‘दोस्रो पटक मिर्गौला फेरेपछि जोश बढेको छ, जुँगा पनि काला आउन थाले’- प्रधानमन्त्री ओली

‘दोस्रो पटक मिर्गौला फेरेपछि जोश बढेको छ, जुँगा पनि काला आउन थाले’- प्रधानमन्त्री ओली

K P Sharma Olii

Credit: AFP Photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक द्वन्द्वले पार्टी नै फुट्ने हो कि भन्ने आशंका बढेको छ । आफ्नो कार्यशैलीप्रति विमति राख्दै अर्का अध्यक्ष प्रचण्डसँग सहकार्य गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहकार्यको प्रस्ताव राखेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि बोलाएका थिए । भेटका लागि बिहान खबर आएपछि वरिष्ठ नेता नेपाल पनि आफूनिकट तीन स्थायी कमिटी सदस्यहरू लिएर मध्यान्ह बालुवाटार पुगे। स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुगेका थिए ।

छलफलमा प्रधानमन्त्रीका तर्फबाट भने उनीमात्रै थिए। अढाइ घण्टाभन्दा बढी भएको छलफलमा पार्टी विवादबारे कुराकानी भएको थियो । सुरूमा उनले पार्टी संकटमा परेको, फुटको संघारमा पुगेको भनेर लामो व्याख्या गरे।  भेटमा सहभागी एक नेताले ठोस कुरा केही नभएको भन्दै प्रधानमन्त्रीले गुनगुन मात्रै बढी गरेको जानकारी दिए। तीनतीन घण्टा भएको छलफलमा अधिकांश समय प्रधानमन्त्री ओलीले मात्रै बोलेका थिए।प्रधानमन्त्रीले लामै कुरा गरेपनि ठोस प्रस्ताव भने गरेनन् । बरु आफ्नै ठट्यौली पारा देखाए ।

एक नेताका अनुसार प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि झनै जोश बढेर गएको अनुभव सुनाए । ‘अपरेसनपछि झनै जोश बढेको छ, फुलेका जुँगा कालो हुन थालेको छ’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै छलफलमा सहभागी एक नेताले भने ।

यसको अर्थ म चाँडै नै स्वास्थ्यका कारण थलिन्छु कि भन्ने नसोच्न अप्रत्यक्ष रुपमा भनेको हुन सक्ने ति नेताको बुझाई छ । केही वर्ष अघि उपचारका लागि बाहिर जाने क्रममा तपाईंको सुस्वास्थ्यको कामना चाहिँदैन, मरे नि हुन्छ जस्तो पनि लागेको होला ? भनेर ओलीले भनेको कुराको व्यापक चर्चा र आलोचना पनि भएको थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको प्रसंग जोडेर आफू अझै सक्रिय रहने भन्दै घुमाउरो रूपमा आफूलाई कमजोर नआँक्न यस्तो भनेको बुझ्न सकिन्छ ।

फराकिलो सोच बनाएर नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई आग्रह

भेटमा वरिष्ठ नेता नेपालले भने फराकिलो सोच बनाएर नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । सिंगो देशको नेतृत्व गर्ने व्यक्तिले मसिनो कुराहरुमा अल्मलिन नहुने भन्दै उनले भने, ‘कसले के भन्छ भन्नेतिर ध्यान नदिनुहोस्, तपाई के गर्नु हुन्छ, त्यो भन्नुहोस् ।’

उनले पार्टीलाई एकतावद्ध बनाएर लैजाने ठोस कार्यक्रम प्रस्तुत गर्न समेत आग्रह गरेका छन् । भेटमा सहभागी स्थायी कमिटी सदस्य पाण्डेले छलफल लामै भएपनि ठोस निर्णय भने नजुटेको जानकारी दिएका छन् ।

‘त्यस्तो ठोस कुरा केही भएन। प्रधानमन्त्रीले लामो गनगने कुरा गर्नुभयो। पार्टी फुटको संघारमा छ जस्तो कुरा गर्नुभयो’ बैठकमा सहभागी एक नेताले भने ‘यस्ता गनगने कुराले के हुन्छ र? भनेर हामीले भन्यौं।’

शनिबार बालुवाटारको बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डबीच चर्काचर्की नै परेको थियो। प्रधानमन्त्री ओलीले प्रचण्डलाई जाली र फटाहा भनेका थिए भने प्रचण्डले ओलीलाई महाजाली र महाफटाहा भनेका थिए।

यसअघि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग असोज ४ गते र ११ गते वान टु वान भेट गरेका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद बढेसँगै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग सहकार्यको प्रयास गरेका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds