पोखरा । सोमबार बेलुकी नयाँबजारको भूपू सैनिक मेडिकलमा २० वर्ष उमेर जतिका एक युवक औषधि किन्न छिरे । रुघा लाग्यो भन्दै औषधि मागे । उनलाई सञ्चोको एक थोपो सुँघ्न लगाइयो, गन्ध थाहा नपाउने जनाए । स्वाद पनि ३-४ दिनदेखि हराएको बताए ।
औषधि पसल सञ्चालक तीर्थराज अवस्थीले ‘घरमा को-को हुनुहुन्छ ?’ भनेर सोध्दा युवकले कोठामा ‘आमा, भाउजू, बाबुनानी बस्छौँ ‘ भने । ‘त्यसो भए छुट्टै बस्नुहोस्, सँगै नबस्नुहोस्, जुठो खुवाउने, नजिक हुने काम नगर्नुहोस्, तत्काल कोरोना परीक्षण गराउनुस्’ भन्दा ति युवकले ‘कहाँ कोरोना होला र ? केही त भएको छैन’ भने । उनलाई महानगर वा वडामा सम्पर्क राख्न र निःशुल्क परिक्षण हुने पनि जानकारी गराए । त्यही समयमा अर्का कोरोना संक्रमित फार्मेसीमै थिए । उनले आफूलाई पनि ठ्याक्कै यही लक्षण भएको र जचाउँदा पोजिटिभ आएको सुनाउँदै अहिले संक्रमणमुक्त भइसकेको बताए ।
पोखरामा कोरोना संक्रमित छ्याप्छ्याप्ती बजारमा छन् भन्ने एउटा उदाहरण हो यो । लक्षणविहीन संक्रमितहरु निष्फिक्री डुलिरहेका छन् । न उनीहरुलाई आफू कोरोना संक्रमित भएको थाहा छ । उनीहरु कामलाई नै जारी राखिरहेका छन् । तर, उनीहरुबाट अरुलाई सार्ने सम्भावना उत्तिकै छ र जोखिमयुक्त समूहका लागि कोरोना सार्ने माध्यम बनिरहेका छन् ।
पोखरामा बिरामी भएर अस्पताल पुगेकाहरुमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । अस्पतालकै स्वास्थ्यकर्मी, कर्मचारीहरुमा पनि कोरोना देखिएको छ । अब जाडो मौसम लाग्ने अर्थात मौसम परिवर्तनका बेला रुघाखोकी, ज्वरोका बिरामी बढिरहेका छन् । समाजको डरले समेत आफूलाई कोरोनाकै लक्षण देखिएपनि भन्न असहज मानिरहेको बेला अस्पताल नै भर्ना हुनुपरेका बिरामीहरुमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । सरकार निकम्मा बनेको सावित यसले गर्छ । संक्रमित बढिरहँदा परीक्षण दर घटेको छ । गण्डकी प्रदेशमा सक्रिय संक्रमित मध्ये आधा भन्दा बढी पोखरामा छन् । नागरिकहरु पनि बेमतलव हिँडिरहेका छन्, न मास्क, न भौतिक दूरि कायम !
मंगलबार मात्र पोखराका ७ अस्पतालमा १६ जना बिरामीमा कोरोना पोजिटिभ देखिएको छ ।

पोखराको गण्डकी मेडिकल कलेजका ६ जनामा संक्रमण पुष्टि भएको छ । ६० वर्षीया महिला, ७५, ५०, ३९, ४१ र ४४ वर्षका पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।
यस्तै, मणिपाल शिक्षण अस्पतालमा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो अस्पतालका ४५, ५० र ६८ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखराको मिलिटरी अस्पतालका २ जना रहेका छन् । सो अस्पतालका २४ र ३० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखराकै चरक मेमोरियल अस्पतालमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अस्पतालका २१ वर्षीय १ जना महिला तथा ४४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, साहारा अस्पतालका एक जनालाई संक्रमण पुष्टि भएको छ । सो अस्पतालका २२ वर्षीय एक पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
फेवासिटी अस्पतालमा समेत एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अस्पतालकी २० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
कास्की सेवा अस्पतालका एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अस्पतालकी २१ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

अस्पतालहरुमा यसअघि पनि बिरामीहरु, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना देखिँदै आएको छ ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो