पर्वतमा साढे सात हजार मतदाता थप

पर्वतमा साढे सात हजार मतदाता थप

Election Nepal

आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारी पर्वतमा पनि थालिएको छ । निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । जसअन्तर्गत स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफललाई निरन्तरता दिइएको छ ।

निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरण टिपाएका १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने भएका छन् । पर्वतमा पुस ५ गतेसम्मको तथ्याङ्कमा एक लाख १४ हजार ८२१ मतदाता सूचीकरण भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक लाख सात हजार ३०० मतदाता थिए । आगामी निर्वाचनमा अघिल्लो पटकभन्दा सात हजार ५२१ मतदाता थपिएको शर्माले बताउनुभयो जसमध्ये महिला ५९ हजार ६८ र पुरुष ५५ हजार ७५३ छन् । निर्वाचनको तयारीस्वरुप यही माघ १५ देखि २१ गतेसम्म मतदाता नामावलीमा दाबी विरोधलाई समय निर्धारण गरेको छ ।

जिल्लाका सातै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्च्याउन, बसाइँसराइ, मृत्यु वा अन्य कुनै कारण भए उजूरी दिन सकिने निर्वाचन अधिकारी शर्माले बताए । कार्यालयले सबै स्थानीय तहमा नाम दर्ता अधिकारी खटाइसकेको छ ।

त्यसैगरी आगामी निर्वाचनमा १४४ मतदान केन्द्र रहने भएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा ७४ मतदानस्थलमा १३९ केन्द्र रहेकामा यस पटकको निर्वाचनमा एक मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लास्तरीय मतदान केन्द्र सिफारिस समितिको निर्णयअनुसार एउटा केन्द्र थप्ने निर्णय भएको हो ।

चुनाव नियमित प्रक्रिया भएकाले निर्वाचन आयोग र मातहतका कार्यालय सधँै आवश्यक तयारीमै हुने शर्माको भनाइ छ । मुख्य काम निर्वाचनको एक महिनाअघि देखि शुरु हुने भए पनि अन्य स्रोतसाधनको आङ्कलन, मतदाता नामावली र मतदानस्थलको व्यवस्थापन नियमित प्रक्रिया भएकाले तयारी अवस्थामै रहेको उहाँको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचनका लागि पर्वतमा एक निर्वाचन क्षेत्र छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ