चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकीमा २१ महिने बालिका घाइते

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकीमा २१ महिने बालिका घाइते

IMG_20200316_210852

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा एक बालिकालाई चितुवाले आक्रमण गरेको छ ।

सोमबार साँझ शुक्लागण्डकी–३ वनकेवा निवासी नारायण न्यौपानेको २१ महिने छोरी सँस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरेको हो ।

बालिकाको पेट, खुट्टासहित विभिन्न अंगमा चोट लागेको छ । बालिकाको अवस्था खतरामुक्त रहको बताइएको छ ।

साँझ आमाले बाथरुममा कपडा धुने क्रममा सँगै रहेकी छोरीलाई चितुवाले आक्रमण गरेको थियो ।

आक्रमण लगत्तै आमाले छोरीलाई तानेर बचाउन सफल भएको शुक्लागण्डकी-३ का वडाअध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

घाइते बालिकाको दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा सामान्य उपचारपछि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक जगदिश रेग्मीले जानकारी दिए ।

गत पुस १३ गते पनि सोहि वडाको वनकेवा रातमाटाका राजु नेपालीको २२ महिने छोरा रविन नेपालीलाई घरकै पिढीँबाट चितुवाले आक्रमण गरी लगेको थियो ।

भोलिपल्ट घरभन्दा एक किलोमिटर पर ढाङढुङे ठूलोपाखा श्यामपोखरी सामुदायिक वनमा बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो ।

त्यसयता राटमाटा आसपासका गाउँ वन्केवा, उदेढुंगा, कालिमर्याङ क्षेत्रमा निरन्तर चितुवा देखिरहँदा स्थानिय त्रासमा बाँचेका छन् ।

चितुवालाई नियन्त्रणमा लिन गस्ती गर्ने र परम्परागत काठको खोर बनाएपनि नियन्त्रणमा लिन सकिएको छैन् ।गएको बुधबार पनि जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पामा चितुवाले आक्रमण गरेको थियो ।

आक्रमणबाट लालबहादुर नेपालीका ७ बर्षिय छोरा अनुप नेपाली घाईते भएका थिए । छिमेकीको विवाह हेर्न आमासंगै गएका उनीमाथी आक्रमण भएको हो । घाईते बालक गण्डकी अस्पताल पोखरामा उपचाररत छन् ।

९ जनाको मृत्यु, ६ घाइते

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाएका छन ।

त्यस्तै ६ जना बालबालिका घाइते रहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

अहिले सम्म ७ वटा चितुवा खोरमा परेका छन । तनहुँको भानु नगरपालिकाको विभिन्न बनमा चितुवाले आतंक मच्याएको थियो ।

यी हुन चितुवाको आक्रमणबाट ज्यान गुमाउने ९ बालबालिका

तनहुँमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाईसकेका छन ।

चितुवाको आक्रमणबाट विक्रम संवत् २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विक्रम संवत् २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, विक्रम संवत् २०७५ मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।

त्यस्तै २०७६ पुष १४ गते शुक्लागण्डकी-३ रातमाटाका २ वर्षीय रविन नेपाली, २०७६ पुष २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहि पाखाका १० वर्षिय इश्क सुनारको मृत्यु भईसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds