समातिए एसिड छ्याप्‍ने केशरी

समातिए एसिड छ्याप्‍ने केशरी

kesari-accide-attack-pakrau_20191105042425-750×375

 हेटौंडास्थित स्कुल रोडमा रहेको आफ्नै पसलमा बसिरहेकी विन्दावासिनी कंसकारमाथि अचानक एडिस (तेजाब) प्रहार हुन्छ। एडिस छ्याप्‍ने व्यक्ति फरार हुन्छन्। विन्दावासिनी छ्टपटाउन र चिच्याउन थाल्छिन्।घटना २०७० वैशाख ९ गते।

लगत्तै उनलाई उपचारका लागि अस्पताल पुर्‍याइन्छ। परिवारको ध्यान उनको उपचारमा मात्रै केन्द्रित हुन्छ। प्रहरी एसिड छ्याप्ने भारतीय नागरिक दिलिपराज केशरीलाई खोज्न थाल्छ तर सफलता हात लाग्दैन। केशरी घटनालगत्तै भारत पस्न सफल हुन्छन्।

हेटौंडामा दिदीभिनाजुको घरमा बस्ने उनी राज केशरीको नामले चिनिन्थे। परिवारबाट प्राप्त एउटा फोटो बाहेक प्रहरीसंग अरु केही थिएन्। फरार केशरी नेपाल फर्किएनन् । हेटौंडाको बीच बजारमा भएको घटनाको अपराधी उम्कँदा पीडित परिवारमा थप पीडा थपियो। विन्दावासिनी लगातार न्यायका लागि दवाव दिन्थिन्। तर केशरीको अवस्थाबारे प्रहरी अनविज्ञ थियो।

त्यसपछि पनि देशमा एसिड आक्रमणका थुप्रै घटना भए। उनी एसिड आक्रमणविरुद्धको अभियानमा सक्रिय हुन थालिन्। तर एसिड आक्रमणको घटना ऋंखलाबद्ध भइरहयो। प्रत्येक घटनाले विन्दावासिनीलाई थप पीडा दिन्थ्यो। आफूलाई एसिड छ्याप्ने व्यक्ति समातिएको हेर्न चाहन्थिन् उनी।

तर झण्डै सात वर्षपछि विन्दावासिनीले न्यायको अनुभुति गर्न पाइन्। एसिड छ्यापेर फरार भएका केशरी पक्राउ परे। भारतको गुणगाउँमा बस्दै आएका केशरीलाई प्रहरीले त्यही पुगेर समात्यो । केशरी गुणगाउँमा डेरा गरी बसेका रहेछन्। तीन वर्षअघि विवाह गरेका केशरीको एक वर्षकी छोरीसमेत छिन्।

घटनापछि प्रहरीले केशरीको खोजी नेपाल र भारत दुवैतर्फ गरिरहेको थियो। भारत महाराजगंज अमनपूर्वन ६ का केशरी घटनापछि रक्सौल नाका भएर भारत प्रवेश गरेका थिए। आफ्नो प्रेम प्रस्ताव स्विकार नगरेको भन्दै विन्दावासिनीमाथि एसिड छ्यापेर केशरीले आक्रोश पोखेका थिए। विन्दावासिनीलाई एसिड छ्यापेर डेढ घण्टामै भारत पसेका उनी साढे ६ वर्षपछि समातिएका हुन्।

केशरी हेटौंडाबाट मोटरसाइकलमा रक्सौलसम्म पुगेका थिए। मोटरसाइकल चलाएर उनलाई रक्सौल पुर्‍याउने व्यक्ति भने केशरी समातिएपछि फरार रहेको प्रहरीले बताएको छ। रक्सौलबाट आफ्नो घर गएका केशरी त्यस यता भारतको विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए। नेपाल प्रहरीले भारतीय प्रहरीको सहायतामा उनको खोजी गरिरहेको थियो।

घटनाअघि केशरीको हेटौंडामा दिदीभिनाजुको घरमा बस्थे । बाराको कलैयामा पनि उनको आफन्त छन्। घटनापछि नेपालमा रहेका आफन्तसंग उनले सम्पर्क गरेनन्। उनी भारतमै लुकेर बसिरहे र प्रहरीले उनको खोजी गरिरहयो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यस घटनामा विशेष चासो देखाउँदै आएका थिए। विन्दावासिनीमाथि एसिड प्रहार हुँदा खनाल अञ्चल प्रहरी कार्यालय वीरगन्जमा प्रहरी वरिष्ठ उपरीक्षक थिए। हेटौंडा उनकै कार्यक्षेत्रभित्र थियो। केशरीलाई पक्राउ गर्न उनले अनेक उपाय लगाउँदै आएका थिए। तर सफलता भने पाएका थिएनन्।

प्रहरीले २० दिनअघि मात्रै केशरीको अवस्था बारे पत्ता लगाएको थियो। केशरी गुणगाउँमा डेरा गरी बस्ने र कुरियर अफिसमा काम गर्ने गरेको जानकारी प्रहरीले पायो। उक्त व्यक्ति केशरी रहे नरहेको पत्ता लगाउन प्रहरी निकट व्यक्ति उनी नजिक पुगे। उनको फोटोसमेत खिचे। नजिकबाट खिचिएको फोटो उनकै रहेको खुल्न आएपछि नेपाल प्रहरीका नायब निरीक्षक सागर शमशेर राणा नयादिल्ली हुँदै गुणगाउ पुगे। राणाले भारतीय प्रहरीको सहायतमा केशरीलाई उनको डेराबाटै पक्राउ गरे। राणा बाराको जीतपुरस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज हुन्।

भारतबाट भारतीय नागरिकलाई पक्राउ गरी नेपाल ल्याउन असम्भव झै मानिन्छ। कुनै पनि देशका प्रहरीले आफ्नो देशको नागरिक अन्य देशका प्रहरीलाई सुपुर्दगी गर्दैनन्। केशरीको हकमा पनि यस्तै थियो। तर भारतीय प्रहरीलाई अनुरोध गर्दै उनीहरुकै सहयोगमा राणाले केशरीलाई गुणगाउँबाट लखनउ, मुजफरपुर, रक्सौल हुँदै हेटौंडा ल्याए। केशरीलाई पक्राउ गर्न राणा एक्लै दिल्ली पुगेको प्रहरी स्रोतबाट बुझिएको छ। राणाले डेढ वर्षदेखि एडिस प्रहार घटनाको अनुसन्धान गर्दै आएका थिए।
केशरी पक्राउ परेपछि प्रहरीले पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरिसिकेको छ। केशरीलाई पक्राउ गरेपछि न्यायको अनुभूति गरेकी विन्दावासिनीले कडाभन्दा कडा कारवाहीको माग गरेकी छिन्। एसिड आक्रमणको घटनापछि विन्दावासिनीको उपचारमा ८० लाखभन्दा बढी भारतीय रुपैयाँ खर्च भएको पीडित परिवारको भनाइ छ।

Facebook Comments

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds