काठमाडौं । सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ ।पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्को कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख मात्रै पाउन सक्ने भएकाले बेलैमा ध्यान पुर्याउनुहोला ।
दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षकले पास भएकालाई पनि अब अत्यावश्यक बाहेक प्रवेश रोकिएको बताए । “दैनिक उपभोग्य सामग्रीसँग र स्वास्थ्य उपचारसँग जोडिएका सवारी आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि सवारी भित्रिन पूर्ण निषेद छ ।”
विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५०० हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४०० सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।
अनावश्यकरुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावत बढ्न थालेसँगै संघीय राजधानी काठमाडौंमा पनि बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको प्रहरीको निष्कर्ष छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यका प्रहरी त्यस्ता गाडी रोक्न बाध्य भएको हो ।
नागढुङ्गाको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ बहाना बनाएर पास लिएर आएका गाडीलाई उपत्यकामा प्रवेश रोकिसकेको बताए । “आजमात्रै हामीले ८० वटा गाडी नागढुङ्गा नाकाबाट फर्काइसक्यौँ, यो क्रम जारी छ”, श्रेष्ठले भने । उनीहरुले बकाइदाले जिल्लाबाट पास ल्याएका छन् । वास्तविक समस्या के हो ? भनेर सोध्दा, यही हो भनेर प्रष्ट बताउन नसक्नेलाई फर्काइएको छ । बिरामी, काजकिरियामा हिँडेका, अत्यावश्यक काम र पेशा व्यवसायका व्यक्ति सवार गाडी मात्रै पठाउने गरिएको उनले बताए ।
गृह मन्त्रालयले केही दिनअघि आवागमनमा कडाइ गर्न निर्देशन दिएसँगै अहिले उपत्यकालगायत समग्र मुलुकभरको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनलगायत केही जिल्लाले बाहिर जानका लागि पास नदिने निर्णय गरेर सार्वजनिक सूचना जारी गरिसकेको छ । कोरोनाको सङ्क्रमण जोखिमलाई रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उपत्यकाको सीमा नाकामा थप कडाइ थालिएको र सुरक्षात्मक उपायसमेत अपनाउन थालिएको बताए । उनले वैशाख २५ पछि पनि आवागमनलाई रोक्नै पर्ने आवश्यकता रहेको औँल्याए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले राजधानीलाई सुरक्षित बनाउन सबैखालको सुरक्षा अपनाएर प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत बढ्न थालेकाले उपत्यकामा सवारी चाप बढेको अनुभव भएको बताउँदै जिल्लाबाटै पास रोक्नुपर्नेमा जोड दिनुहुन्छ । योसँगै राहत वितरण र अत्यावश्यक सामान ओसारपसार बढेको, विभिन्न कार्यालय सञ्चालन हुन थालेको र उद्योग तथा आयोजना सञ्चालन हुने क्रम बढेकाले पनि यातायातको चाप थपिएको छ ।
रासस
सम्बन्धित खबर
रवि लामिछाने आज रूपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै
तराईमा हुस्सु, गण्डकीसहित यी प्रदेशमा हिमपातको सम्भावना
एमालेले ०८२ साल भदौमा विधान अधिवेशन गर्ने, वामदेवसँग सहकार्य गर्ने निर्णय
आशिका तामाङमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए