पोखरेलीले कौसी खेती गरे मासिक ५० करोड आर्जन गर्न सक्ने (भिडियो)

पोखरेलीले कौसी खेती गरे मासिक ५० करोड आर्जन गर्न सक्ने (भिडियो)

Kausi Kheti

पोखरा महानगपालिकामा रहेका करिब डेढ लाख घरमा कौसी खेती गरेमा मासिक ५० करोड सम्मको तरकारी फलाउन सकिने बताइएको छ । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले कार्यपत्र प्रस्तुत गर्दै पोखरा महानगरका करिब १ लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक करिब ५० करोड सम्मको तरकारी फलाउन सकिने बताए । घरबाट निस्कने कुहिने फोहोरलाई मल बनाएर कौशी खेती गर्न सकिने उनको भनाइ छ ।

पोखरा महानगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोरलाई घर-घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘छुट्याऔं फोहोर, बनाऔं मोहर भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरेको हो । पहिलो चरणमा वडा नम्बर १,५,८,१०,१३,१६,१७,१९,२६ र २७ मा अभियान सञ्चालन गरिने भएको हो ।

अभियान सञ्चालन गर्न पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १ सय ४८ सदस्यीय मुल समिति गठन गरिएको छ । मुल समितिको बिहीबार भएको बैठकमा अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सुझाव समेत संकलन गरिएको छ ।

तस्विर: माधव बराल, प्रेस संयोजक/महानगर प्रमुख

बैठक तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले घरमा उत्पादन हुने फोहोरलाई ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताए । उनले घरमा उत्पादित फोहोर मध्ये कुहिने फोहोरलाई कम्पोस्ट मल तथा इनर्जी निकाल्न प्रेरित गर्दै कौशी खेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताए । पुन प्रयोग हुने फोहोरलाई बिक्री गरी आन्दानी गर्ने र फाल्नै पर्ने फोहोरलाई छुट्टै संकलन गरी महानगरले व्यवस्था गरे अनुसार विर्सजन गर्न अभियानले प्रोत्साहन गर्ने बताए ।

बिहीबार भएको बैठकले फोहोर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घर, घरमा ३ प्रकारका फोहोरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रियालाई यथास्थितिमा नै आगामी ४ महिनासम्म निरन्तरता दिने, ४ महिना भित्रमा फोहोर मैला व्यवस्थापन, मूल्य लगायतका मापदण्ड निर्माण गरी स्वकृतिको लागि महानगरमा सिफासिर गर्ने निर्णय गरेको छ ।

अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडा अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मुल समिति र सचिवालय समिति गठन गरी फोहोर मैला व्यवस्थापन गर्ने निर्णय गरेको छ । बैठकले २५ सदस्यीय सचिवालय गठन गरेको मुल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका साही योगीले जानकारी दिइन् । योगीका अनुसार कुन वडामा कहिलेदेखि अभियान थाल्ने बारेमा सचिवालयको बैठकले निर्णय गर्नेछ । बैठकमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले सबैको साथ, सहयोग र सुझावलाई समेटेर अभियानलाई अगाडि बढाइने बताए ।

बिहीबार भएको बैठकमा राजनीतिक दलका प्रतिनिधिहरुले अभियालनलाई समर्थन गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष तथा गण्डी प्रदेश सांसद कृष्ण थापाले स्थानीय तहको निर्वाचनको बेलामा पार्टीले बनाएको घोषणपत्र मै सरसफाइ विषयलाई समेटेकोले यो अभियानलाई सक्दो सहयोग गर्ने बताए । उनले भाषण गरे मात्र पोखरा सफा नहुने र काम नै गर्नुपर्ने भन्दै विशेष गरी महानगरकै जनप्रतिनिध यसमा खटिनुपर्ने बताए ।

नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर ९ का अध्यक्ष तथा सचेतक रामराज लामिछानेले पोखराको फोहोर व्यवस्थापन गर्न महानगरले ल्याएको अभियानमा समर्थन जनाउँदै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका कार्यवहाक अध्यक्ष गणेशबहादुर ढकालले फोहोरलाई वर्गीकरण गरेर फोहोर व्यवस्थापन गर्ने अभियानमा समय सान्दर्भिक भएको बताउँदै सहयोग गर्ने बताए ।

कार्यक्रममा सहरी योजना आयोगका सदस्य सरोज कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै पोखरामा दैनिक १ सय ८२ टन फोहोर उत्पादन हुने गरेको बताए । उनका अनुसार फोहोर मध्ये ८० प्रतिशत घरयासी फोहोर नै उत्पादन हुने गरेको छ । कोइरालाले पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर तीन ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको बताए ।

पोखरा महानगरपालिका सरसफाइ शाखाका प्रमुख तथा मुल समितिका सदस्य सचिव कल्पना बरालले पोखरामा २०३६ सालमा कुचीकारका रुपमा कर्मचारी नियुक्ति गरेर सरसफाइको काम अगाडि बढेको र २०४६ बाट सवारी साधन ल्याएर फोहोर व्यवस्थापन गरिएको बताइन् । बरालका अनुसार पोखरामा २०५५ सालमा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको र ५९ सालमा सम्पन्न भएपनि २०६१ सालदेखि ल्यान्डफिलमा फोहोर व्यवस्थापन हुँदै आएको छ । अहिले फोहोर व्यस्थापन कसरी भइरहेको छ भन्ने बारे बरालले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । बैठक महानगर प्रमुख तथा अभियान मुल समिति संयोजक मानबहादुर जिसीको अध्यक्षतामा भएको थियो ।

कौसी खेती भिडियोमा 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds