पूर्वराजदूत केशव झाको हत्या उनकै सुरक्षा गार्ड सानुकान्छा तामाङ, ५० हजार लेनदेनको विवाद

पूर्वराजदूत केशव झाको हत्या उनकै सुरक्षा गार्ड सानुकान्छा तामाङ, ५० हजार लेनदेनको विवाद

death

पूर्वराजदूत केशव झाको हत्या गरेको आरोपमा प्रहरीले झाकै घरमा सुरक्षा गार्डका रुपमा काम गरेका काभ्रेका कान्छाराम तामाङलाई पक्राउ गरेको थियो । सुरक्षा गार्ड सानुकान्छा तामाङले ५० हजार लेनदेन विवादका कारण गरेको निष्कर्षतिर प्रहरी पुगेको छ।  भदौ १ गतेदेखि अनुसन्धानमा जुटेको महानगरीय प्रहरी परिसरले झाको हत्याको अनसन्धान अन्तिम चरणमा पुगेको भन्दै त्यसमा सानुकान्छाकै हात रहेको जनाएको हो। ‘उनीहरूबीच लेनदेन विवाद देखिन्छ, त्यो विवाद बारम्बार हुँदै हत्यासम्म पुगेको अनुसन्धानले देखाउँछ,’ परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले भने, ‘हत्यामा अन्य कुनै बाहिरका व्यक्तिहरूको संलग्नता पुष्टि हुन सकेन।’

यही निस्कर्षसहित तामाङविरूद्ध मुद्दा चलाउन मिसिल सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भैरहेको उनले जानकारी दिए। झा हत्याको अनुसन्धानबारे केही समयमै प्रहरीले विस्तृत जानकारी दिने उनले बताए।बोगटीका अनुसार तामाङले झाबाट पचास हजार रुपैयाँ ऋण लगेका थिए। उक्त पैसा समयमा फिर्ता नगरेको भन्दै झाले तामाङलाई गालीगलौज गर्ने गरेका थिए।

त्यसमा विवाद हुँदा ‘१२ वर्ष काम गरेँ, पचास हजार पनि नदिने?’ भन्दै सानुकान्छाले आक्रोश पोख्दै आएका थिए। ‘लामो समयसम्म काम गरे पनि तलबलगायत सेवा सुविधा नबढेको भन्दै सानुकान्छा झासँग रिसाउने गर्थे,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने। फ्रान्सका लागि पूर्वनेपाली राजदूत झाले १२ वर्षअघि सानुकान्छालाई बडिगार्ड राखेका थिए। उनको तलबबारे दुई पक्षबीच विवाद रहँदै आएको छ। अनुसन्धान अनुसार तामाङले आफ्नो तलब मासिक १४ हजार रुपैयाँ भनेका छन्। तर, झा परिवारले भने १६ हजार रुपैयाँ दिँदै आएको दाबी गरेको छ।

‘हामीले व्यापक रुपमा अनुसन्धान गर्‍यौं, अन्तिम चरणमा आएको छ। हुनुपर्ने सबै सबुत प्रमाण छन्,’ बोगटीले भने, ‘तलबमा पनि विवाद रहेको अनुसन्धानमा देखिन्छ।’ गत वर्ष भदौ ४ गते बिहान आफ्नै निवासमा झा मृत फेला परेका थिए। उनीमाथि चक्कु प्रहार गरिएको थियो। उनको घाँटीमा गहिरो चोट लागेको थियो।

झालाई कसले किन हत्या गर्‍यो? भन्ने पाटोबाट अनुसन्धान थाले पनि प्रहरीले कसैलाई कठघरामा उभ्याउन सकेको थिएन। हत्यालगत्तै काभ्रेका उनै सानुकान्छा पक्राउ परेका थिए। ‘शंकास्पद’ भन्दै पक्राउ गरिएका तामाङलाई एक वर्षपहिले ‘अभद्र व्यवहार’मा मुद्दा चलाइएको थियो। झाको हत्यामा संलग्न भएको आशंकामा एक वर्षपछि प्रहरीले फेरि भदौ १ गते सानुकान्छालाई पक्राउ गरेको थियो। झाको परिवारले तामाङविरूद्ध किटानी जाहेरी दिएपछि फेरि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। ‘किटानी जाहेरी आएपछि अनुसन्धानका लागि सानुकान्छालाई पक्राउ गरी अनुसन्धान थालिएको थियो,’ परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले भने, ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ, हामी छिट्टै बाहिर ल्याउँछौं।

अनुसन्धानमा देखिएको दोषी सानुकान्छा नै हो।’ तामाङ दोस्रोपटक पक्राउ पर्नुअघि झा हत्याको अनुसन्धान महानगरीय अपराध महाशाखाले गरिरहेको थियो। सानुकान्छा पक्राउसँगै महाशाखाले हत्या अनुसन्धानको फाइल परिसरलाई बुझाएको थियो। झाको हत्या कसले र किन गर्‍यो भन्नेमा अनुसन्धान गर्दा दृश्यमा सानुकान्छा नै देखिएको एक प्रहरी उपरीक्षक सिंहले बताए।

झा हत्याको अनुसन्धानका क्रममा महाशाखाले बबरमहल आसपासका तीन सयभन्दा बढी व्यक्तिलाई सोधपुछ गरिएको थियो। तथापि, हत्यारा घरमै छिर्दासमेत कसैले थाहा नपाएको पत्ता लागेको थियो। यसकारण पनि झाको हत्या ‘रहस्यमय’ बन्दै आएको छ।
झाको हत्या आर्थिक कारणले हो कि भन्ने पक्षबाट पनि अनुसन्धान भयो। उनका बैंक खाता तथा स्टेटमेन्ट हेरिएको थियो। तर, यो पाटोबाट हत्याको कुनै कारण पत्ता लाग्न सकेको थिएन। झा सन् १९९३ देखि १९९७ फ्रान्सका लागि नेपाली राजदूत थिए। ८० वर्षीय उनी श्रीमतीसँग बबरमहलमा बसिरहेका थिए।

प्रहरीका अनुसार बाहिरबाट कोही पनि छिरेको प्रमाण भेट्न नसकिएकाले झाको घरभित्रैबाट भएको हो। र, किटानी जाहेर पनि आएपछि सानुकान्छा अनुसन्धानमा फेरि तानिएका हुन्।

प्रहरी अधिकारीका अनुसार झाको घरमा दुई वटा गेट छन्। जसमध्ये पश्चिम ढोका प्राय: खुल्थ्यो। घटना भएको रात पूर्व र पश्चिमका दुवै ढोका बन्द थिए। ‘बन्द ढोकाबाट भित्र छिरेर कोठैसम्म गई कसले हत्या गर्‍यो? अनुसन्धान यसैमा केन्द्रित थियो,’ एक अनुसन्धान अधिकृतले भने, ‘त्यसकारण भित्रै केही गडबड हुनुपर्छ भन्ने आँकलन थियो।’

झाको हत्या हुँदा उनकी श्रीमती सुत्ने कोठाको झ्यालको जाली काटिएको भेटिएको थियो। त्यही झ्यालबाट हत्यारा छिरेको हो कि भन्नेतर्फ अनुसन्धान गर्दा उनकी श्रीमतीले पत्तै नपाएको बयान प्रहरीमा दिएकी थिइन्। घरको कुकुर नभुकेको, झ्याल काट्दा श्रीमतीले थाहा नपाएकोजस्ता अनुत्तरित विषयले हत्या अनुसन्धान पेचिलो बन्दै आएको थियो।

यस्तै, हत्या गर्ने पूर्वयोजना रहेको र त्यसैअनुसार घटना गराइएको प्रहरीको बुझाइ छ। ‘हत्या गर्ने व्यक्तिले घरबाट अन्य कुनै चिज नचलाइकन हत्यामात्रै गरेकाले मनसाय हत्या मात्रै रहेको बुझ्न सकिन्छ,’ ती अधिकृतले भने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ