ऐतिहासिक तनहुँसुरदेखि कुलुङकोट व्यास नगरपालिकाको पर्यटकीय गन्तव्य

ऐतिहासिक तनहुँसुरदेखि कुलुङकोट व्यास नगरपालिकाको पर्यटकीय गन्तव्य

Kulug Villege

तनहुँको व्यास १४ मा पर्ने कुलुङ गाउँ

किरण श्रेष्ठ, तनहुँ । व्यास नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका पर्यटकीय गन्तब्य सम्बन्धि परिचयात्मक भ्रमण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिने कार्यक्रमको आयोजना नगरपालिकाले गरेको हो ।

नगरपालिका भित्र रहेको विभिन्न पर्यटकीय गन्तव्यको परिचय गराई थप पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले उक्त कार्यक्रम गरिएको व्यास नगरपालिकाका उद्योग, पर्यटन तथा सामाजिक विकास शाखा प्रमुख राजेन्द्र कार्की जानकारी दिए ।

उक्त भ्रमण कार्यक्रम अन्तर्गत व्यास ८ स्थित क्यामिन कालिका मन्दिरको अवलोकन गरेको थियो । १२ सय ३० मिटर उचाईमा रहेको क्यामिन कालिका मन्दिर दमौलीदेखि १४ किलोमिटरको दुरीमा रहेको छ । जंगलको बिचमा रहेको उक्त मन्दिर धेरै पुरानो भएको स्थानिय बताउछन ।

त्यस्तै व्यास ९ मा रहेको जौबारी सामुदायिक होमस्टेले ग्रामिण पर्यटनको लागि महत्वपुर्ण स्थान बनाउने देखिन्छ । होमस्टेमा मौसम अनुसारको खानेकुरा खुवाइने होमस्टेकी कोषाध्यक्ष यौमाया गुरुङले बताईन । उनले भनिन ‘लोकल कुखुरा देखि सिस्नुको खोले पाइन्छ ।’ २०७५ असार देखि होमस्टे संचालन गरेको गुरुङले बताईन ।

हिमाल अवलोकन गर्न संगै फाट र विभिन्न दृश्य अवलोकन गर्न सकिने उनले जानकारी दिईन ।

राजापानी महादेव

त्यस्तै व्यास ९ मै रहेको राजापानी महादेव, जहाँ एकादशी र शिवरात्रिमा ठुलो मेला लाग्ने गर्दछ । एकादशीमा फुलको डोली तार्ने र मनोकामाना पुरा हुने विश्वास रहेको छ । मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने व्यास ९ का वडाअध्यक्ष सुरेश थापाले बताए ।

यस मन्दिरमा भाकल (कामना) गर्दा आफ्ना मनोकांक्षा पुरा हुने विश्वासका साथ यस दिन मन्दिरमा हजारौंको संख्यामा भक्तजनहरुमा भेला हुने गर्दछन् । दुःखकष्टबाट मुक्ति, लाभको कुनै कामना, मनको इच्छा पूरा गरिदेउ, पूरा भएमा फूलको डोली लिएर दर्शन गर्न आउँछु जस्ता विभिन्न भाकलहरु गर्ने गरिन्छ ।

कुनै समय गोपाल घर्ती भन्ने व्यक्तिले राति सपनामा हालको मन्दिर भएको ठाँउमा शिलाबाट दुध आएको देखी भोलिपल्ट गएर उक्त शिला देउराली भन्ने ठाँउमा लादै गर्दा उनी बिरामी भइ सो शिला त्यही ठाँउमा छाडेर गएका पछि हेर्दा शिला पुन पहिलेकै उठाएको ठाँउमा नै भेटिएको भन्ने किम्बदन्ती पाइन्छ ।

शुक्रबार नै उक्त भ्रमणका क्रममा ऐतिहासिक तनहुँसुर अवलोकन गरिएको थियो । व्यास नगरपालिका–११ स्थित प्रचुर पर्यटकीय सम्भावना बोकेको तनहुँसुरले पर्यटक पर्खिरहेको छ ।

प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस ठाउँको पर्याप्त प्रचार गर्न सकिए तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुनेछ ।

तनहुँसुरको सेनवंशी राजाको दरबार भग्न अवस्थामा छ । तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । पर्यटकीय सम्भावना बोकेको यस ठाउँको विकासका लागि व्यास नगरपालिकाले पहल थालेको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिए ।

खड्काका अनुसार तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको स्तरोन्नतिलाई वडा कार्यालयले प्राथमिकतामा राखेर योजना अगाडि बढाएको छ । साथै यस ठाउँमा सहिद स्मृति पार्क समेत निर्माण गरिएको छ ।

तनहुँसुरमा सेनवंशी राजाको शासनकालमा सेनाले प्रयोग गरेको तोपको अवशेष, सेनवंशी राजाको समयको इनार, टुँडीखेल, कालिका मन्दिर, दरबार क्षेत्र आकर्षणका रुपमा रहेका छन् ।

साथै, तनहुँसुर दरबार, चण्डीथान, गद्दीचौतारा, साउने कुवा, राजाको पंधेरो, कुँडापानी, रानीपोखरी, धर्मशाला, भगवतीपानी मन्दिर पनि तनहुँसुरको आकर्षणको रुपमा रहेको छ ।

नगरपालिका भित्रको पर्यटकीय गन्तव्यलाई देशभरि र विदेशमा समेत चिनाउने उद्धेश्यका साथ नगरपालिकाले परिचयात्मक भ्रमण कार्यक्रम आयोजना गरेको पर्यटनविद एवम सम्पदा नेपालका अध्यक्ष हरि सिं गुरुङले बताए ।

‘पर्यटनको सम्भावना बोकेका ठाउँको प्रचारका जोड दिएका छौ ।’ गुरुङले भने ‘प्रचारप्रसार एकज दिन मात्रै होइन निरन्तर हुनुपर्छ ।’ उनले थपे ‘गाउँको स्थानिय उत्पादन र मौलिक संस्कृति पाहुनालाई देखाउन सके प्रचार पाहुनाबाटै देश तथा विदेश सम्म पुग्छ ।’

उक्त भ्रमण कार्यक्रम जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला र पत्रकार लगाएत रहेको थियो ।

कुलुङ गाउँ र कुलुङकोट

तनहुँको व्यास १४ मा पर्ने कुलुङ मगर जातिको बाहुल्यता रहेको गाउँ हो । शितल हावापानि एवं मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण कुलुङमा गर्मि छल्न जान सकिन्छ ।

कुलुङमा कुलुङ सामुदायिक होमस्टे संचालनमा रहेको छ । ७२ घर रहेको उक्त गाउँमा १० वटा घरमा होमस्टे संचालनमा रहेको छ । अन्य २० घरमा कृषि र अर्को २० घरले पशुपालन गरेको व्यास १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठले बताए ।

ग्रामिण अर्थतन्त्र बलियो बनाउन कृषि र पर्यटन नै मुख्य हुने वडाअध्यक्ष श्रेष्ठले बताए । सांस्कृतिक भेषभुषा र मौलिक नाच कुलुङको विशेषता रहेको श्रेष्ठले बताए ।

हिमाल हेर्न कुलुङकोट आउन वडाअध्यक्ष श्रेष्ठ अनुरोध गर्दछन । कुलुङकोटबाट पश्चिमको अपि देखि धवलागिरी, अन्नपूर्ण, मनास्लु, गणेश, बुद्ध, गोरखा,हिमचुली देखि लाङ्टाङ रेन्ज समेत देख्न सकिने पर्यटनविद हरिसिं गुरुङले बताए ।

कुलुङकोट मिर्लुङकोट पछिको तनहुँको उत्कृष्ट हिमाल दृश्यालोकन गर्ने स्थान भएको गुरुङले जानकारी दिए । कुलुङकोटमा रहेको कालिका थान ऐतिहासिक महत्व रहेको उनले बताए । कुलुङकोट ११९७ मिटर उचाईमा रहेको छ ।

कसरि पुग्ने कुलुङ

तनहुँको दमौलीबाट १८ किलोमिटर तथा पृथ्वी राजमार्गको छिर्कनेबाट ७ किलोमिटर दक्षिणमा कुलुङ पुग्न सकिछ ।

यस्तै तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिरबाट करिब ६ किलोमिटरको दुरीमा पुर्वतर्फ कुलुङ रहेको छ भने केशवटारबाट ३ किलोमिटर उत्तरमा पर्दछ ।

त्यस्तै पहाडकी रानी बन्दीपुरबाट १२ किलोमिटर दुरीमा कुलुङ पुग्न सकिन्छ । छिर्कने र दमौलीबाट नियमित रुपमा कुलुङ्मा जिप जान्छ ।

यस्तै बन्दीपुर मुचुक रामकोट कुलुङकोट छाब्दी मन्दिर हुँदै दमौली पैदल यात्रा गर्न सकिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ