काठमाडौँ । रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट भए पनि दसैंअघि नै सक्ने गरी विश्वविद्यालयहरु अघि बढेका छन् । उपकुलपतिहरूले परम्परागतसहित अनलाइन र अन्य माध्यम प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको खुलासा गरेका छन् ।
कोरोना संक्रमण घट्दै गए अनलाइनसहित अन्य विधिबाट भए पनि परीक्षा सञ्चालन गरिने उनीहरूको भनाई छ । उपकुलपतिहरूका अनुसार असोजभित्रै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गृहकार्य भइरहेको छ ।
राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको भर्चुअल छलफलमा उपकुलपतिहरूले पठनपाठन र परीक्षालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नसके शैक्षिक सत्र नै नाश हुने बताए । वैकल्पिक विधिलाई नै मूलधारको शिक्षा बनाउनुपर्ने उनीहरूको जोड थियो ।
सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयले चार मोडलबाट परीक्षा सञ्चालन गर्ने योजना अघि बढाएको उपकुलपति धर्मकान्त बाँस्कोटाले जनाए । ‘साउन पहिलो सातादेखि लकडाउन खुकुलो भएर अवस्था सहज हुँदै जाँदा भदौमा परीक्षा लिने भनेका थियौं,’ उनले भने, ‘अवस्था बिग्रियो, परीक्षा स्थगित गर्नुपर्यो, अब असोजभित्र अन्य विधिबाट भए पनि परीक्षा लिन्छौं ।’
अवस्थाअनुसार अनलाइन, आन्तरिक मूल्यांकन, ओपन बुक र परम्परागत विधिबाट परीक्षा सञ्चालन गरिने उनले जनाए । वैकल्पिक माध्यमबाटै पठनपाठन र परीक्षालगायत शैक्षिक गतिविधि अघि बढाउन विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सर्कुलर गरेको छ ।
त्रिविमा ४ लाख १५ हजार ४ सय ८२ विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षामा अध्ययनरत ५ लाख ३८ हजारमध्ये ७७ प्रतिशत विद्यार्थी त्रिविमा पढ्छन् । विद्यार्थी संख्या धेरै भएका कारण पनि कोभिडका बेला पठनपाठन र परीक्षा सञ्चालनमा असहज भएको उपकुलपति बाँस्कोटाले गुनासो गरे । दसैंअघि नै परीक्षा सञ्चालन गर्न सके शैक्षिक सत्रमा क्षति नपुग्ने उनीहरूको भनाइ छ ।
सम्बन्धित खबर
प्रतिभाका विद्यार्थीबीच ‘सीमसार बहस’
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा पाठकले पदभार ग्रहण गरे
कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई
प्याब्सन दिवसमा शान्ति निकेतनकी अदितिसँगै १७ जना सम्मानित
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु