‘म एक्लैले लोडसेडिङ हटाएको हैन, पुनर्नियुक्तिको विषयमा तथ्यहीन सूचना सम्प्रेषण नगरीदिनुस्’

‘म एक्लैले लोडसेडिङ हटाएको हैन, पुनर्नियुक्तिको विषयमा तथ्यहीन सूचना सम्प्रेषण नगरीदिनुस्’

kulman

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिबारे मुख खोलेका छन् । बिहीबार साँझ एक विज्ञप्ति निकालेर सामाजिक सञ्जालमा आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगरिदिनु आग्रह गरेका छन् ।

घिसिङले आफू २०७३ भदौ २९ को मन्त्रिपरिषदको निर्णयबाट ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको र तोकिएको जिम्मेवारीअनुसार आफूले काम गरिरहेको पनि उल्लेख गरेका छन्।

‘मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय  वर्षमान पुनज्यूलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचार माध्यम, सामाजिक संजाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन् ।

नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीती तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएको उनले उल्लेख गरेका छन् ।

‘लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाइजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका निती तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको उनले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds