कांग्रेसले आन्दोलनको नेतृत्व लिनुपर्छ, प्रचण्ड-माधवले ओलीलाई कारबाही किन नगरेको?: डा.भट्टराई

कांग्रेसले आन्दोलनको नेतृत्व लिनुपर्छ, प्रचण्ड-माधवले ओलीलाई कारबाही किन नगरेको?: डा.भट्टराई

baburam bhattarai

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाको विवादले देश दुर्घटनाको संघारमा पुगेको भन्दै यस्तो बेला पनि प्रचण्ड-नेपाल समूहले ओलीलाई कारबाही नगर्नु शंकास्पद भएको बताएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई कित्ता क्लियर गर्न भट्टराईले आग्रह गरे । सांसद तथा काठमाडौं कांग्रेसका पूर्वसभापति भीमसेनदास प्रधानले आयोजना गरेको अन्तर्क्रियामा भट्टराईले प्रतिनिधिसभा विघटनमा ओली विदेशी शक्तिको प्रभावमा परेको भन्दै त्यस्तो बुझेर पनि कारबाही नहुनुलाई सन्देहास्पद भनेका हुन् ।

“केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न ? तपाईंहरूले कित्ता क्लियर गर्नुस्,” भट्टराईले भने, “तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनुभएको त होइन ? हामीलाई मात्र होइन यसमा कांग्रेसलाई पनि आशंका छ ।”  पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले उनले प्रचण्डको बोलीको भर नहुने भन्दै उनीमाथि विश्वास पनि गर्न नसकिने बताए ।

“प्रचण्डले बिहान बोलेको कुरा बेलुकी सम्झनुहुन्न, त्यसैले उहाँको भर पनि हुन्न,’ भट्टराईले भने । उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै शान्तिपूर्ण आन्दोलनमा पनि रहेको बताए । “अदालतबाट प्रतिनिधिसभा पुन:स्थापना नहुने र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर बस्न सकिँदैन,” उनले भने, “बाहिरी हस्तक्षेप भए रामनाम जपेर बस्दैनौं । त्यस्तो स्थिति नआओस् ।”

कांग्रेसले आन्दोलनको नेतृत्व लिनुपर्छ

भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने समय आएको बताएका छन् । कांग्रेसले आन्दोलनको नेतृत्व गर्नुपर्नेमा ढुलमुले नीति लिएको उनको आरोप छ । “चुनाव भइहाल्छ, लोकतान्त्रिक पार्टी चुनावबाट कहाँ भाग्ने भनेर नेपाली कांग्रेसले भनिरहेको छ । यो चुनाव हुनेवाला छैन,” कांग्रेसलाई आन्दोलनमा आउन प्रोत्साहित गर्दै भने, “पहिले संविधान ट्र्याकमा ल्याउनुपर्‍यो । त्यसपछि लाभ लिने त कांग्रेसले नै हो ।”

प्रतिनिधिसभा पुन:स्थापनाका लागि संयुक्त आन्दोलन गर्न उनले प्रस्ताव गरे । उनले जसपा आन्दोलनमा रहेको भन्दै कांग्रेस र प्रचण्ड-माधव समूहलाई संयुक्त आन्दोलनका लागि आग्रह गरे । “कांग्रेसले ढुलमुले नीति छाडोस् र प्रचण्ड-नेपाल समूहले पनि कित्ता क्लियर गरुन्,” उनले भने, “ जसपा आन्दोलनमै छ । संयुक्त आन्दोलन गरौं ।”

सर्वोच्चबाट संविधानका धारामा टेकेर मात्र फैसला नआउने सक्ने भन्दै उनले त्यसविरुद्ध संविधानरक्षाका लागि संघर्षकै बाटो रोज्नुपर्ने बताए । “सर्वोच्चले पुन:स्थापना गरिदिए समस्या त्यही समाधान हुन्थ्यो । तर, त्यस्तो हुन्छ भनेर ढुक्क भएर बस्न सक्ने अवस्था छैन,” भट्टराईले भने, “न्यायाधीश भनेका पनि मानिस नै हुन् । ओलीले जसरी धम्क्याइरहेका छन् त्यसले सेटिङ छ, भन्ने देखाउँछ ।” अदालतसमेत सेटिङबाट प्रभावित हुने अवस्था आयो भने संघर्षबाहेक अर्को बाटोबाट लोकतन्त्रको रक्षा नहुने भट्टराईको दाबी छ ।

बाहिरी हस्तक्षेप भएमा रामनाम जपेर बस्दैनौं

प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक भएको जिकीर गर्दै डा. भट्टराईले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नभए र बाहिरी हस्तक्षेप बढ्दै गए चुप लागेर नबस्ने चेतावनी दिए । ‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं । बाहिरी हस्तक्षेप भएमा रामनाम जपेर बस्दैनौं,’ उनले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फ अग्रसर भएको आरोप लगाए । ओली नवफाँसीवादको अभ्यास गर्दै अघि बढेको भट्टराईले आरोप लगाए । प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको भन्दै भट्टराईले अदालतसमेत परीक्षाको घडीमा रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ