सिन्धुपाल्चोकको बस दुर्घटनामा १७ को मृत्यु, घटनास्थलमा दर्दनाक अवस्था [भिडियो]

सिन्धुपाल्चोकको बस दुर्घटनामा १७ को मृत्यु, घटनास्थलमा दर्दनाक अवस्था [भिडियो]

sukute acc

सिन्धुपाल्चोकको सुकुटेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो ।

मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको उनले बताइन् । उनका अनुसार मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५०-५१ वर्षीया रक्तकुमारी रावत छन् । त्यस्तै, धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् ।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्दार कार्यमा खटिएका थिए । नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकाल्ने प्रयास भइरहेको जनाइएको छ । प्रहरीका अनुसार बस सडकबाट ३५ मिटर तल खसेको थियो ।

चालकको लापरबाही !

https://www.facebook.com/gandaknews/videos/363522977741312/

बस दुर्घटनाको कारण चालकको लापरबाही भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कालोपत्रे सडक भए पनि घुम्ती र साँघुरो स्थानमा पनि तीब्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रारम्भिक निष्कर्ष छ ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले चालकले संयमित भएर सवारी चलाएको नदेखिएको बताए । उनले भने, ‘घुम्ती र साँघुरो बाटोमा होसियारीपूर्वक सवारी चालाउनुपर्नेमा तीब्र गतिमा चलाइएको देखिन्छ ।’ उनले सवारी चालकलाई लक्षित गरेर सचेतनामुलक अभियान निरन्तर चलाइए पनि ‘स्टेरिङ’मा पुग्नेवित्तिकै चालकले ती कुरा भुल्ने गरेको गुनासो गरे । यद्यपि, प्रहरीले सवारी चालकको बयान लिइसक्न भने भ्याएको छैन ।

रक्ताम्मे अवस्थामा चालकको उद्दार गरिएको थियो । तर, प्रारम्भमा स्वास्थ्य उपचार नै महत्वपूर्ण हुने भएकाले अहिले बयान नलिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एक अधिकृतले बताए । दुर्घटनाका एक घाइतेको बयानले दुर्घटनामा परेको बा २ ख ७२४५ नम्बरको बसमा यात्रिन्क समस्या पनि हुनसक्ने देखिन्छ । घाइते निराग श्रेष्ठले बनेपा अस्पतालबाटबयान दिँदै दुर्घटनाको पाँच मिनेटअघि गाडी विग्रिएको बताए । उनले भने, ‘चक्का कि के छोयो भनेर बनाउन लागेको थियो । त्यतिवेला पेच थिएन रे । पछि बनाएर हिँड्यौं ।’

श्रेष्ठले घटनाबारे यसरी वेलिविस्तार लगाएका छन्ः–

दुर्घटनाभन्दा अगाडि पनि गाडी विग्रिँदा खेरि चक्का कि के छोयो भनेर बनाउन लागेको थियो । त्यतिवेला पेच थिएन रे । त्यो पांग्राको भन्थ्यो । पछि आधा बनाएर हिँड्यौं । खाना खाएर हिँड्ने वित्तिकै ५ मिनेट जति हिँडेपछि घच्याक्क गर्‍यो । अनि, सबै गन्ट्याङ् गुन्टुङ्ग पस्यौं ।

दुर्घटना स्थलबाट म उठ्दा एक जना बच्चा छेऊ मरेको थियो । अरु सानो सानो बच्चाहरु गाडीमाथि रोइरहेका थिए । मेरा साथीहरु चाहिँ निस्किँदै थिए । कोहीलाई बगाइरहेको थियो । बगाइ रहेकाहरुलाई र्‍याफिटिङबाट आएकाले निकालिरहेका थिए ।

पहिले सुरुमा धेरै चोटपटक भएकालाई पठाइदियो । हामी चाहिँ अलिकम घाइते भएकाले दोस्रो पटक एम्बुलेन्समा हालेर पठाइएको थियो । हामी दोलखाको देउरालीबाट काठमाडौंका लागि बसमा बढेका थियौं ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds