लुटपाटमा संलग्नमध्येका ३ जनाले प्रहरीतर्फ नै पेस्तोल ताक्दै ‘ज्यादा होशियारी मत करन भनेपछि ……

लुटपाटमा संलग्नमध्येका ३ जनाले प्रहरीतर्फ नै पेस्तोल ताक्दै ‘ज्यादा होशियारी मत करन भनेपछि ……

Danku_arrest_janakpur

जनकपुरधाम–   स्थानीय तह (गाउँपालिका र नगरपालिका)का कार्यलयमा आगजनी हुने घटना बढेपछि प्रहरीले स्थानीय तहका कार्यालयलाई केन्द्रित गरेर  बिहीबार बिहान साढे ३ बजेतिर प्रहरीको गस्ती टोली  सुरक्षा सतर्कता बढाएको थियो । उपमहानगरपालिकाको कार्यालय नजिक पुग्नेवित्तिकै प्रहरीको गस्ती टोली ‘अलर्ट’ भयो ।

उपमहानगरपालिकाको गेट नजिकै कसैले केही चिजमा ठोकेको जस्तो आवाज आइरहेको थियो । गस्ती टोलीको आकलन थियो– कसैले उपमहानगरपालिकाको कार्यालयमा आक्रमण गर्न लाग्यो ।

तर, गेट नजिक पुग्नेवित्तिकै प्रहरी टोलीको आकलनले फेल खायो । आक्रमण उपमहानगरपालिकामा हैन, बरु उपमहानगरपालिका कार्यालयको गेटसँगै रहेको फर्निचर पसलमा भएको रहेछ । उपनगरपालिकाको गेट अगाडि रहेको दिपक बजाज र अमित अग्रवालको जानकी फर्निसिङ (फर्निचर) हाउसको सटरको ताला तोडिएको देखियो । सटरको ताला तोडेकाहरु पसलको भित्रै थिए । उनीहरु पसलको सेफ पोडेर नगद निकाल्ने प्रयास गर्दै थिए । प्रहरीले चेतावनी दिन ९ एमएमको पेस्तोलबाट १ राउण्ड गोली चलायो । चोरीमा संलग्नमध्ये १ जना हात उठाउँदै प्रहरीतर्फ आए । गस्तीमा रहेकामध्ये २ जना प्रहरीले उनलाई नियन्त्रणमा लिए । प्रहरीको ध्यान हात उठाएर आएका व्यक्तितर्फ केन्द्रित भएको थियो– लुटपाटमा संलग्नमध्येका ३ जनाले प्रहरीतर्फ नै पेस्तोल ताके ।

१ जनाले पेस्तोल ताक्दै ‘ज्यादा होशियारी मत करना…’ भन्दै थिए । २ जना व्यक्ति त्यहाँबाट भाग्न खोजे । गस्तीमा रहेका प्रहरीले गोली ताक्ने व्यक्तिकै खुट्टामा गोली हानी दिए । प्रहरीको गोली लागेर पेस्तोल ताकिरहेका व्यक्ति भूइँमा ढले । भाग्न खोजेका अन्य २ जनालाई पक्राउ गर्न पनि प्रहरीले थप २ राउण्ड गोली चलायो । फर्निचर पसल तोडेर नगद लुटपाटमा संलग्न ४ जना नै पक्राउ परे ।

पक्राउ पर्नेमा भारतीय राज्य विहारको सितामढीको पिप्राढी इसलामपुर बस्ने ४७ वर्षीय मोहम्मद इलयास, सोही ठाउँका ३९ वर्षीय ओजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका–१ रमौली बैरिया घर भएका ३५ वर्षी गगन पटेल र रौतहटको गौर नगरपालिका–४ का ४५ वर्षीय विनोद प्रसाद सिंह छन् । प्रहरीका अनुसार रौतहटको गौर घर भएका विनोदको खुट्टामा गोली लागेको छ । उनको जनकपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली २ राउण्ड बरामद गरेको छ । उनीहरुसँग ताल्चा काट्न प्रयोग हुने (कटर) १ थान र १ थान ‘ठूलो पेचकस’ पनि बरामद भएको छ ।

प्रहरीका अनुसार उनीहरुले फर्निचर पसलबाट लाखौं लुटपाट गर्ने योजना बनाएका भए पनि सफल हुन सकेनन् । नगद राखिएको सेफ फुटाउन नपाउँदै प्रहरीको टोली पुगेका कारण फर्निचर पसलको रकम जोगिएको छ । साथमा पेस्तोल बोकेर लाखौं लुट्ने योजनाका साथ हिँडेका उनीहरुको साथबाट नगदका रुपमा नेपाली रुपैयाँ १० का ७ नोट फेला परेका छन् । प्रहरीले पक्राउ परेका चारै जनामाथि संगठित अपराध, डाँका तथा चोरी र हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds