स्याङजा । स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँग मायालाई अझ गाढा बनाउन प्रहरी प्रमुख होबिन्द्र बोगटीले नौलो अभियान सुरु गरेका छन् ।
एसपी बोगटीले ल्याएको नौलो अभियानमा प्रत्येक दिन सुत्ने बेलामा घर परिवारसँग कम्तीमा एक मिनेट फोनमा बोल्नै पर्ने र बोल्ने क्रममा ‘आइ लभ यू बुढी वा छोराछोरी’ भन्नै पर्ने छ । परिवारसँग हुनेले पनि साँझमा एकपटक यस्तो भन्नै पर्ने अभियान चलाइएको उनले बताए । यसो गर्नाले कम्तीमा दिनभरको थकाइमा केही राहत हुने र घर परिवारसँगकाने सम्बन्ध पनि गाढा बन्दै जाने एसपी बोगटीको विश्वास छ ।
प्रहरी कर्मचारीले श्रीमतीलाई ‘आइ लभ यू’ भन्छन्/भन्दैनन् भनी जाँचबुझ गर्न प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीलाई फोकल पर्सन नै तोकिएको छ। उनले हरेक प्रहरीका श्रीमती र छोराछोरीको नम्बर राखेका छन्।उनले दिनहुँ ‘फलोअप’ गरिरहेका हुन्छन्। भने-नभनेको, कार्यालयबाट बिदा लिएर घर पुगे नपुगेको, घरमा पुगेपछि कस्तो वातावरण भयो लगायत अनेकथरी गतिविधिबारे अधिकारीले घरमा सोध्छन्।
‘एक त यो चाहिँ मेरो ड्युटी नै हो भन्ने पनि परेको छ, अर्को परिवारमा नयाँ खालको उत्साह पनि आएको छ,’ बोगटी भन्छन्। सुरू-सुरूमा श्रीमानले ‘आइ लभ यू’ भन्दा श्रीमतीहरूले जिस्क्याएको जस्तो ठानेछन्। पछिपछि चाहिँ श्रीमानले माया गर्न थाल्यो भनेर खुसी हुन थालेको बोगटीले बताए।
‘भाडामा बसेको छ भने भाडा तिरे नतिरेको, छोराछोरीको स्कुलको फी बुझाए-नबुझाएको लगायत परिवारप्रति जिम्मेवारी निभाए-ननिभाएको फलो गर्छौं,’ बोगटीले भने, ‘यो अभियानपछि प्रहरी कर्मचारी परिवारसाथै कार्यालयमा तनावरहित ढंगले काम गरेको पाएँ।’
कार्यालयमा उनले फ्री वाइफाइ राखेका छन्। प्रहरी कर्मचारीहरूले घरमा सधैं मेसेन्जर, भाइबर, इमो, ह्वाट्स एप लगायतबाट सम्पर्क गरिरहेका हुन्छन्।
‘दिनहुँ, घर टाढा छ भने पनि श्रीमान् मसँग नजिक छ भन्ने श्रीमतीले पनि अनुभूति गर्न पाइन्,’ बोगटीले भने। समाजमा अनेक विकृति छन्। श्रीमानको माया नपाएपछि बिरक्तिएर श्रीमतीले घरबार लथालिंग पारेका घटना पनि छन्।
‘श्रीमानले माया गर्न छोड्दा श्रीमतीले अर्कैको माया पाउने र त्यसले परिवारमा झन् समस्या पैदा गर्ने हुन्छ,’ बोगटीले भने। स्याङ्जामा पाँच सय जना प्रहरी छन्। यी सबै प्रहरीको दैनिक गतिविधि नियाल्न डिएसपी अधिकारीलाई धौ-धौ नै परिरहेको बोगटीले बताए।
बोगटीका अनुसार आत्महत्या बढी हुने जिल्लामा स्याङ्जा पाँच नम्बरमा छ। यहाँ बिहे भएको दुई महिनामै श्रीमती-श्रीमानबीच झगडा भएर आत्महत्या निम्तिएका घटना छन्। ‘मैले प्रहरीबाट यो अभियान सुरू गर्दा समाजमा पनि सकारात्मक सन्देश गई आत्महत्या नियन्त्रण होस्,’ बोगटीले भने, ‘समाजको सुरक्षा गर्ने प्रहरीबाट यो सन्देश फैलिन जरुरी छ।’
प्रहरीमा बिदा नपाएको, घर जान नपाएको गुनासो व्याप्त छन्। तिनले पनि कार्यसम्पादनमा असर गरिरहेको बोगटीले बताए। अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले बिदाको सन्दर्भलाई लिएर आउने गुनासो सम्बोधन गर्न निर्देशन नै दिएका छन्।
‘आइजीसाबको कार्ययोजना र प्राथमिकतामा बिदा पनि छ, त्यसैले मैले बिदालाई आलोपालो माध्यमद्वारा व्यवस्थापन गरी प्रहरीमा तनावको वातावरण हटाउने प्रयन्त गरेको छु,’ बोगटीले भने।
सम्बन्धित खबर
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
लार्के पास जाने क्रममा बेलायती नागरिकको मृत्यु
प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
आजदेखि हेमजा आलु महोत्सव
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला