पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रि-आइसोलेसनमै पैसा चोरी !

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रि-आइसोलेसनमै पैसा चोरी !

Pre isolation gandak
  • अस्पताल प्रमुख भन्छन्ः बिरामीको सामानको जिम्मा कुनै अस्पतालले लिँदैन, अनुसन्धानको काम प्रहरीको हो ।
  • प्रहरी भन्छः अनुसन्धान हुँदैछ ।

रञ्जन अधिकारी, पोखरा । मुटुको दीर्घरोगी रामचन्द्र पौडेल पर्वत जिल्ला अस्पताल, कुश्माले थप उपचारका लागि पोखरा जान सिफारिस गरेपछि सपत्नी पोखरा आए । त्यहाँ ३ दिन उपचार गरेपछि रामचन्द्र र पत्नी पवित्रा शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ‘गण्डकी अस्पताल’) आएर भर्ना भए ।

त्यसैदिन राति प्रि-आइसोलेसन कक्षबाट पौडेल दम्पतीको करीब ४५ हजार रुपैंया चोरी भएको गुनासो गरेका छन् । सिरानीमा राखिएको झोलाबाट पैसा झिकेर अन्य कागजात झ्याल बाहिर फालिएको अवस्थामा भेटिएको पौडेल दम्पतीको भनाई छ । आइसोलेसन जस्तो कक्षमा कोहि पनि भित्र जान नमिल्ने र बाहिर झ्यालबाट समेत भित्र हात हाल्न सक्ने अवस्था नरहेकाले अस्पतालको नै यसमा गम्भिर लापरबाही भएको उनीहरुको ठहर छ । तर, अस्पताल प्रशासनले भने सार्वजनिक अस्पतालमा बिरामी कुर्न आउनेको सामानको जिम्मा लिन नसक्ने प्रस्ष्ट पारेको छ ।

घटना विवरणः

पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. ४, दुर्लुङ घर भएका ४९ वर्षीय रामचन्द्र पौडेलमा मुटुसँगै घुँडा दुख्ने समस्या पनि छ । अस्वस्थ भएपछि पौडेलको जिल्ला अस्पतालमा भर्ना गरियो । त्यहाँ ३ दिन उपचार गरेपछि फोक्सोमा पनि समस्या भएको आशंकामा अस्पतालले पोखरा रेफर गरे । उनीहरु पोखरा आएर गण्डकी अस्पतालमा भर्ना भए । कोरोना महामारीका कारण बाह्य जिल्लाबाट आएका र गम्भिर प्रकृतिको मुटु सम्बन्धी रोग भएका कारण अस्पतालले कोरोना परीक्षण नगरी थप उपचार प्रक्रिया अघि नबढाउने नियम अनुसार पौडेललाई ईमजेन्सी कक्षबाट प्रिआइसोलेसन वार्डमा राखियो । त्यसै रात नै पैसा हराएको पौडेल दम्पतीको जिकिर छ ।

उनीहरुका अनुसार झोलामा करीब ४५ हजार जति थियो । छोरा गोकुल र आफन्तले पहिले १० हजार र पछि ४० हजार खोजेर बुबाआमालाई पोखरा पठाएका थिए । यसमा कुश्मा अस्पतालमा १५ सय, एम्बुलेन्समा २५ सय, यहाँ आएपछि औषधि यताउता गर्दा १ हजार जत्तिको खर्च भएको र बाँकी सबै चोरी भएको उनीहरुको दुःखेसो छ ।

घटना विवरण अनुसार राति साढे नौ बजेतिर पवित्रा कुरुवा सुत्ने बेडमा सुतेकी थिइन् । ब्लाउज र कपडाले बेरेर पैसा झोलामा राखी सिरानी हालेर सुतेको पवित्राको भनाई छ । मध्येरात १२ बजे नजिकै रहेका रामचन्द्रले अक्सिजन झिकिदिन भन्दै पवित्रालाई उठाए । त्यसबेला ब्यागमा ब्लाउज झिकिएको अवस्थामा देखेपछि स्टाफलाई खबर गरिएको र त्यसपछि अस्पताल प्रशासन, प्रहरीलाई खबर गरिएको पौडेल दम्पतीको भनाई छ । आर्थिक अवस्था कमजोर रहेका पौडेल परिवारलाई वडा कार्यालयले सिफारिस बनाइदिएको कागज झ्याल बाहिर भेटिएको पवित्राले बताईन् ।

उनीहरु बसेको कक्षमा पर्वत जिल्लाकै स्याङ्जा सिमानातिरको हुवासका अर्का बिरामी र उनका दुई कुरुवा आफन्त, अस्पतालका स्टाफ (नर्स) रहेको पौडेल दम्पतीको भनाई उदृत गर्दै छिमेकी देवराज शर्माले जनाए । पीसीआर रिपोर्ट कुरिरहेका कारण ति बिरामी तथा आफन्तहरुलाई त्यहाँका नर्सहरुले समेत नछुने भएकाले नर्सहरुमा शंका छैन । अस्पतालमा भएको घटनाबारे प्रहरी, अस्पताल प्रशासनसम्म कुरा पुगेपनि गम्भिर नभएको पौडेल परिवारको आरोप छ । सँगै रहेका अर्का बिरामीका परिवार समेत डिस्चार्ज भएर गइसकेका छन् । आवश्यक अनुसन्धान नभएकोमा उनीहरुको आपत्ति छ । यदि, बाहिरबाटै गएको हो भने पनि सुरक्षाको बन्दोबस्ती किन भएन ? भन्ने उनीहरुको प्रश्न छ ।

त्यो पैसा झिक्न भित्रै पुग्नुपर्ने हुन्छ, त्यहाँ पुग्न अरुलाई सहजै पहुँच छैन । कि भित्र र बाहिरको मान्छे परिवर्तन हुनुपर्छ नत्र कसले लान्छ ? शर्मा भन्छन्ः – त्यही दिन को को थिए ? सबैलाई समातेर केरकार गरेको भए पो हुन्छ ? भोलिपल्ट के प्रमाण हुन्छ ? चोरले म चोर कसले भन्छ ? प्रहरीले अनुसन्धान गर्दैछौं मात्र भन्छ, प्रमाण नष्ट भएपछि के अनुसन्धान हुन्छ ? मान्छे अब बाँकी कोहि छैन ।’

पीसीआरको रिपोर्ट प्राप्त गरेपछि थप चेकजाँचपछि सोमबार बेलुकी नै पौडेल पनि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उनीहरु दुधको गाडीमा चढेर पर्वत गइसकेका छन् । नियमित औषधि सेवन गर्नुपर्ने भएको र खोजखाज गरेर ल्याएको पैसा पनि चोरी भएपछि विचल्ली भएको श्रीमती पवित्राको भनाई छ ।

के भन्छ अस्पताल ?

यस विषयमा अस्पताल नै पुगेर अस्ताल प्रमुख डा. अर्जुन आचार्यसँग बुझ्दा घटनाबारे थाहा भएको तर यसबारे अनुसन्धान गर्ने काम प्रहरीको भएको प्रतिक्रिया दिए । उनले घटना लगत्तै प्रहरीलाई जानकारी गराएको उल्लेख गरे ।

डा. आचार्यको भनाई जस्ताको तस्तैः – 

‘आइसोलेसन पनि हैन, प्रिआइसोलेसन कक्ष हो, फ्रि कक्ष हो । पीसीआर परीक्षण नभई उपचार प्रक्रिया अघि बढ्दैन । त्यसैले स्वाब संकलन पछि रिपोर्ट नआइन्जेल त्यहाँ राखिएको हो । यदि कोरोना पोजिटिभ देखिए बाँकी उपचार निःशुल्क हुन्छ । उहाँहरुले पैसा हरायो भन्नुभयो । यो सार्वजनिक स्थल हो । कति जनाले पार्किङमा राखेको बाइक हरायो भन्नुहुन्छ । त्यो जिम्मा अस्पतालले लिएर त बस्दैन नि । उहाँ बसेको कक्षमा बस्ने भनेको बिरामी हो, बिरामीका आफन्त हुन्छन् । ढोकाबाट जान जति पनि सम्भव छन् । पैसा चोरियो भनिसकेपछि प्रहरीलाई खबर गरेका हौं । हस्पिटलमा पनि प्रहरी छन् । अबको अनुसन्धानको काम प्रहरीको हो ।’

‘अस्पताल भित्र प्रि आइसोलेसन वार्ड जस्तो ठाउँमा चोरी भएको छ, अस्पतालको जवाफदेहिता हुँदैन ?’ भन्ने गण्डकन्यूजको प्रश्नमा डा. आचार्यले भने– ‘आफ्नो सुरक्षा आफैं गरौं । उहाँहरुको स्वास्थ्यको सुरक्षा, बिरामी, रोग हामी हेर्छौँ । त्यो पो हाम्रो ड्युटी हो । सामान त उहाँहरुले सुरक्षा गर्ने हो चोरेको देख्यौं भने हाम्रो पनि रोक्ने कर्तव्य हुन्छ । चोर खोज्दै त अस्पताल जाँदैन नि । उहाँहरुलाई प्रहरीसम्म समन्वय गराउने काम हामीले गर्ने हो, गरायौं । अब प्रहरीले नै गर्छ । पहिले सिसि क्यामेरा पनि थियो, अहिले उता सारिएको छ ।’

प्रहरी भन्छः अनुसन्धान भइरहेको छ

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनायो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी सुवास हमालले वडा प्रहरी कार्यालय रामबजारको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जनाए । त्यहाँको कार्यालय प्रमुख इन्स्पेक्टर प्रकाश थापा छन् ।

हमालले भने – ‘सो समय त्यो कक्षमा २ बिरामी र उनीहरुका आफन्त थिए । एक जनाको चोरी भयो, अर्को एक जना बिरामी र आफन्त सहित स्टाफलाई समेत हामीले केरकार, सोधखोज, खोजतलास गरेका हौँ । भेटिएन । तर, घटनाको अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ