काठमाण्डौ – भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै अहिले देशभर प्रदर्शन भइरहेको छ । विद्यार्थीहरुले भारतलाई आफ्नो नक्सा सच्याउनका लागि दबाब स्वरुप विरोध प्रदर्शन गरिएको बताए । उनीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो’ प्लेकार्ड बोक्नुका साथै नारा समेत लगाएका थिए ।

भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो । जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।
भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ ।
लामो समयदेखि भारतले अतिक्रमण गरेर राखेको यो क्षेत्र अहिले भारतले औपचारिक रुपमा नै राजनीतिक नक्सामा समेटेको हो । भारत सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्ना भिन्नै केन्द्रशासित प्रदेश (युनियन टेरिटरी) जम्मू–कश्मीर र लद्दाखसहितको देशको औपचारिक राजनीतिक नक्सा गएको शनिबार सार्वजनिक गर्दा नेपालको भूभाग पनि आफ्नो सीमाभित्र मिसाएको छ ।

भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूभागसमेत हालेपछि फेरि नेपाल भारत सीमा विवाद फेरि एक पटक सतहमा आएको छ । अहिले भारतले आफ्नो नक्सामा राखेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालले गएको फागुनमा सार्वजनिक गरेको नक्सामा पनि राखेको छ । नापी विभागले तयार पारेको नक्सामा अहिले भारतले राखेको क्षेत्रलाई पनि समेटेको थियो ।
नेपालको नापी विभागले तयार पारेको नक्साअनुसार अहिले आएर भारतले ती क्षेत्र अतिक्रमण गर्दै आफ्नो नक्सामा राखेको हो । यसअघि पनि यो क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै पटक–पटक नेपाली पक्षले विरोध जनाउँदै आएका थिए । ‘लिपुलेक हाम्रै हो’ भन्दै तत्कालीन एमाले सम्बद्ध विद्यार्थी संगठनले लिपुलेक पुगेर झण्डा नै फहराएका थिए ।
दार्चुला जिल्लामा पर्ने लिपुलेकको पहिलो पटक सरकारले वि.सं. २०१८ सालमा जनगणना नै गरेको तथ्यांक छ । त्यो बेला पत्रकार भैरव रिसाल तथ्याङ्क विभागको अधिकृतका रुपमा लिपुलेक पुगेर त्यहाँको जनगणना गर्नुभएको थियो । तर अहिले त्यो क्षेत्रलाई नै भारतले आफ्नो भन्दै राजनीतिक नक्सा सार्वजनिक गरेको हो । नेपालको भूभाग आफ्नो भन्दै भारतले नयाँ नक्सामा समेटेपछि भने नेपाली पक्षले विरोध जनाएको छ ।
के भन्छ नापी विभाग ?
भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभागसमेत परेको बारे नापी विभागले पनि चासो दिएको छ । पाकिस्तानले औपचािरक रुपमा नै भारतले जारी गरेको नयाँ नक्साका बारेमा विरोध गरिसक्दा नेपाल पक्षले भने बल्ल अध्ययन गर्न लागेको जनाएको छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नक्सामा पारेको बारे जानकारी आएको र यसबारेमा विभागमा छलफल चलिरहेको विभागका सूचना अधिकारी दामोदर ढकालले बताउनुभयो ।
विस्तृत अध्ययन गरेर यसबारेमा औपचारिक धारणा सार्वजनिक गर्ने तयारीमा विभाग लागेको पनि उहाँले बताउनुभयो । अहिले छलफल चलिरहेको र विस्तृत अध्ययन गर्ने काम पनि भइरहेकाले हाम्रो भूभाग परे नपरेको बारे अहिले नै भन्न नसकिने भन्दै उहाँले अध्ययनपछि धारणा सार्वजनिक गर्ने बताउनुभयो ।
२०७२ सालमा भारत र चीनबीच भएको व्यापार सम्झौतामा लिपु लेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउने सहमति गरेको थियो । यही सम्झौताअनुरुप नै अहिले लिपुलेकलाई आफ्नै भन्दै नक्सामा नै समेटेको हो । त्यो बेला लिपुलेक भारतले अतिक्रमण गरेर हत्याउन लागेको भन्दै नेपाली पक्षले विरोध जनाएको थियो । परराष्ट्रविद्हरुले लिपुलेकलाई त्रिदेशीय मार्ग बनाउन सरकारले पहल नगर्दा भूभाग नै गुमाउने अवस्थामा पुगेको दाबी गर्छन् ।
नापी विभागका पूर्व महानिर्देशक सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले २०७४ जेठ २० गते राजधानीमा आयोजना गरेको ‘भारत–चीन नयाँ व्यापार सम्झौता : लिपु लेक र नेपाली राष्ट्रियता’ विषयक कार्यक्रममा नक्सा, कागजात र प्रमाणको आधारमा लिपुलेक नेपालको दार्चुला जिल्लाको तत्कालीन व्यास गाविसमा पर्ने भए पनि भारतले मिचाहा प्रवृत्ति देखाउँदै जमिन हडपेको बताउनुभएको थियो ।
प्रमाणहरुले त्यो भूभाग नेपालको रहेको देखाए पनि अहिले भारतले आफ्नै नक्सामा समेटेपछि नेपालले झण्डै ३७२ वर्ग किलोमिटरभन्दा बढी क्षेत्र गुमाउने अवस्थामा पुगेको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते