पोखरामा २५ करोडको लगानीमा बायो ग्यास उद्योग सञ्चालनमा

पोखरामा २५ करोडको लगानीमा बायो ग्यास उद्योग सञ्चालनमा

Gandaki Urja

पर्यटकीय नगरी पोखरामा गण्डकी ऊर्जा प्रालिले बायो ग्यासको व्यावसायिक उत्पादन सुरू गरेको छ । २५ करोडको लगानीमा स्थानीयसहितका १४ युवा व्यावसायीको संयुक्त लगानीमा बायो ग्याँस उद्योग सञ्चालनमा आएको हो ।

पोखरा महानगरपालिका–३२ मझुवामा स्थापित कम्पनीले हाल दैनिक १ सय सिलिन्डर ग्याँस उत्पादन गरिरहेको छ । कम्पनीले ४५ टन फोहोर प्रशोधन गरी दैनिक २ सय सिलिण्डर बायो ग्यास उत्पादन गर्ने कम्पनीको योजना छ। कम्पनीले ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार १ सय ५९ रुपैयाँ तोकेको छ ।

कम्पनीबाट उत्पादित बायाे ग्यास बजारमा पाइने एलपी ग्यासभन्दा बढी प्रज्वलनशील, सस्तो र वातावरणमैत्री रहेको कम्पनीकाे दाबी छ ।स्थानीय युवा उद्यमी मिलेर प्लान्टको निर्माण गरेको गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङले बताए । उनका अनुसार प्लान्टमा अहिले गाईभैंसीको गोबर, कुखुराको सुली र बंगुरको खोरबाट निस्किएको फोहोरलाई कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ ।

प्लान्टबाट उत्पादन हुने ग्यास स्थानीय उद्योग र रेष्टुरेन्टमा खपत हुने उनले बताए । ‘घरायसी प्रयोजनमा खपत गर्ने हो भने ८ हजार घरधुरीमा प्लान्टको ग्यास वितरण गर्न सकिन्छ,’ उनले भने, ‘नेपालमा घरघर पुर्‍याउनुपर्ने पाइप लाइन विस्तार गर्नेबारे सरकारको स्पष्ट नीति नभएका कारण दैनिक उत्पादन हुने ग्यास सिलिण्डरमा भरेर बिक्री गर्न थालेका छौं,’ उनले भने । ग्यास उत्पादनसँगै प्लान्टबाट दैनिक १२ देखि १४ टन मल पनि उत्पादन हुने उनको दाबी छ ।

सञ्चालक गुरुङका अनुसार अहिले दैनिक ५/६ टन मात्र जैविक मल उत्पादन हुने गरेको छ । मल बिक्रीबाट पनि गण्डकी ऊर्जाले थप आम्दानी गर्नेछ । प्लान्ट सञ्चालन गर्न महानगरपालिकाबाट दैनिक उत्पादन हुने फोहोरलाई समेत प्रयोग गर्न सकिन्छ । तर, महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याएका कारण प्रयोगमा ल्याउन नसकिएको उनले बताए ।

फोहोर घोल्न तीनवटा ट्याङ्की निर्माण गरिएको छ । सुरूमा गाई, भैंसी, कुखुराको मल, घरबाट निस्कने कुहिने फोहोर र पानीको उचित मात्रा मिलाएर मिक्सिङ ट्याङ्कीमा घोलिन्छ । घोल पाइपको माध्यमबाट डाइजेस्ट ट्याङ्कीमा पठाइन्छ । डाइजेस्ट ट्याङ्कीबाट रेसिड्यू ट्याङ्कीमा पुगेपछि ग्यास पाइपमार्फत फिलिङ स्टेसनमा पठाइन्छ भने मल अर्को ठाउँमा जम्मा गरिन्छ ।

उद्योगका मेकानिकल इन्जिनियर जितेन्द्र रामका अनुसार यो ग्यास प्रकृतिका ज्ववलनशील पदार्थहरू मिथेन, कार्बनडाइअक्साइड र हाइड्रोजन सल्फाइडको मिश्रण हो । ‘यसले जलवायु परिवर्तनलाई रोक्छ र वातावरण स्वच्छ राख्न मद्दत पुर्‍याउँछ,’ उनले भने, ‘त्यसैले यसलाई सफा ऊर्जा अर्थात् क्लिन इनर्जी भनिएको हो ।’

गण्डकी प्रदेशको नवलपुर र स्याङ्जाको नौडाँडामा समेत यस्ता उद्योग गत वर्षबाटै सञ्चालनमा आएका छन् । तर, नेपालकाे बायो ग्यास उत्पादन गर्ने यही उद्योग सबैभन्दा ठूलो भएको कम्पनीको दाबी छ ।सन् २०१६ मा निर्माण थालेर २ महिनाअघि परीक्षण उत्पादन थालेको उद्योगमा अहिले २५ जना कामदार कार्यरत छन् ।

अहिले उद्योगका विभिन्न रेस्टुरेन्ट र उद्योग गरी १० वटा नियमित ग्राहक छन् । पूरा क्षमतामा उत्पादन थालेपछि थप ग्राहकलाई ग्यास उपलब्ध गराइने उद्योगले जनाएको छ ।

  • शिलापत्रबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds