महराले दिए दोस्रो राजीनामा, त्यागेनन् सांसद पद, सांसद नत्यागे पार्टीले हटाउने

महराले दिए दोस्रो राजीनामा, त्यागेनन् सांसद पद, सांसद नत्यागे पार्टीले हटाउने

mahara

काठमाडौं । बलात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले दोस्रो राजीनामा पत्र उपसभामुखलाई बुझाए तर उनले दोस्रो राजीनामा पत्रमा पनि सांसद भने त्यागेनन्। संसद सचिवालय स्रोतका अनुसार महराले मंगलबार दिएको राजीनामा पत्र सच्याउँदै अर्को राजीनामा पत्र बुझाए । उनले हिजोकै मितिमा राजीनामा पत्रको व्यहोरा सच्याएर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई दिएक । महराले मंगलबार ‘छानबिन प्रक्रिया नसकिंदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए। तर उनले नयाँ राजीनामा पत्रमा भने त्यो वाक्य हटाएका छन्।

स्रोतका अनुसार महराले नयाँ राजीनामा पत्रमा ‘नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भनेर उल्लेख गरेका छन्। उनको राजीनामा सर्तसहितको भएको भन्दै नेकपाकै नेताहरूले आलोचना गरेका थिए। उपसभामुख शिवमाया तुम्बाहाम्फे महराको राजीनामा पत्र बोकेर आएका उनका स्वकीय सचिव सागर केसीलाई सर्तसहितको राजीनामा पत्रमा असन्तुष्टि जनाएकी थिइन्। उनले राजीनामा पत्रको व्यहोरा सच्याउन महरालाई खबर पठाएकी थिइन्।

बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएपनि कृष्णबहादुर महराले अझै सांसद पदबाट राजीनामा दिएका छैनन्। सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न सुझाव दिएको छ। तर महरा भने तत्कालै सांसद पद त्याग्ने मुडमा देखिएका छैनन्। उनले सभामुख पदबाट राजीनामा दिदाँ समेत लटरपटर भाषा प्रयोग गरे। न त उनले संविधानको धारा उल्लेख गरेका छन्। न त राजीनामा सभामुख पदबाट दिएको वा सांसद पदबाट दिएको नै खुलाएका छन्।

महराले नयाँ राजीनामा पत्र बुझाएपछि संघीय संसद सचिवालयले राजीनामाको सूचना टाँसेको छ। महराले सांसद पदबाट राजीनामा नदिए राजनीतिक दलसम्बन्धी ऐनको दल त्यागसम्बन्धी व्यवस्थामार्फत् महरालाई हटाउने चेतावनी नेकपाले दिइसकेको छ।

महराले राजीनामा दिएसँगै उनको नाम संघीय संसद सचिवालयको वेवसाइटबाट समेत हटाइएको छ। महराले सांसद पदबाट मुक्त हुन फेरि अर्को राजीनामा दिनु पर्ने नेकपाका एक नेताले बताए। ‘उहाँले सांसद पदबाट पनि राजीनामा दिनुपर्छ। नदिए पार्टीले उहाँलाई सांसदको हैसियतमा व्यवहार गर्दैन,’ उनले भने। महराले सांसदबाट पनि उपसभामुख तुम्बाहाम्फेलाई नै राजीनामा बुझाउनु पर्छ। सभामुख पदको राजीनामा कसैले स्वीकृत गर्न नपर्ने भए पनि सांसदको राजीनामा उपसभामुखले स्वीकृत गर्नु पर्ने हुन्छ। महरा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा दाङ-२ बाट निर्वाचित भएका थिए।

‘पार्टीले छानबिनमा सहयोग होस् भनेर सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको हो,’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘सांसद रहिरहँदा पनि छानबिनमा असर पर्छ भनेर राजीनामा दिन भनिएको हो।’ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले राजीनामा दिन सुझाव दिनुअघि महरासँग टेलिफोनमा कुराकानी गरेका थिए।

 महराले फोनमा अध्यक्षद्वयलाई आफूले कुनै महिलालाई भेट्न नगएको बताएका थिए। जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले, ‘विज्ञप्तीबाटै थाहा भयो नि’ भन्दै जवाफ फर्काएका थिए। महराले आफू आरोप लगाउने महिलालाई भेट्न नगएको बताए लगत्तै ओलीले व्यङ्ग्य गर्दै ‘सुरक्षाकर्मीहरुबाट थाहा भयो’ भन्ने जवाफ दिएका थिए।

नेकपाका एक सचिवालय सदस्यले महरालाई सांसदको हैसियतमा पार्टीले नचिन्ने बताए। ‘उहाँ अब संसदीय दलको बैठकमा निम्त्याइनु हुन्न। किनभने दलले उहाँलाई चिन्दैन’, ती नेताले भने, ‘उहाँले कहाँ राजीनामा दिने भन्ने थाहा नपाएकाले सांसद पदबाट राजीनामा नदिनु भएको होला।’

महराले राजीनामा नदिए उनलाई राजनीतिक दल सम्बन्धी ऐनको दल त्याग सम्बन्धी व्यवस्था मार्फत् हटाउने तयारी नेकपाको छ। ऐनको दफा ३२ मा दलको केन्द्रीय समितिले कुनैपनि सदस्यलाई दलबाट निस्कासन गर्न सक्ने व्यवस्था रहेको छ। यसरी निस्कासन गरेपछि उनको सांसद पद गुम्नेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds