म्यानमारमा सेनाद्वारा शासनसत्ता आफ्नो हात लिएको घोषणा, संकटकाल लागु, सुकीसहितका नेताहरु नजरबन्दमा

म्यानमारमा सेनाद्वारा शासनसत्ता आफ्नो हात लिएको घोषणा, संकटकाल लागु, सुकीसहितका नेताहरु नजरबन्दमा

myanmar_army_chief

YE AUNG THU/AFP/Getty Images)

म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी समेत देशका सबैजसो वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको पनि जनाएको छ ।

सेनाको नियन्त्रणमा रहेको म्यावाडी टिभीका एक सैनिक प्रस्तोताले सेनाको घोषणा वाचन गर्दै सेनाले मस्यौदा गरेको संविधान बमोजिम देशभित्र आपतकालीन स्थिति उत्पन्न भए सेनाले देशलाई नियन्त्रणमा ल्याउन सक्ने उल्लेख गरेका थिए ।

ती सैनिक प्रस्तोताले गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भन्ने सेनाको दाबीलाई अस्वीकार गरिएको तथा कोरोनाभाइरसका कारण देशभित्र संकटपूर्ण अवस्था रहेकाले आम निर्वाचन स्थगित गर्न सरकार अक्षम भएपछि सैनिक नियन्त्रण आवश्यक रहेको बताएका थिए ।

केही दिनदेखि सेनाले सत्ता विद्रोहको तयारी गरिरहेको छ भन्ने समाचार सार्वजनिक भए पनि सेनाले त्यस्तो खबरमा सत्यता नरहेको बताउँदै आएको थियो । तर नयाँ निर्वाचन भएर नयाँ संसदको बैठक आजै शुरु हुने दिन बिहान सेनाले सत्ता विद्रोह गरेको छ ।

राजनीतिक नेताहरुलाई सैनिक नियन्त्रणमा राख्ने र अन्य संचार सम्पर्क विच्छेद गर्ने निर्णयले सेनाद्वारा सत्ता नियन्त्रण गरेको प्रस्टै देखिएको छ । राजधानी न्यापिटअको फोन र इन्टरनेट सेवा काटिएको छ भने सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को पार्टी कार्यालयसँगको सम्पर्क टुटेको छ ।

इरावादी नामको अनलाइन सेवाले स्टेट काउन्सिलर समेत रहेकी आङ सान सुकी र देशका राष्ट्रपति विन मिन्ट दुबैलाई बिहानै नजरबन्दमा राखिएको जनाएको छ । इरावादीका अनुसार एनएलडीका केन्द्रीय कार्यकारी समितिका सदस्यहरु, सांसदहरु र क्षेत्रीय मन्त्रिपरिषदका सदस्यहरुलाई पनि गिरफ्तार गरिएको छ ।

अमेरिका, अस्ट्रेलिया र अन्य मुलुकले विज्ञप्ति प्रकाशन गरी म्यान्मारको पछिल्लो अवस्थाप्रति चिन्ता प्रकट गर्दै म्यान्मारको सेनालाई कानुनी शासनको सम्मान गर्न आग्रह गरेका छन् ।

गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेको थियो । तर, सेनाले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।

बर्मा पनि भनेर चिनिने म्यानमार सन् २०११ सम्म सैन्य शासन रहेको थियो । सूकीले लामो समय आफ्नै घरमा नै नजरबन्दमा बिताएकी थिइन् । सोमबारबाट पहिलोपटक नयाँ संसदको सत्र शुरु हुनुपर्ने थियो तर सेनाले त्यसलाई स्थगित गर्न माग गर्दै आएको थियो ।

बीबीसीका संवाददाताकाअनुसार राजधानी लगायत देशका मुख्य सहरहरुमा सैनिकहरुको उपस्थिति बाक्लो रहेको छ । रोयटर्स न्यूज एजेन्सीसँग फोनबाट कुरा गर्दै एनएलडीका प्रवक्ता म्यो न्यून्टले सूकी र राष्ट्रपति विन मिन्टलगायत अन्य नेताहरुलाई बिहानै ‘लगिएको’ जानकारी दिए ।

सरकारी मिडिया एमआरटीभीले प्राविधिक कारण बताउँदै प्रशारण बन्द गरेको छ भने टेलिफोन र विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको थियो । सेनाहरु विभिन्न क्षेत्रका मुख्यमन्त्रीका घरमा पुगेर उनीहरुलाई पक्राउ गरेको परिवारिक स्रोतले जानकारी दिएका छन् ।

शनिबार म्यानमारको सेनाले संविधानअनुसार अघि बढ्ने बताएपछि म्यानमारमा सैनिक ‘कू’ को आशंका बढेको थियो ।

को हुन् आङ सान सू ची ?

आङ सान सू ची म्यान्मारका स्वतन्त्रता सेनानी आङ सानकी छोरी हुन् । उनी अहिले ७५ वर्षकी भइन् । सन् १९४८ मा म्यान्मारले औपनिवेशिक ब्रिटिश शासनबाट मुक्ति पाउनु केही समयअघि जेनरल आङ सानको हत्या भएको थियो । त्यतिबेला सू ची दुई वर्षकी थिइन् । सू चीलाई कुनै बेला मानवाधिकारकी प्रतिमूर्ति मानिन्थ्यो । उनले सैन्य शासनविरुद्ध धेरै लामो समय सङ्घर्ष गरेकी थिइन् ।

सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाउँदा उनी घरमै नजरबन्द थिइन् । उनी सन् १९८९ देखि २०१० सम्म झन्डै १५ वर्ष सेनाको नियन्त्रणमा बस्न बाध्य थिइन् । नोभेम्बर २०१५ मा उनको नेतृत्वमा न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले निर्वाचनमा ठूलो बहुमत प्राप्त गर्‍यो । म्यान्मारमा २५ वर्षपछि स्वतन्त्र निर्वाचन भएको थियो ।

विदेशी नागरिकसँग विवाह गरेर जन्मिएका सन्तान पनि विदेशी नागरिक नै भएकाले म्यान्मारको संविधानले उनलाई देशको राष्ट्रपति बन्न रोक्छ । तर सत्तारूढ दल र सरकारमा उनकै नेतृत्व भएको देखिन्थ्यो ।

तर म्यान्मारको काउन्सलर पद ग्रहण परेपछि अल्पसङ्ख्यक रोहिन्ज्या मुस्लिमसँग गरिएको व्यवहारका कारण उनको चर्को आलोचना भयो । सन् २०१७ मा सेनाले दमन गर्न थालेपछि हजारौँ रोहिन्ज्याहरू म्यान्मार छोडेर छिमेकी बाङ्ग्लादेशमा शरण लिन गएका थिए । सेनाको अत्याचार रोक्न उनले केही नगरेको भनेर सू चीको आलोचना भएको थियो ।

आंग साङ सुकीलाई रिहा नगरे अमेरिकाले कारबाही गर्ने

संयुक्त अधिराज्य अमेरिकाले म्यानमारको सेनालाई पक्राउ परेका आंग साङ सुकी लगायतका अधिकारीहरुलाई रिहा गर्न आग्रह गरेको छ ।

साथै सेनाले गरेको उक्त कदमका सम्बन्धमा प्रतिक्रिया जनाउने चेतावनी पनि दिएको छ । गत नोभेम्बरको भएको चुनावमा धाँधली भएको आरोपमा सेना र सरकारबीच बढ्दो तनावका कारण सुकी र राष्ट्रपतिलाई हिरासतमा लिएको छ ।

‘संयुक्त राज्यले भर्खरका चुनावको नतिजा बदल्न वा म्यानमारको प्रजातान्त्रिक संक्रमणमा बाधा ल्याउने कुनै पनि प्रयासको विरोध गर्दछ र यी कदमहरु उल्टाइएनन् भने जिम्मेवारहरु विरुद्ध कारबाही गर्ने छ,’ ह्वाइट हाउसका प्रवक्ता जेन सासाकीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी सेना र अन्य सबै पक्षलाई प्रजातान्त्रिक मान्यता र कानूनको पालना गर्न र आज पक्राउ गरेकालाई रिहा गर्न आग्रह गर्दछौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ