तनहुँको प्रहरी प्रमुखमा अरुण पौडेल, एसपी सिलवालको गण्डकी प्रदेश कार्यालय पोखरामा सरुवा

तनहुँको प्रहरी प्रमुखमा अरुण पौडेल, एसपी सिलवालको गण्डकी प्रदेश कार्यालय पोखरामा सरुवा

Arun Binod

जिल्ला प्रहरी कार्यालय तनहुँको कमाण्ड सम्हाल्न अब एसपी अरुण पौडेल आउने भएका छन् । हाल बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा मकवानपुरमा कार्यरत पौडेलको तनहुँ सरुवा भएको हो । एक वर्ष तनहुँको प्रहरी प्रमुख भएका एसपी विनोद सिलवाल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएको हो । सो ठाउँमा एसपी उमाशंकर पञ्जियार थिए । पञ्जियार जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख बनेका छन् ।

तनहुँबाट बिदा हुन लागेका सिलवालले अघिल्ला एसपीहरु भन्दा आफूलाई अब्बल बनाउन सकेनन् । उस्तै टोले गुण्डाहरुको बिगबिगी नै रह्यो । ज्यान मार्ने क्रम रोकिएन । झनै हत्या घटनामा जनप्रतिनिधि जोगाउन खोजेको, पावरवाला कैदीहरु जेलमै दादागिरी देखाएको लगायतका आरोप उनीमाथि लाग्यो । उनको कार्यकाल अघि देखि नै तनहुँमा चितुवा आतंक रह्यो । जनताले यो एक वर्षमा पनि ज्यानको सुरक्षाको प्रत्याभूति पाउन सकेनन् ।

तनहुँ आउन लागेका एसपी पौडेललाई ठूलो चुनौति छ । यस क्षेत्रमै किशोरावस्थाका युवाहरुको टोले दादागिरी रोक्नुपर्ने उनलाई जिम्मेवारी छ । पौडेलले यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेको सफल नेतृत्व गरिसकेका छन् । नेपालगञ्ज जस्तो चुनौतिपूर्ण ठाउँमा कार्यकालभर उनी कुनै विवादमा मुछिएनन् भने जिम्मेवारी पनि सन्तोषजनक रुपमै पूरा गरे । अहिले बाँकेमा रहेका विरबहादुर वलीको प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, नवलपरासीमा सरुवा भएको छ । बाँकेको जिम्मेवारी ओमबहादुर रानाले पाएका छन् ।

३६ एसपीहरुको सरुवा, १५ जिल्लाका एसपी फेरिए

नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा भएको छ । सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् । सरुवामा १५ जिल्लाका इन्चार्ज फेरिएका छन् ।

बाँकेमा ओमबहादुर रानाका साथै कास्कीमा जिवन कुमार श्रेष्ठ, गोरखामा सुरेन्द्रबहादुर गुरुङ, मोरङमा सन्तोष खड्का, इलाममा नवीनकुमार राई, भक्तपुरमा तारादेवी थापा, सिराहामा उमाशंकर पञ्जियार, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, महोत्तरीमा टिकाबहादुर केसी, पाल्पामा दिपकराज खरेल, कपिलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिम प्रसाद दाहाल, सुर्खेतमा राजेन्द्र प्रसाद भट्टको सरुवा भएको छ । एक वर्ष कार्यकाल पूरा गरेका एसपीहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।

कारबाहीमा परेकालाई फेरि फेरि महत्वपूर्ण जिल्ला, कास्की नेतृत्व गरेको १ वर्ष पछि नै ओम राना बाँकेमा 

विगतमा पटक पटक कारबाहीमा परेका एसपीहरुले पनि फेरि महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएका छन् । बाँकेको जिम्मेवारी पाएका ओमबहादुर राना विगतमा कारबाहीमा परेर पनि महत्वपूर्ण जिल्ला पाउँदै आएका हुन् । रसुवामा डिएसपी हुँदा रक्तचन्दन तस्करीमा संंलग्न भएर पनि जागिर जोगाए । यस काण्डमा नेपाली सेनाका उच्च अधिकारीलाई भने जागिरबाटै बर्खास्त गरिएको थियो । उनले गत वर्ष कास्कीको इन्चार्ज पाएका थिए । कास्कीमा विवादित नभएपनि सम्झने काम गर्न सकेनन् । शिवरात्रीका दिन सेतीमा धकेलेर मारिदिएको सूर्य पाण्डे हत्यामा संलग्नलाई भने उनले कारबाही दिलाउन सफल भएका थिए । जुन यसअघिका राम्रा भनिएका एसपीले गर्न सकेका थिएनन् ।

रानाले १ वर्ष नबित्दै फेरि अर्को जिल्लाको नेतृत्व गर्न पाएका हुन् । राना अहिले प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचारप्रसार शाखामा छन् । गृहमन्त्रीको सचिवालयलाई आर्थिक प्रभावमा पारेर उनले यस्तो पोष्टिङ पाउँदै आएका छन् ।

यस विषयमा न्यूज अभियान डटकमले समाचार नै प्रकाशित गरेको थियो । २०६८ भदौमा रक्तचन्दन चीनतर्फ तस्करी गर्न सहयोग गरेको आरोपमा तत्कालीन रसुवाका डीएसपी ओम राना र नुवाकोटका डीएसपी बालकृष्ण थापालाई सरुवा गरिएको थियो । थापा नक्कली प्रमाणपत्र पं्रकरणमा अदालतबाट दोषी प्रमाणित भई जागिरबाट बर्खास्त भइसकेका छन् ।

रक्तचन्दन तस्करीमा मिलेमतो भएका नेपाली सेनाको रसुवास्थित अर्हिदमन गणका कर्णेल रामजी थापालाई त्यतिबेलै कोर्टमार्सल गरी बर्खास्त गरिएको थियो । तर प्रहरीका डीएसपी रानालाई भने नेताहरुको आशीर्वादमा जोगाइएको थियो । रानालाई रसुवा सरुवा हुनासाथ सुन तस्करीका डिजाइनर मानबहादुर तामाङले कार नै उपहार दिएको चर्चा पनि चल्ने गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले २०७४ भदौ ३१ मा क्षेत्रपाटीमा बरामद गरेको ८८ किलो सुन प्रकरणमा कांग्रेस नेता मानबहादुर तामाङ मुछिएका थिए । तामाङलाई प्रहरीले २०७४ असोजमा पक्राउ गरेको थियो । राना गएपछि तामाङले ठूलोमात्रामा रसुवा नाकाबाट सुन नेपाल भित्र्याएका थिए । तामाङ नेपाल–केरुङ व्यापार संघका अध्यक्ष पनि रहेका थिए ।

२०६८ वैशाख अन्तिम साता रसुवा नाका हुँदै आठ टन रक्तचन्दन चीन निकासी भएको थियो भने ना ३ ख २८९४ नम्बरको ट्रकमा सात करोड २० लाख मूल्यबराबरको रक्तचन्दन निकासी भएको थियो । सो रक्तचन्दन सेनाको ब्यारेक हुँदै पास गराउनमा डीएसपी राना र सेनाका कर्णेल दुवैको मिलेमतो थियो ।

तर सेनाका कर्णेल बर्खास्त भए रानामाथि कारबाही भएन बरु एकपछि अर्को जिल्लाको प्रमुख हुने मौका पाए । बादलको शासनमा उनले कास्की जस्तो महत्वपूर्ण जिल्लाको इन्चार्ज बन्ने अवसर पाएका छन् ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”46263″ /]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds