स्वर्गीय केसीको आज अन्त्येष्टि गरियो, पोखरा महानगर बन्द, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

स्वर्गीय केसीको आज अन्त्येष्टि गरियो, पोखरा महानगर बन्द, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

surya bdr kc

गएराति निधन भएका प्रतिष्ठित उद्योगपति एवं सांसद सूर्यबहादुर केसीको मंगलबारै अन्येष्टी गरिएको छ । उनको पोखरा नयाँबजारस्थित शान्तिघाटमा अन्त्येष्टी गरिएको हो । अन्येष्टी अघि केसी निवास पोखरा ७ एयरपोर्टबाट पृथ्वीचोक हुँदै शान्तिघाटसम्म शवयात्रा निकालिएको थियो । शव यात्रामा विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण घरमा बस्न बाध्य भएकाहरुपनि सहभागि भए ।

अन्त्येष्टी अघि पूर्व सभामुख तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले केसीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएका थिए । कोरोनाका कारण काठमाडौंबाट कांग्रेस शीर्ष नेताहरु आउन नसकेपछि रानाभाटले नै पार्टीको झण्डा ओढाएका हुन् । स्वर्गिय केसीका पार्थिव शरिरमा तीन छोराहरु प्रकाश, किरण र रोसन तीनै जनाले दागवत्ति दिएका थिए । केसीको गएराती १०ः३० बजे ६३ वर्षको उमेरमा निधन भएको थियो । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उनी पहिलो संविधान सभा सदस्य पनि हुन् ।

शोकमा पोखरा महानगरमा विदा

केसीको निधनमा पोखरा महानगरपालिकाले बुधबार आफ्नो कार्यालयमा विदा गरेको छ । सोमबार राति निधन भएका केसीको शोकमा महानगरपालिकाले मंगलबार १ दिनका लागि सबै वडा कार्यालयहरुमा पनि विदा दिएको छ । ‘पूर्वजनप्रतिनिधिको निधनको शोकमा कार्यालयमा विदा दिएका हौं,’ मेयर मानबहादुर जिसीले भने । केसी २०४१ र ४३ मा गरी २ पटक पोखरा नगर पञ्चायतको प्रधानपञ्च भएका थिए ।

प्रधानमन्त्रीद्वारा दुख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। केसीको निधनप्रति सभामुख अग्नीप्रसाद सापकोटाले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।

कांग्रेस संसदीय दल गण्डकीको शोक

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा संविधासभाका सदस्य सूर्यबहादुर केसीको निधनप्रति नेपाली कांग्रेस संसदीय दल, गण्डकीले शोक व्यक्त गरेको छ ।

उनको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको र देशले एक सफल व्यवसायी गुमाएको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए । एक विज्ञिप्त जारी गर्दै कांग्रेसले भनेको छ, देशले एक कर्मनिष्ठ राजनीतिकर्मी, एक सफल व्यवसायी, उद्योगी, समाजसेवी, व्यक्तित्व गुमाएको छ । शोकको यस घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ । उहाँले पुर्‍याएकाे योगदान सदा स्मरणीय हुनेछ ।”

बुधबार कांग्रेसका सबै कार्यालय बन्द गरिने

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यसमेत रहेका आफ्ना आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको शोकमा बुधबार देशभरका पार्टी कार्यालय बन्द गर्ने भएको छ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सांसद केसीको निधनको शोकमा बुधबार केन्द्रीय कार्यालयसहित सबै जिल्लाका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

नेता केसीको निधन भएको १३औं दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जलि सभा गर्ने पनि कांग्रेसले निर्णय गरेको छ। कात्तिक १८ देखि २० गतेसम्म ३ दिन केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने पनि निर्णय गरिएको छ।

उनी २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत कांग्रेसका तर्फबाट प्रनिनिधिसभा सदस्य बनेका थिए।

कांग्रेस पदाधिकारी बैठक राेकियाे

नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको आज बस्ने भनिएको बैठक स्थगित भयो । कांग्रेस नेता एवम् बहालवाला सांसद सूर्यबहादुर केसीको निधनका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको सहमहामन्त्री डा‍‍‍.‌‍ प्रकाशसरण महतले जानकारी दिए। केसी कांग्रेसका आमन्त्रित सदस्यसमेत हुन्।

नेपाली कांग्रेसले केसीको निधनमा केन्द्रीय कार्यालय एकदिन बन्द गर्ने र तीनदिन पार्टीको झन्डा झुकाउने जनाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds