलाई फसाउने बताए ।

संसद, विघटनविरुद्ध कास्की कांग्रेसले आयोजना गरेको विरोध सभामा सोमबार पोखरामा सिंहले भने, ‘संविधान मिचेर असंवैधानिक रुपमा चुनाव गर्ने कुरामा कोही पछि लाग्छ भने रामराम मात्रै भन्न सकिन्छ।’  नेता सिंहले सर्वोच्च अदालतले संसद् पुन:स्थापना गर्नेमा विश्वस्त रहेको जनाए । ‘संसारभरिको प्राक्टिस हेर्दा न्यायामूर्तिले आफ्नै देशको संविधान र कानुनको भावनाअनुसार निर्णय गरी न्याय दिन्छ भन्नेमा विश्वास छ,’

 ‘राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग सर्वोच्चबाट खारेज गरिएको उदाहरण छँदैछ । ओलीले संविधान मिचेकै भएकाले संसद् पुन:स्थापना हुने विश्वास छ ।’ ओलीले कानुन, विधिको शासन मान्न नपर्ने तर अरुले मान्नुपर्ने भन्दै उनले यो जंगली राज नभएकाले ओलीले जो बोल्यो त्यही हुनुपर्छ भन्ने नहुने बताए । ‘ओलीको अधिनायक शैली यति बढ्दै गएको छ कि यसबाट अरुले नचेत्ने हो भने इतिहासले धिक्कार्नेछ,’ उनले भने ।

संविधान लिकबाट बाहिर गएकाले यसलाई लिकमा ल्याएर राजनीतिक स्थिरता कायम गर्छन् भन्ने विश्वास गर्न नसकिने भन्दै उनले‘ मन्त्रिपरिषद् गठन गर्ने धारामार्फत संसद् विघटन गर्ने अधिकार कहाँबाट आयो ?’ भन्ने प्रश्न गरे । ‘नेपालको कानुन मान्दिनँ अनि जनतासमक्ष जान्छु’ भन्नुलाई कायरता भन्दै उनले पार्टीभित्रको किचलो व्यवस्थापन गर्न नसकेर ओलीले संसद् विघटन गरेर तानशाही लादेको आरोप लगाए । आफ्नो असफलता ढाकछोपकका लागि देशलाई राजनीतिक अस्थिरतातर्फ लैजाने प्रयास गरेको सिंहको भनाइ थियो । राजा ज्ञानेन्द्रलाई फाल्न धेरै समय नलागेको भन्दै ओली तानाशाह नै भएकाले उनलाई पनि फ्याँक्न धेरै समय नलाग्ने सिंहले बताए ।

संसद्लाई अनिर्णयको बन्दी बनाएर पार्टी र संसद्‍मा समेत फेस गर्नुपर्नेमा संसद्लाई छलेर असंवैधानिक काम गर्ने छुट कसैलाई नरहेको सिंहको भनाइ थियो । ‘कांग्रेसलाई सत्ताभन्दा पनि संविधानको रक्षाको खाँचो’ रहेको दाबी गर्दै सिंहले चुनावले कांग्रेसलाई फाइदा भए पनि त्यसलाई नहेरेको बताए ।

५ वर्षलाई शासन गर्न नेपाली जनताले नेकपालाई मत दिएकोमा त्यसको अपमान भएको जिकिर गर्दै सिंहले भने, ‘जतिबेला मन लायो त्यतिबेला संविधानविपरीत काम गर्न पाइन्छ ?’ महिनौँसम्म सिंहदरबार नजाने ओलीले अहिले रिबन काटेर नौटंकी गरेको सिंहको आरोप थियो । निर्मला पन्त र भागरथी भट्टलगायतलाई न्याय दिन नसकेको भन्दै उनले सरकारको आलोचना गरे ।

सभामा कांग्रेस नेता तारानाथ रानाभाटले संसद पुन:स्थापना हुनुपर्ने नभए लोकतन्त्र धरापमा पर्ने चिन्ता व्यक्त गर्दै यसबिरुद्धको आन्दोलनको नेतृत्व कांग्रेसले लिनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ