पोखरा । पोखरा महानगरपालिका २० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर ९० लाख कमाइ गरेका छन् ।
मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन सुरु गरिएको थियो । पछि विसं २०६७ मा बाख्रापालन समूह गठन गरियो । विसं २०७१ मा मौजा बाख्रापालक कृषि सहकारीमार्फत अधिकांश गाउँलेले व्यावसायिक बाख्रापालन सुरु गरे । सहकारीअन्तर्गत यहाँका ४० कृषकले बाख्रापालन गर्दै आएको मौजा बाख्रापालक कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताएका छन् । सहकारीमार्फत हाल २ हजार ५ सय बाख्रा पालिएको छ ।
सहकारीमा १ सय सदस्य आबद्ध भए पनि अन्यले भैंसी, गाई तथा तरकारी खेती गरेका छन् । यहाँका कृषकले खरी, जमुनापारी, सिनाललगायत जात पाल्ने गरेका छन् । साना फार्ममा १० तथा ठूलामा २ सय वटासम्म बाख्रा पालिएको छ । ‘बाख्रापालनबाट हामी यहाँका सबै कृषक सन्तुष्ट छौं । आफ्नै ठाउँमा बसेर यस पेशाबाट वार्षिक ९० लाख हाराहारीमा आम्दानी भएको छ ।’ सहकारीका अध्यक्ष गुरुङले भने, ‘बजारको कुनै समस्या छैन, वडा कार्यालयलगायतका सरकारी निकायबाट समेत राम्रो सहयोग पाएका छौं ।’
यहाँका ठूला बाख्रापालक कृषकले वर्षमा १५ लाख हाराहारीमा बाख्रा बिक्री गर्ने गरेको र ६ लाख बचत गर्ने गरेका छन् । बाख्राको प्रमुख बजार पोखरा हो । मागअनुसार गाउँबाटै गाडीमा बाख्रा बिक्रीका लागि पठाउने गरिएको छ । खरी र बोयर जातको क्रस गरिएको बोका प्रजननका लागि कास्कीबाहेकका पर्वत, बागलुुङ, स्याङ्जालगायतका क्षेत्रका कृषकसमेत खरिदका लागि आउने गरेको सहकारीले जनाएको छ ।
प्रजननका लागि प्रतिकेजी १ हजार तथा अन्य खसी बोका ६ सय ५० प्रतिकेजीका दरले फार्मबाट बिक्री हुने गरेको अध्यक्ष गुरुङले जानकारी दिएका छन् । पशुपालनबाट राम्रो आम्दानी भएपछि पछिल्लो समय युवाहरुसमेत यसतर्फ आकर्षित छन् । विगतमा सडक सुविधा नहुँदा विकट रहेको यस ठाउँमा अहिले गाउँसम्मै ग्राभेल सडक निर्माण भइरहेको छ ।
यातायातको सुविधा र उत्पादित कृषि उपज बजारसम्म लैजान सहज भएपछि बाख्रा, भैंसीपालन र तरकारी खेती गर्नेहरुको संख्या बढिरहेको स्थानीयवासी बताउँछन् । बाख्रापालनबाट आफूहरुले राम्रो आम्दानी गरे पनि राज्यले दिने अनुदान सहयोग वास्तविक कृषकसम्म नपुगेको उनीहरुको गुनासो छ । कतिपय कृषकले अनुदान लिनकै लागि मात्र १र२ वर्ष पशुपालन गर्ने अनि अनुदान आएपछि सो पेसा छाड्ने गरेकाले उत्पादनका आधारमा अनुदान दिनुपर्ने माग कृषकको छ ।
पोखरा–२० का वडाध्यक्ष सिमबहादुर गुरुङले बाख्रापालनको गाउँ भनेर वडाको चिनारी भएको बताउँदै बाख्रापालन र अन्य पशुपालनलाई सँगै लैजाने योजना रहेको बताए । बीउ बोका वितरण, घाँस काट्ने मेसिनलगायतका कार्यक्रममार्फत कृषकलाई वडामार्फत सहयोग उपलब्ध गराइएको उनले जानकारी दिएका छन् । ‘बाख्राको पकेट क्षेत्र मौजा भनेर हाम्रोे वडा चिनिएको छ ।
महानगरका ३३ वडामध्येमा कृषिको राम्रो सम्भावना यहाँ छ ।’ वडाध्यक्ष गुरुङले भने, ‘बाख्रासँगै अन्य व्यावसायिक कृषि उत्पादनका माध्यबाट वडालाई कषि पर्यटनको ‘हब’ बनाउँछौं ।’ साविकको जिल्ला पशु सेवा कार्यालय कास्कीले विसं २०७१ मा मौजालाई बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । त्यसयता भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र तथा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयबाट कृषकको गोठ सुधार, तालीम, बजारको सुनिश्चिततालगायतमा सहयोग हुँदै आएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । – रासस
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ