कास्की । विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको नमूना सडक निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–२७ तालचोकदेखि पर्यटकीय गन्तव्य बेगनास तालसम्मको तीन किमी २८० मिटर सडक एक अर्ब ६० करोड ५० लाख लागतमा स्तरोन्नति गरी विश्व बैंकको मापदण्डअनुसारको नमूना बनाउन लागिएको हो । हालको सडक स्तरोन्नति गरी मेडियनसहित ३० मिटर फराकिलो बनाउने योजना छ ।
शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको शहरी सुशासन तथा पूर्वाधार परियोजनाले बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का बारेमा छलफल आयोजना गरेर डिपिआर तयार भएकाले अब निर्माणका प्रक्रियामा अघि बढ्ने जनाएको छ । सो सडकको दायाँबायाँ साइकल ट्रयाक, पैदलमार्ग, व्यवस्थित नाली, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने सो सडक परियोजनाका इञ्जिनीयर नवराज बोहोराले जानकारी दिए ।
उनका अनुसार सडकमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर अन्तर्राष्ट्रियस्तरको बनाइने छ । महानगरका वरिष्ठ इञ्जिनीयर शारदामोहन काफ्लेले प्रति किमी लागतका हिसाबले सो सडक यहाँ बनेका सडकमध्येमा सबैभन्दा महँगोे रहेको बताए । आगामी दुई महिनाभित्रमा बोलपत्र आह्वानलगायतका सबै प्रक्रिया शुरु गरेर यसै आर्थिक वर्षभित्र निर्माण शुरु गर्ने योजना रहेको इञ्जिीनियर काफ्लेले जानकारी दिए ।
आगामी दुई वर्षभित्रमा सडक निर्माण गरिसक्ने योजना छ । विश्व बैंकको मापदण्डअनुसार रहेकाले लागत बढी भएको बताइन्छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले वर्षौंदेखिको सपना पूरा हुन लागेको र सडक महानगरको नमूना र गौरवको सडक बन्ने बताए । सडक निर्माणपछि बेगनासताल क्षेत्रको पर्यटकीय सम्भावनासमेत बढेर बताउँदै उनले लामो समयको प्रयासपछि विश्व बैंकको सहयोगमा पोखरामा पहिलो काम हुन लागेको उल्लेख गरे ।
सडक विस्तार गर्ने क्रममा खानेपानी, विद्युत् र टेलिफोन स्थान्तरणको कार्यमा सम्बन्धित कार्यालयले महानगरको सरसल्लाहमा मात्र गर्नुपर्ने प्रमुख जिसीले बताए । प्र्रमुख प्रशासकीय अधिकृत महेश बरालले आयोजनाको लागत नबढ्ने गरी काम गर्न आग्रह गरे । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, शहरी शासकीय तथा पूर्वाधार आयोजनाका परियोजना निर्देशक परिक्षित कडरिया, महानगरका शहरी योजना आयोगका सदस्य आर्किटेक्ट बाबुराम भण्डारी लगायतले महानगरको नमूना सडकलाई छिटो सम्पन्न गर्न सबैबाट सहयोगको आवश्यकता रहेकामा जोड दिएका छन् ।
महानगरपालिकाले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगर, प्रदेश सरकार तथा डिभिजन सडक कार्यालयको संयुक्त लगानीमा अहिले पोखराको २५ किमी शहरी सडक ‘अस्फाल्ट’ कोलोपत्रको काम भइरहेको छ ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो