नवौं नेपाल लिटरेचर फेस्टिभल पोखरामै, सराङकोटबाट भर्चुअल हुने

नवौं नेपाल लिटरेचर फेस्टिभल पोखरामै, सराङकोटबाट भर्चुअल हुने

lit fest

कोरोना कहरकाबीच आईएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण पनि पोखरामा नै आयोजना हुने भएको छ ।

यही पुस १४ र १५ अर्थात् डिसेम्बर २९ र ३० मा हुने फेस्टिभल भर्चुअल रुपमा हुने आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक संस्था बुकवर्म फाउन्डेशनले जानकारी दिएको हो । कार्यक्रममा सर्वसाधारणको भौतिक उपस्थिति नभएपनि आयोजक र अतिथिको भने भौतिक उपस्थिति रहनेछ ।

कोरोना कहरका कारण लामो समयसम्म आफूहरू फेस्टिभलको नवौं संस्करण आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेपनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि फेस्टिभल आयोजनामा जुटेको  निर्देशक अजित बरालले बताए ।

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड–१९ को संक्रमणकालीन समयमा भौतिक रूपमा फेस्टिभल आयोजना गर्न आफूहरू असमर्थ भएको बताए । उनले यो वर्षको कार्यक्रममा नयाँ वक्ताहरुलाई बढी प्राथमिकता दिइएको समेत जानकारी दिएका छन् । वक्तामात्र उपस्थिति भएर आयोजना हुने कार्यक्रमका क्रममा सरकारको स्वास्थ्य मापदण्डलाई भने पूर्ण रुपले पालना गरिने उनले बताए ।

यसैगरी, सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए । पोखरालाई प्राकृतिक सुन्दरता बाहेक साहित्यको माध्यमबाट समेत विश्व सामु चिनाउनु आफूहरुको उद्देश्य रहेको बताए ।

कार्यक्रममा आयोजक संस्थाकी सदस्य अनि कर्माले यो फेस्टिभलले युवामाझ पढ्ने संस्कृतिको विकास भएको बताइन् । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल जम्नेछ । फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहनेछन् । फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् । फेस्टिभलमा लेखिका बिना थिङ, वातावरण पत्रकार रमेश भुसाल, आइएमई ग्रुपका अध्यक्ष तथा सहसंस्थापक चन्द्रप्रसाद ढकाल, हिमालयन क्याइमेट इनिसियटिभकी प्रमुख सिलसिला आचार्य, वरिष्ठ पत्रकार राजकुमार बानियाँ, डा.रोलिना धिताल, तारागाउँ संग्रहालयका निर्देशक रोशन मिश्र, नेपाली चलचित्र निर्देशक निश्चल बस्नेत लगायत वक्ताहरु रहने छन् ।

महोत्सवको विद्धत प्रवचन अर्थशास्त्री विश्व पौडेलले ‘साहित्यको अर्थ’ शीर्षकमा प्रवचन दिनेछन्। यस्तै ‘कोरोनाकालीन उद्योग वाणिज्य’ शीर्षकमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्र ढकालसँग कुवेर चालिसेले संवाद गर्नेछन्।

यस्तै, ‘युवाको नजरमा नेपाल’ शीर्षकमा प्रकृति भट्टराई बस्नेत, डा. भावना तामाङ, सौगात वाग्लेसँग जगन्नाथ लामिछानेले संवाद गर्नेछन्।

महोत्सवमा ‘पढ्ने हुटहुटी’ शीर्षकमा हरि खनाल, मनुश्री महत र बिकेश कविनसँग स्वेच्छा राउतले छलफल गर्नेछिन् भने ‘कोरोनाले गलाएको जनस्वास्थ्य’ विषयमा डा. अनुप सुवेदी र डा. रोलिना धितालसँग सोबिता गौतमले सहजीकरण गर्ने तालिका छ।

महोत्सबको सातौं सत्रमा ‘के सम्पदा के बसोबास’ विषयमा रवीन्द्र पुरी र मिलन बगालेसँग आलोक तुलाधरले छलफल चलाउनेछन्। यस्तै, ‘कर्मठ केटी’ शीर्षकमा बोनिता शर्मा, आयुषी केसी र सोनिका मानन्धरसँग आभास्ना पाण्डेले संवाद गर्नेछिन्।

महोत्सवको नवौं सत्रमा ‘क्वेयर हुनुको अर्थ’ शीर्षकमा निरञ्जन कुँवर र भिक्कु कश्यपले संवाद गर्नेछन् भने ‘अद्भुत व्यक्तित्व, असाधारण लेखन’ विषयमा मनुजबाबु मिश्रमाथि रोशन मिश्रले र मदनमणि दीक्षितमाथि इल्या भट्टराईले बोल्नेछिन् ।

महोत्सवमा तीन आख्यानकार केशव दाहाल, दुर्गा कार्की र बिना थिङसँग ‘तीन आख्यान’ शीर्षकमा शिवानीसिंह थारुले संवाद गर्नेछिन्।

यस्तै, ‘कोरोनापछिको सिनेमा’ शीर्षकमा निश्चल बस्नेत, भाष्कर ढुङ्गाना र प्रियङ्का कार्कीसँग पत्रकार यज्ञशले संवाद गर्नेछन् ।

महोत्सवको १३ औं सत्रमा ‘संघीयताका अवसरहरू’ शीर्षकमा पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङ, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र सीता सुन्दाससँग पत्रकार दीपक परियारले संवाद गर्नेछन्।

यस्तै, ‘महारानीको राजनीति’ विषयमा यस पटकको मदन पुरस्कार विजेता आख्यानकार चन्द्रप्रकाश बानियाँसँग राजकुमार बानियाँले संवाद गर्ने कार्यक्रम रहेको छ ।

महात्सवको १५ औं संस्करणमा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ विषयमा सिलसिला आचार्य र डा. अरनिको पाण्डेसँग पत्रकार रमेश भुषालले छलफल चलाउनेछन्।

महोत्सवको अन्तिम सत्रमा ‘प्रदेशबाट देखिने देश’ विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पत्रकार बसन्त बस्नेतले संवाद गर्नेछन्।

फेस्टिभलका सबै सत्र आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds