टाइगर कप भलिबल: आर्मीलाई हराउँदै गण्डकीले जित्यो उपाधि, महिलातर्फ पुलिस च्याम्पियन

टाइगर कप भलिबल: आर्मीलाई हराउँदै गण्डकीले जित्यो उपाधि, महिलातर्फ पुलिस च्याम्पियन

Volleyball-Photo-Final

घरेलु टोली गण्डकीले प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीको बाहुल्य रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै ३-२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।

शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको  निकै प्रतिस्पर्धात्मक फाइनलमा गण्डकीले पहिलो, तेस्रो र पाँचौं सेटमा जीत निकाल्दै च्याम्पियन बनेको हो । घरेलु समर्थकको राम्रो साथ पाएको गण्डकीले त्यसको फाइदा उठाउँदै अन्तिम सेटमा आर्मीलाई स्तब्ध पार्न सफल भयो ।

पहिलो सेटमा घरेलु टोली गण्डकीले आर्मीलाई २५–२२ हराएको थियो । दोस्रो सेटमा आर्मीले गण्डकीलाई २५–२१ ले हराएको थियो । तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । तेस्रो सेटमा गण्डकीले आर्मीलाई ३२–३० ले हराएको थियो ।चौथो सेटमा आर्मीले गण्डकीलाई २५–२३ ले हराएपछि फाइनल थप रोमान्चक बन्न पुगेको थियो । कोर्टमा प्रवेश गरेलगत्तै मानबहादुर श्रेष्ठले चलाखीपूर्ण स्पाईकका साथ आर्मीलाई चौथो सेट जिताएका थिए । रोमान्चक तथा निर्णायक फाइनल सेटमा गण्डकीले आर्मीलाई १५– ११ ले हराउँदै उपाधि जितेको हो ।

पुरुषतर्फ उत्कृष्ट डिफेण्डरमा गण्डकीका राजन दर्लामी मगर भए भने उत्कृष्ट व्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकरमा आर्मीका खेलाडीहरु क्रमशस् हरि अधिकारी, शरण सामारिक श्रेष्ठ, र धन बहादुर भट्ट घोषित हुँदै समान नगद ५–५ हजार प्राप्त गरेका छन् ।

यसैगरी, आज नै सम्पन्न महिला तर्फको फाइनल खेलमा विभागिय टोली पुलिसले अर्को विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो सेटमा पराजित गरेको छ । उपाधी भिडन्तमा पुलिसले एपिफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले पहिलो सेटमा एपिएफलाई २५–२२ ले दोस्रो सेटमा २५–२२ ले र तेस्रो सेटमा २५–२१ ले हराउँदै उपाधि जितेको हो । विजेता पुलिसले उपाधिसहित १ लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता एपिएफले ७५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा महिला तर्फ नेपाल पुलिसकी उषा भण्डारी र पुरुष तर्फ घनश्याम चौधरी सर्वोत्कृष्ट हुँदै नगद २०–२० हजारका साथम पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा महिलातर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपिएफकै हिरा केसी उत्कृष्ट व्लकर, न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, प्रहरीकी कमला पुन उत्कृष्ट सेटर, प्रहरीकै शान्तीकला तामाङ र महिलातर्फको टिमको उत्कृष्ट प्रशिक्षकमा पुलिसका रुपेश विष्ट घोषित हुँदै सवै उत्कृष्ट हुनेहरुले समान नगद ५–५ हजार प्राप्त गरेका छन ।

कार्यक्रममा नेपालको राष्ट्रिय खेल भलिवलमा उच्च योगदान पुर्याएको भन्दै नेपाल टिमकी पूर्व उपकप्तान मञ्जु गुरुङ र पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्साललाई सम्मान गरिएको थियो ।

विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल लगाएतले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा, नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने संस्थाहरुलाई प्रतियोगिताका संयोजक नविन गुरुङले प्रंशसा पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds