तनहुँ । बिहीबार रातिदेखि परेको वर्षासँगै सेती नदीमा आएको बाढीले तनहुँको शुक्लागण्डकी नगरपालिकाका ४३ घरटहरा विस्थापित भएका छन् । निरन्तर परेको वर्षाका कारण सेती नदीमा पानीको सतह निकै बढेकाे छ ।
नदीकाे सतह बढेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिका– ८ पुल्चाेकस्थित नयाँबस्तीमा सेती नदीको बाढी पस्दा ४३ घर डुबानमा परेका छन् नगरपालिकाको वडा नम्बर ४ र ८ का ४३ घर डुबानमा परेको वडा नम्बर ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार घरहरु जोखिममा परेपछि उनीहरुलाई सुरक्षितस्थलमा सारिएको छ ।
‘बाढीले बस्तीमा क्षति पुऱ्याउने देखिएकाले स्थानीयलाई सुरक्षित रुपमा स्थानीय आदर्श समाजको भवन तथा अन्य स्थानमा व्यवस्थापन गरेका छौं ।’ वडाअध्यक्ष रेग्मीले गण्डकन्युज संग भने ‘बाढी बस्तीमा पस्दा कुनै पनि मानवीय क्षति भने भएको छैन ।’
केही पशु चौपाया भने बाढीले बगाएको भए पनि अहिलेसम्म यकिन तथ्यांक भने संकलन गर्न नसकेको उनले जानकारी दिए ।

सो क्षेत्रको सेती नदी किनारमा बसोवास गर्दै आएकाहरु शुक्रबार बिहान करिब ४ बजेको समय तिर सेती नदीमा अचानक बाढी आउन थालेपछि घर छाडेर भागेका थिए ।
यहाँका केही बाढी प्रभावितहरुले घरमा रहेका सामाग्री निकाले पनि अधिकांशले घरबाट कुनै पनि सामाग्री निकाल्न नसकेका बताएका छन् ।

दुवै वडाको यो क्षेत्र पुर्जा नभएको जमिन रहेको र धेरै वर्षअगाडिदेखि नै जोखिमयुक्त ठाउँ घोषणा गरिएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले बताए ।
‘जोखिमयुक्त क्षेत्र भनिए पनि स्थानीय बसोबास गर्दै आएको र बर्सेनि यो समस्याबाट गुज्रिनु परेको छ’, उनले भने, ‘अहिले उहाँहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गरेका छौं ।’
सेती र सुरौंदी खोलाले थप क्षति पुर्याउन सक्ने क्षेत्रका वासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरिएको नगरप्रमुख गुरुङले बताए ।

नेपाली सेना र प्रहरीसँगै जनप्रतिनिधि पनि डुबानमा परेको क्षेत्रमा खटिएका छन् । सेतीको बाढीले शुक्लागण्डकी-४ र ८ जोड्ने सेती नदी माथिको पक्की पुल पनि जोखिममा परेको छ ।
यस्तै, तनहुँको सेती, मादी, मर्स्याङ्दी ठूला साना नदीहरुमा बाढी आएपछि पानीको सतह बढ्दै गएको छ ।
बिहीबार रातीदेखि अविरल वर्षा भएसंगै स्थानीय प्रशासन तथा स्थानीय पालिकाहरुले नदी तथा खोला किनार वरपर बसोवास गर्ने तथा पहिरोको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सतर्क अपनाउन आग्रह गरेका छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बाढीको कारण विस्थापित भएका नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताए ।
बाढिले अहिलेसम्म जिल्लामा कुनै मानवीय क्षती नभएपनि उच्च सतर्कता भने आवश्यक रहेको बताए । नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित भएर बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।




तस्बिर सौजन्य : त्रिलोचन लम्साल र सामाजिक संजाल
सम्बन्धित खबर
भूकम्पपछि बारपाक गाउँको मौलिक चिनारी बचेन
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
आवासीय चिकित्सकको आन्दोलन : शुक्रबार देशभर ओपीडी बन्द
कालीगण्डकी तिनाउ डाइभर्सनबारे पोखरा-नवलपुर सम्पर्क समाजद्वारा नवलपुरका जनप्रतिनिधिसँग अन्तर्क्रिया
बैशाख १२ः बिर्सन नसकेको भूकम्प
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध