बालुवाटार जग्गा प्रकरण: ललिता निवास जग्गा प्रकरणमा मुछिएका ५८ जना आरोपितलाई अख्तियारको सार्वजनिक सूचना

बालुवाटार जग्गा प्रकरण: ललिता निवास जग्गा प्रकरणमा मुछिएका ५८ जना आरोपितलाई अख्तियारको सार्वजनिक सूचना

akthaira

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका ५८ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर बोलाएको छ। अन्य माध्यमबाट सम्पर्क गर्दा बयानका लागि नआएकाहरुलाई बोलाइएको हो ।

आयोगले बुधवार सरकारी गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरेर उनीहरूलाई सात दिनभित्र सम्पर्क गर्न भनेको छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार व्यक्तिगत तथा अन्य सम्पर्क सूत्रबाट अन्य आरोपितहरू सम्पर्क आएपनि ती ५८ जना व्यक्ति सम्पर्कमा आएका छैनन्।

अनुसन्धानको सिलसिलामा अन्य व्यक्तिहरू पनि थपिन सक्ने सम्भावना रहेको प्रवक्ता कोइरालाले बताए। उनले भने, “यो नै अन्तिम सूची भनेर भन्न सकिँदैन। अनुसन्धान गर्दै जाँदा अरू पनि थपिन सक्छन्।”

प्रकाशित सूचनामा भएका व्यक्तिहरू सरकारी कागजातका आधारमा ललिता निवासको जग्गा किनबेचमा संलग्न देखिएको अख्तियारले जनाएको छ।

फेरि सम्पर्कमा नआए के हुन्छ?

बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कर्मचारी समेतको मिलोमतोमा गैरकानुनी तरिकाले व्यक्तिको नाममा दर्ता गरेको विषयमा आयोगले छानबिन गरिरहेको छ। यसअघि पनि आयोगले ८६ जनाको नामसहित सार्वजनिक सूचना जारी गर्दै सात दिनको म्याद दिएको थियो।

दिइएको म्यादभित्र उपस्थित नभए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी आयोगले दिएको छ। प्रवक्ता कोइरालाले भने, “उनीहरु सम्पर्कमा नआए आयोगको निर्णय बमोजिम हुनेछ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को धारा १९ उपधारा १(ग) अनुसार आयोगमा उपस्थित नहुने व्यक्तिलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई आदेश दिनसक्ने व्यवस्था छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ