बालिका खड्काले पति भन्दै अंश दाबी गरेपछि मुख्यमन्त्री राईले भने ‘केही दिनमा दूधको दूध छुटिन्छ’

बालिका खड्काले पति भन्दै अंश दाबी गरेपछि मुख्यमन्त्री राईले भने ‘केही दिनमा दूधको दूध छुटिन्छ’

Balika-Khadka-rai-Sherdhan-rai

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख खोलेका छन् । एक महिला बालिका खड्काले आफ्नो पति भएको दाबी गर्दै अंश मुद्दा हालेपछि खड्काको दाबी राईले अस्वीकार गरेका छन् र आफू २०७२ मा सञ्चार मन्त्रीदेखि नै षड्यन्त्र सुरु भएको बताएका छन् ।

शनिबार प्रेस संगठन नेपाल प्रदेश १ को इटहरीमा भएको सपथ ग्रहण कार्यक्रममा राईले यसबारे बोल्न आफू उपयुक्त समयको पर्खाइमा रहेको र अहिले त्यो समय भएको बताए ।

आफूले फुकीफुकी पाइला चाल्ने गरेको भन्दै उनले भने, ‘अब दूधको दूध, पानीको पानी छुटि्टने समय आयो । यो केही दिनमा छुटिन्छ ।’

मुख्यमन्त्रीको भनाइ जस्ताको तस्तै-

जुन पात्रको कुरा छ, ती पात्रसँग मेरो कहिल्यै चिनजान भएको पनि छैन, बोलचाल भएको पनि छैन, कहिल्यै दोहोरो सम्वाद भएको पनि छैन ।

म सञ्चारमन्त्री भएको तीन महिना पछाडि फटाफट मेरो नम्बरमा म्यासेज आउँछ । त्यो म्यासेज एउटा दुइटा होइन, पचासौं, सयौंको सख्यामा आउँछ । भोलिपल्ट पनि आउँछ । मलाई म्यासेज प्राप्त भएको एउटा नम्बरमा म कलब्याक गर्छु र को मान्छे हो भनेर चिन्न खोज्छु । नामसम्म थाहा हुन्छ । त्यसपछि मैले फोन राख्छु । तर, म्यासेज लगातार आयो ।

त्यसपछि मैले ती म्यासेजहरुलाई जस्ताको तस्तै मोबाइलमा राखेर सञ्चारमन्त्रीको हैसियतमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई देखाएँ । उहाँ पनि अचम्मित हुनुभयो । यसभन्दा अगाडि पनि तपाईँका बारेमा एउटा गलत पोको लिएर मान्छेहरु आएका थिए । आज प्रमाणित भयो, तपाईमाथि ठूलो षड्यन्त्र भएको रहेछ । अब तपाई ढुक्कले केही विचलित नभई आफ्नो काममा अगाडि बढ्नुस्, कसैलाई केही प्रतिक्रिया नदिनुस् । मैले मान्छे चिनें, बुझें, प्रधानमन्त्रीजीले भन्नुभयो । तर, म्यासेज र मलाई हृयारेस्ट गर्ने काम रोकिँदैन ।

जब सरकारबाट हामी बाहिरियौं, मैले सात पेजको म्यासेज प्रिन्ट गरेर त्यो गिरोहको नाइकेको नाम किटानी गरी मैले पार्टीको पोलिटब्यूरो बैठकमा एउटा एजेण्डा दर्ज गरेँ । यहाँ भीम कमरेड हुनुहुन्छ, (मञ्चमा रहेका भीम आचार्यतर्फ संकेत गर्दै) मैले पार्टी अध्यक्षसँग औपचारिक अनुमति मागेर एजेण्डा दर्ज गरेर पार्टीको बैठकमा दुई घन्टा छलफल भयो । पार्टी पोलिटब्यूरोमा एकमतले ती पात्र गलत हुन् भन्ने निष्कर्ष निस्कियो । त्यसो हो भने जसले मेरो राजनीतिक जीवनलाई समाप्त गर्न करौडौं पैसा खर्च गरेर सक्रिय छ, त्यो गिरोहलाई बाहिर ल्याउन छानविन कमिटी बनोस् भनेर मैले आग्रह गरेँ । अध्यक्षले स्थायी कमिटीबाट आवश्यक निर्णय लिने निष्कर्ष सुनाउनुभयो, बैठक सकियो ।

मैले पार्टी अध्यक्षसँग अनुमति मागेर सात पेज म्यासेज र ६ वटा नम्बरसहित आवश्यक अनुसन्धानका लागि सीआईबीमा निवेदन दिएँ । पुलिसले सम्वन्धित मान्छेमाथि प्रारम्भिक अध्ययन गर्‍यो । यी मान्छे स्वभाविक परिस्थितिमा छैनन् । त्यसैले अहिले कारबाही अगाडि नबढाऔं । हामी अध्ययन गर्छाैं भन्ने त्यतिबेलाका डीआईजी नवराज सिलवाल अहिले प्रतिनिधिसभाको माननीय हुनुहुन्छ ।

मैले आजको मितिसम्म कुनै प्रतिक्रिया दिएको थिइनँ । तर, लगातार ममाथि यस प्रकारको षड्न्त्र के कारणले होला, थाहा छैन ।

म शीर ठाडो पारेर सबैलाई भन्न सक्छु, म भुईँबाट आएको मान्छे हुँ, असाध्यै विकट गाउँमा जन्मिएको मान्छे हुँ । भुईँबाट आएको मान्छे, कम्युनिस्ट पार्टीको सदस्यता लिएर जे जिम्मा पायो, पाएको जिम्मा राम्रोसँग फत्ते गर्दै यहाँसम्म आएको हुँ । म कसैको चाकडी गरेर आएको होइन । आशिर्वाद पाएर, मिडियाबाजी गरेर अनेकथोकको सहारा लिएर आएको होइन । मेरो जिन्दगी शतप्रतिशत पारदर्शी छ । म चुनौती दिन चाहन्छु सबैलाई, आर्थिक र नैतिक मामिलामा कसैले पनि खोट लगाउन सक्ने ठाउँ मैले बनाएको छैन ।

यसबारे बोल्ने समयको पर्खाइमा थिएँ म। किनभने यसको कुनै अर्थ छैन, प्रतिक्रिया दिनुपर्दैन भनेर पुलिसले पनि भन्यो, पार्टीले पनि भन्यो । तर, आज बोल्नुपर्ने भयो । र, अब दूधको दूध, पानीको पानी छुटि्टने समय आयो । यो केही दिनमा छुटिन्छ, यहाँहरुले थाहा पाउनुहुन्छ । यो कहिँ चुकेको थियो कि ? यसले कहिँ कतै गल्ती गरेको थियो कि भन्ने भ्रम नहोस् ।

यो मामिलामा मिडियाको दुरुपयोग भएको छ, किनिएको छ । यसको पनि खोजी गरिदिन म आग्रह गर्न चाहन्छु । आधा घन्टामा तपाईहरुले पत्ता लगाउन सक्नुहुन्छ । यो धन्दामा सामेल मान्छे पनि पत्ता लगाउन सक्नुहुन्छ । पार्टीमा त मुख्य मान्छेको नाम नै तोकेर दिएको छु ।

ममाथि जुनखालको षड्यन्त्र भएको छ, शायद विश्वको कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म भएको छैन र हुँदैन होला । चुनावका बेला ममाथि १० वटा बम र एउटा गोली प्रहार गरियो । त्यो तर्साउन होइन, ठाउँका ठाउँ सिध्याउन गरिएको थियो । र, मैले यो घटनालाई पनि योसित जोडेर पार्टी नेतृत्वको ध्यानाकर्षण पनि गराएको छु ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds