प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटन असंवैधानिक र जनमतको अपमान भन्दै पार्टीकै बहुमत खेमा सडकमा छ । प्रतिपक्षी सडकमा छ । गैह्रराजनीतिक हिसाबमा नागरिक सडकमा छन् । पोखरामा राजनीतिक समूह मात्र बिरोधमा देखिएका बेला नागरिक पनि जुर्मुराएका छन् ।
काठमाडौंमा माघ १२ गते बृहत नागरिक आन्दोलनमाथि प्रहरीले बल प्रयोग गर्दै दमन गरेपछि पोखरामा पनि नागरिक आन्दोलनको आवश्यकता देखे । सुरुमा १० जनाको आह्वानमा शनिबार लेखक, कवि, कलाकार, विद्यार्थी एवं विभिन्न पार्टीमा आस्था राख्नेहरु नागरिककै परिचयमा चिप्लेढुंगामा भेला भए । प्लेकार्ड बोके । महेन्द्रपुलमा पुगी सहिदलाई साक्षी राखेर प्रतिगमन विरुद्ध ऐक्येबद्धता जनाए ।
‘बृहत नागरिक आन्दोलन’को ब्यानरमा उनीहरु उपस्थित थिए । ¥यालीमा सहभागिहरुले सांगीतिक प्रस्तुती दिनुका साथै प्लेकार्ड बोकेका थिए । प्रतिगमन मुर्दाबाद, संसद पुर्नस्थापना गर, लोकतन्त्रको रक्षा गरौंलगायतका नाराहरु लगाए । मानव अधिकार चोकबाट निकालेको जुलुस महेन्द्रपुलस्थित शहीद भीमसेन दाहालको शालिक अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।
अगुवा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी प्रधानमन्त्री केपी ओलीको बिरुद्ध खनिए । उनको बोली र व्यवहारले नेपालीको शिर झुकाएको भन्दै उनले संविधान कुल्चेर लामो समय सत्तामा बस्न खोजेपनि यिनीहरुको लहडले देश नचल्ने ठोकुवा गरे । संविधानका हस्ताक्षरकर्ताबाटै बज्रपात भएको भन्दै उनले जनताको अभिमतलाई कुल्चिने काम ओलीले गरेकोमा आपत्ति जनाए । एकजना व्यक्तिको लहडले देश यो अवस्थामा पुगेको भन्दै उनले संसद विघटन प्रतिस्थापन, चुनाव जे भए पनि घाटा आखिर नेपाललाई नै हुने र कोभिडले थला परेको आर्थिक क्षेत्रमा झन् संकट थपिने बताए ।
लेखक गनेस पौडेलले निरंकुशताले फेरि जन्म लिएको भन्दै पहिले निरंकुश ढाल्ने हामीहरुको पनि पुनर्जन्म जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले संसद विघटनमात्र नभई संविधान नै विघटन गरेको आरोप लगाउँदै उनले थपे – ‘आफ्नो घर भित्रको झगडामा तिमी आफ्नै घरमा मात्र आगो लगाउ त्यो सहन सकिन्छ, तर गाउँमा आगो लगाउने अधिकार तिमीलाई छैन । जब संविधानमाथि कू गर्छन् त्यो नेपाल आमाको थाप्लोमाथि गरेको कू र आमाको टाउकोमा हानेको लात्ती हो । यस्तो अवस्थामा चुप लाग्नु भनेको राष्ट्रघात गर्नु हो । आत्मघात गर्नु हो ।’
त्यसैले उनले नागरिक आन्दोलनको ब्यानरमा सबै दलका नेता कार्यकर्तालाई आन्दोलनमा सहभागी हुन समेत आह्वान गरे। ‘हामी पहिलो नागरिक हौं, त्यसपछि मात्र पार्टीका हौं’, उनले भने, ‘तपाईं जुनसुकै दलमा लागि पनि नागरिक आन्दोलनमा निर्वाध रूपमा आउनुहोस्। चुनावमा पहिलो भएर एउटा पार्टी प्रधानमन्त्रीको कुर्सी ताकेर बस्छ । अर्को एउटा पार्टी सूर्य चिन्ह कसको भागमा पर्ला भन्ने चिन्ताले ग्रसित छ । संविधान र देशको चिन्ता लिने राजनीतिक दलको ठूलो उपस्थिति छैन ।’
आन्दोलन उठाउन लागिपरेका युवक सुदर्शन पौडेलले हजुरबुवादेखि आफ्नो पुस्तासम्म लोकतन्त्रको लडाइँमा लाग्नुपरेको विडम्वना अवस्था चित्रित गर्दै कहिलेसम्म लाग्ने हो ? भनेर प्रश्न गरे। ‘बाजे, बा पुस्तादेखि हामी नाति पुस्तासम्म एउटै कुराका लागि कति पटक सडकमा चिच्याउनुपर्ने हो ?’ कार्यक्रमको सहजीकरण गर्दै पौडेलले थपे, ‘एउटा अमुक व्यक्ति विधि र विधानभन्दा माथि कदापि हुन सक्दैन । त्यो हो भने तानाशाही प्रवृत्तिको सुरुआत हो । त्यसको विरोध गर्छौं ।’
नागरिक अभियन्ता निर्मला न्यौपानेले प्रधानमन्त्रीका कारण व्यबस्था नै धरापमा परेको भन्दै व्यवस्था बचाउनका लागि नागरिक आन्दोलन अपरिहार्य भएको बताईन् । ओलीको कदम प्रतिगमन नै भएको बताउँदै उनले अब प्रतिगमन र अग्रगमनबीच ध्रुविकरण हुन जरुरी रहेको बताईन् ।
नागरिक सभामा बोल्दै अर्का वक्ता आस्था नेपालीले ओली प्रवृत्तिविरूद्ध सबै युवाहरू सडकमा आउनुपर्ने बताइन्। प्रधानमन्त्री ओलीले संवैधानिक निकायहरूमा समेत हस्तक्षेप गरेको भन्दै उनले लोकतन्त्रका लागि लड्नुपर्ने अवस्था आएको बताइन्।
नागरिक आन्दोलनमा संगम सांगीतिक मञ्चले गीत प्रस्तुत गरेको थियो। मञ्चका गायक विकास लुङ्गेली र गायिका ममता गुरूङले गीतमार्फत् आन्दोलनका सहभागीहरूलाई उत्साह भरेका थिए। उनीहरुले गीतमार्फत् नै भने,
थुन थुन विमतिका आवाजलाई थुन
कालोलाई कालै हो भन्न नदिन
थुन थुन तिमीलाई हेर्ने आँखाहरू थुन
नांगिएको तिम्रो रूप हेर्न नदिन
अध्याँरोमै राख्ने भए राँको किन बाल्यौ,
निरंकुशता लाद्ने भए राजा किन फाल्यौ ?
सक्छौ भने चन्द्रमा र सूर्यलाई थुन,
नांगिएको तिम्रो रूप हेर्न नदिन
कलाकारहरुले प्रतिगमनको विरोध गर्नु नेकपाको प्रचण्ड(नेपालको पक्षमा लाग्नु नभएको बताए । कोणसभामा पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थी सन्तोष न्यौपानेले कविता वाचन गरेका थिए भने रामराज रेग्मी लगायतले मन्तव्य राखेका थिए।
सम्बन्धित खबर
उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
नागीधार महोत्सव एक दिन थप
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर