विन्ध्यवासिनी मन्दिर परिसरमा विगतका वर्षमा झैँ यसवर्ष पनि नवदुर्गा महोत्सव आयोजना गरिने भएको छ । साँस्कृतिक सद्भावको अभिवृद्धि, धर्म संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक पर्यटनको विकासका लागि विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा तथा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ आयोजना गरी महोत्सव गरिने समितिले जनाएको छ ।
विजयादशमीको दिन प्रारम्भ भएर घटस्थापनाका दिन असोज १२ गते नवदुर्गा शोभात्रा निकालिने र घटस्थापनादेखि नवमीका दिनसम्म भागवत ज्ञान महायज्ञ गरिने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विजयादशमी अवधिभर मन्दिरमा बिहान ४ बजेटबाट नित्य पूजा आरम्भ गरी बिहान ५ बजेदेखि भक्तजनलाई दर्शनको लागि मन्दिर खुला गरिने र प्रत्येक साँझ ६ बजेबाट आरती गरिने छ । समितिले मन्दिरमा रहेका विभिन्न देवदेवीको पर्व विशेषमा पुजनोत्सव, अनुष्ठान, कथा प्रवचन तथा योग शिविरका आयोजना गरी धर्म, संस्कृति र आध्यात्मिक जागरणको कार्य गर्दै आइरहेको जनाएको छ ।
भक्तजनले चढाएको भेटीमा वर्षौदेखि पूजारीको हकभोग रहदै आएकोमा अघिल्लो वर्ष विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पूजाआजा गर्दे आएका पूजारीलाई करार सम्झौता गरी मासिक तलबमा नियुक्त गरेर भेटी आफै सङ्कलन गर्न शुरु गरी एकै वर्षमा रु दुई करोड ७० लाख आम्दानी भएको छ ।
शुरुमा समितिको निर्णय विरुद्ध अदालत पुगेका पूजारी आफ्नो पक्षमा अदालतको निर्णय नआएपछि बाध्य भएर मासिक तलब लिने गरी काम गर्न तयार भएका थिए । सरकारले विसं २०७२ कात्तिक २ गते मठमन्दिरका भेटी व्यवस्थापन निर्देशिका जारी गरेर मठमन्दिरको भेटी मन्दिर धार्मिक क्षेत्र विकास समितिको मातहतमा ल्याउन शुरु गरेको थियो ।
झण्डै २ सय वर्षबाट विन्ध्यवासिनी मन्दिरमा भेटीवापत सङ्कलन हुने नगद तथा जिन्सी पूजारीले लिने गरेका थिए । भेटी व्यवस्थापन निर्देशिका अनुसार समितिले विन्ध्यवासिनी तथा गणेश मन्दिरमा दैनिक पूजाआजा सञ्चालन गर्न १५ जना पूजारीलाई करार नियुक्त गरेको छ ।
पूजारीबाट भेटी समितिको मातहतमा आएको पहिलो आर्थिक वर्ष २०७५/७६ मा समितिको रु तीन करोड आम्दानी भएकोमा रु दुई करोड ७० लाख भेटीबापत र बाँकी मन्दिरको सटर भाडालगायतकोे रहेको समितिका सचिव तीर्थ श्रेष्ठले बताए । पूजारीले मासिक रु १५ देखि रु ३५ हजारसम्म तलबमा काम गर्दै आएको बताइन्छ ।
मन्दिरमा दर्शनार्थीले श्रद्धाले चढाउने भेटीबापतको नगद तथा सुनचाँदीमा समितिको पहुँच नहुँदा मन्दिरमा पूर्वाधार निर्माणलगायतका कार्य गर्दा सहयोगीको हात थाप्नुपर्ने बाध्यता रहेकोमा हाल मन्दिरको आम्दानी वृद्धि भएपछि समितिले आफ्नै स्रोतमासमेत निर्माणका काम गरेको श्रेष्ठले बताए ।
उनले भने, “विगतमा हाम्रो आम्दानीको स्रोत थिएन । पूजा सञ्चालन गर्न पनि सहयोगको हात थाप्नुपर्ने अवस्था थियो । अहिले मन्दिरमा चढेको भेटिबाट मन्दिर परिसरमा सुधारका काम गरेका छौँ ।” विसं २०४३ मा स्थापना भएको समितिले शिव मन्दिर, राधाकृष्ण मन्दिर, सन्त निवास, विन्ध्यवासिनी गुरुकूल विद्याश्रम भवन, बहुउद्देश्यीय सभाहल, अखण्ड हबन मण्डप, अष्टचिरञ्जीवी नवग्रह मन्दिर तथा यज्ञ मण्डपको निर्माण गरिएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए ।
त्यसैगरी मन्दिर परिसरमा ढुङ्गा छाप्ने, जलधारा, कीर्तिस्तम्भ, विशाल त्रिशूल र शक्ति ध्वजाको स्थापनाका साथै विन्ध्यवासिनी र गणेश मन्दिरमा पित्तलद्वारा कलात्मक सजावट र पित्तलकोद्वार निर्माण गरिएको समितिले जनाएको छ । विन्ध्यवासिनीमा वैदिक गुरुकूल विद्याश्रम भवन तथा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको शिलान्यास भएर काम भइरहेको छ ।
मन्दिर परिसरमा ज्येष्ठ नागरिक, अशक्त तथा असाहायको लागि विद्युतीय भर्याङ सञ्चालनमा ल्याइएको छ । गतवर्ष फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीले भर्याङ शुभारम्भ गरेपछि ज्येष्ठ नागरिकलेसमेत सहज रुपमा मन्दिर दर्शन गरेका छन् ।
समितिले ७० वर्ष माथिका नागरिक, अपाङ्ग, अशक्त तथा गर्भवती महिलाका लागि निःशुल्क भर्याङको व्यवस्था गरेको छ भने नेपालीका लागि रु ५० र विदेशीका लागि रु १ सय लिने गरिएको छ ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ