सांसदहरूले काठमाडौंका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्न नहुने बताएका छन् । शहरमा घना बस्तीमा कोरोना संक्रमण भएकाहरूलाई होम आइसोलेसनमा राख्न नहुने धारणा उनीहरुको छ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार भएको भर्चुअल बैठकमा सांसदहरुले होम आइसोलेसनको मापदण्ड पूरा गर्न नसकिने भएकाले होम आइसोलेसनका लागि अनुमति दिन नहुने बताएका हुन् ।
नेकपा सांसद सरिता न्यौपानेले होम आइसोलेसन राख्न नहुने बताइन् । काठमाडौंमा घरबेटीले पनि होम आइसोलेसनमा बस्न सक्ने अवस्था नरहेकाले बाहिरबाट आएर भाडामा बस्ने व्यक्ति कोरोना संक्रमित भएमा होम आइसोलेसन राख्न नहुने उनको भनाइ थियो ।
’होम आइसोलेसन कस्तो ठाउँमा गर्न सकिन्छ ? घरबेटीलाई पनि होम आइसोलेसनमा बस्न सक्ने अवस्था छैन । मान्छे एउटा, दुईटा कोठा लिएर बसिरहेका हुन्छन् । शौचालयको व्यवस्था पनि हुँदैन,’ उनले थपिन्, ’त्यसरी संक्रमितलाई राख्दा उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ भन्ने रेकर्ड कसले लिने हो ? त्यसैले, काठमाडौं जस्तो घना बस्तीमा होम आइसोलेसन राख्न कति सहज छ भन्ने बुझ्नुपर्छ ।’
पछिल्लो समय स्वास्थ्यकर्मी र कोरोना जितेर गइरहेका व्यक्तिमाथि समाजमा दुर्व्यहार भइरहेको अवस्थामा सांसदहरूको यस्तो प्रतिक्रिया आएको हो ।
काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित नेकपाका सांसद जीवनराम श्रेष्ठले समितिको बैठकमा भने, ’कोरोना पोजिटिभलाई होम आइसोलेसनमा राख्दा झन् फैलाउने अवस्था आइलाग्यो । होम आइसोलेसनका लागि डिस्करेज गर्नुपर्छ ।’
घना बस्ती भएको ठाउँमा कोरोना संक्रमितका लागि होम आइसोलेसन बनाउन नहुने श्रेष्ठको भनाइ थियो । ’आइसोलेसनको मापदण्ड घना बस्ती भएका सहरका लागि एक खालको र पातलो बस्ती भएका ठाउँका लागि अर्को खालको बनाउनुपर्छ । सोहीअनुसार योजना बनाउनुपर्छ,’ विगतमा क्वारेन्टाइनबाट समुदायमा संक्रमण फैलिएको उदाहरण दिँदै श्रेष्ठले थपे, ’जनमानसमा भयको अवस्था बनिरहेको छ ।’ उनले संक्रमण भएको थाहा पाएलगत्तै आइसोलेसनमा लिनुपर्ने बताए ।
नेकपा सांसद विद्या भट्टराईले भने कोरोना भाइरसबाट संक्रमितको उपचारमा लागेका स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार अन्त्य गर्न सरकारले पहल लिनुपर्ने बताइन् । ’स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भएका छन् । कोरोनाको नाममा सामाजिक सद्भाव भड्किने खालका घटना भइरहेका छन् । त्यस्ता कुरा सरकारले रोक्नुपर्छ,’ उनको भनाइ थियो ।
नेकपाकै सांसद सुरेश राईले कोरोना संक्रमित भएका तर लक्षण नभएका स्वास्थ्यकर्मी लुकेर बस्नुपर्ने अवस्था आएको बताए । उनले त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । कोरोना संक्रमितको उपचारमा लागेका स्वास्थ्यकर्मीको त्यस्तो अवस्था हुनु र स्वास्थ्य सचेतना अपनाउँदा अपनाउँदै पनि त्यस्तो हुनु दुःखद् भएको उनको भनाइ थियो ।
समिति सभापति जयपुरी घर्तीले स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचार गर्दागर्दै संक्रमित भएको अवस्थामा पनि उनीहरूमाथि दुर्व्यवहार हुनु घृणास्पद कार्य भएको बताइन् । उनले स्वास्थ्यकर्मीलाई हौसला दिनुपर्ने अवस्थामा त्यसरी निरुत्साहित गर्नेलाई कारबाही गर्नुपर्ने बताइन् ।
कांग्रेस सांसद मानबहादुर विश्वकर्माले संक्रमित व्यक्ति जुन ठाउँको हो सोही ठाउँ लेख्नुपर्ने र त्यसबारे जानकारी दिनुपर्ने माग गरे । उनले काठमाडौंमा संक्रमण भएको व्यक्तिको ठेगाना रसुवा दिँदा ठीक नभएको बताए । ’काठमाडौं बसेको मान्छेको ठेगाना रसुवाको हुन्छ । सही ठेगाना लिएको हुँदैन । नाम नदिनु ठीक छ । तर, ठेगाना लुकाएर सरकारले गलत गरेको छ । सही ठेगाना दिएर अरु मान्छे सतर्क हुने अवसर दिनुपर्छ । जुन ठाँउको मान्छे हो त्यो ठाउँको सूचना दिनुपर्छ ।’
काठमाडौं प्रवेश गर्ने ठूलो ओहदाकालाई सरकारले सहजै प्रवेश दिएको तर सर्वसाधारणलाई अत्यावश्यक हुँदा पनि रोकेको भन्दै विश्वकर्माले आपत्ति जनाए ।
कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि काठमाडौं लगायत विभिन्न जिल्लामा दुर्व्यहार भएका थिए। त्यस्तै, कोरोना संक्रमण भएका व्यक्ति र निको भएका व्यक्तिहरूमाथि पनि विभिन्न जिल्लामा दुर्व्यवहार भएका घटना पनि सार्वजनिक भएका थिए । यस्तो अवस्था रोक्नका लागि विभिन्न राजनीतिक दलले सरकारलाई सचेत गराएका छन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने