युरोपियन च्याम्पियन्स लिग: बायर्नले जित्यो छैटौं पटक उपाधि

युरोपियन च्याम्पियन्स लिग: बायर्नले जित्यो छैटौं पटक उपाधि

Bayern-Wins-Champions-League

जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो ।

पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरे । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । फ्रेन्च खेलाडीको त्यो गोल नै पिएसजीलाई हराउन पर्याप्त बन्यो ।

आफ्नै देशको क्लबलाई हराउन गोल गरेका २४ वर्षीय कोमनले करियरको २०औं उपाधि जितेका छन् । पहिलो पटक फाइनल पुगेको पीएसजीको च्याम्पियन्स लिग जित्ने सपना यसपटक पूरा हुन सकेन ।

उता सन् २०१३ पछि पहिलो पटक फाइनल पुगेको बायर्नले भने च्याम्पियन्स लिगमा अर्को उपाधि थप्न सफल भयो । च्याम्पियन्स लिग सर्वाधिक जित्नेमा बायर्न लिभरपुलसँगै संयुक्त रुपमा तेस्रो स्थानमा उक्लेको छ । रियल मड्रिडले सर्वाधिक १३ र एसी मिलानले ७ पटक उपाधि जितेका छन् ।

बायर्नले पछिल्लो पटक सन् २०१३ मा जर्मनीकै बोरुसिया डर्टमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । सन् १९७४, १९७५ र १९७६ मा लगातार तीन पटक उपाधि जित्दै उपाधिमा ह्याट्रिक गरेको बायर्नले सन् २००१ मा पनि उपाधि जितेको थियो । ११ पटक फाइनल खेल्दा ६ पटक उपाधि जितेको बायर्न ५ पटक भने उपविजेता बनेको थियो । बायर्नले यस सिजन कुने पनि खेल नहारी उपाधि जितेको हो ।

२०१३ मा घरेलु दुई ट्रफी र च्याम्पियन्स लिग जित्दै ट्रेबल बनाएको बायर्नले यसपटक पनि ट्रेबल उपाधि जितेको छ । बायर्न दोस्रो पटक ट्रेबल उपाधि जित्ने दोस्रो क्लब बनेको छ । बायर्नले यस सिजन जर्मन बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको हो ।

यसअघि स्पानिस क्लब बार्सिलोनाले २००९ र २०१५ मा दुई पटक ट्रेबल जितेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ