के राजसंस्था फर्किएला ?

के राजसंस्था फर्किएला ?

rajsasta

नेपालमा राजसंस्था फर्काउने अथवा फर्कने मामिला सार्वजनिक विवादको विषय भएको छ । यो राजनीतिक विषय भएकाले राजनीतिमा सक्रिय रहेकाहरुले नै यसमा रुचि लिएर आआफ्ना विचार पोखिरहेका छन् । यसका पक्षधरहरुले राजसंस्था फर्काउने र फर्कन सक्ने तर्क दिइरहेका छन् भने विपक्षीहरुले यसको सम्भावना नरहेको तर्क दिइरहेका छन् । कतिपयले नेपाली जनताले चाहेरै यसको अन्त्य गरिएकोले उनीहरुले चाहे फर्कन सक्ने भनिरहेका छन् ।

नेपालको राजसंस्था आफ्नै गल्तीबाट गएको हो, विदेशीहरुको षड्यन्त्रबाट गएको हो या नेपाली जनताले चाहेर गएको हो भन्ने आजसम्म पनि एकिन हुन सकेको छैन । राजसंस्था गएको १० – १२ वर्षमात्र भएको र त्यसबेलाको पुस्ता जिउँदो भएकोले यसबारेमा आआफ्ना धारणन सुनिने गरेको हो । त्यसमा पनि नेपालका आखिरी राजा नै जिउँदै छन् । तैपनि यसको अन्त्य किन र कसरी भयो भनेर कसैले ठम्याउन सकेको छैन । नेपाली जनता २०६२ सालमा राजतन्त्र विरोधमा उठेका हुन् तर यसको अन्त्य भने उनीहरुकै चाहनाअनुसार भएको भनेर ठोकुवा गर्ने आधार छैन ।

विसं २०७६ सालमा राजतन्त्र फर्कने कि नफर्कने भन्ने विवाद भने बितेका १० – १२ वर्षको गणतन्त्रको अनुभवले उठाएको हो । गणतन्त्र लोकप्रिय हुँदै गएको भए र यस व्यवस्थाअन्तर्गतका सरकारले जनतालाई चिढाउँदै नलगेको भए यसको चर्चा जसरी भइरहेको छ त्यसरी हुने थिएन । यो एउटा इतिहासको पानामा हराउने थियो र नेपालीहरुले यसलाई अध्ययनको विषयमात्र बनाउने थिए । तर, आज त्यतिमा सीमित छैन । यो ‘जीवन्त संस्था’का रुपमा अझै खडा छ । त्यसैले यसको पुनरागमन सम्भव देखिएको हो र यसबाट गणतन्त्रवादी तर्सिएका हुन् । विडम्बना, सत्ता बाहिर परेका (तत्कालीन) राजा नडराउने तर सत्तामा बसेका गणतन्त्रवादी डराउने । यसको एउटै कारण हो गणतन्त्रात्मक व्यवस्थाबाट असन्तुष्टि र राजतन्त्रको प्रतिनिधित्व गर्ने (तत्कालीा) राजाप्रति जनताको चाहना र झुकाव बढ्दै जानु ।

यसै पृष्ठभूमिमा राजनीतिक विवाद वैज्ञानिक क्षेत्रमा पनि फैलिन पुगेको छ । सरकारका प्रवक्ताले राजतन्त्र फर्कने कुरा उति नै असम्भव छ जति डाइनासोरको पुनरागमनको भने । हुन पनि आजकल डाइनासोरलाई कसैले दैनिक जीवनमा सम्झँदैनन् । किनभने यसको नाश एक करोड वर्षअगाडि नै भइसकेको थियो । हुन त यो विशालकाय जन्तु यो संसारमा १४ करोड वर्षसम्म जीवित रहेको विश्वास गरिन्छ । तर, पृथ्वीमा एउटा प्रलय भएर यसको विलय भएको वैज्ञानिकहरु विश्वास गर्छन् । यसको आकार संसारका नामी म्युजियमहरुमा देख्न पाइन्छ ।कतै यसका हाडखोरहरु जोडेर यसको विशाल कायाको प्रदर्शन गरेका हुन्छन् भने कतै बनावटी डाइनासोरको प्रदर्शनी देख्न पाइन्छ । डाइनासोर कस्ता हुने गर्थे भनेर ‘जुरासिक पार्क’ भन्ने एउटा चलचित्र पनि बनाइएको छ । यो चलचित्र संसार भर नै खुबै चल्यो र यसका निर्माताले मनग्य पैसा पनि कमाए ।

हाम्रो संदर्भमा राजतन्त्रसित डाइनासोरको अन्त्यको तुलना गरिएको छ । डाइनासोरजस्तै राजतन्त्र पनि कहिले नआउने गरी विलय भइसकेको छ भन्ने सन्देश दिन यस्तो अभिव्यक्ति आएको हुनुपर्छ । तर, त्यो कुरा विज्ञानसित अलि मेल खाँदैन । किनभने विज्ञानले डाइनासोरलाई पुनर्जीवन दिनै सकिन्न भनेको छैन । वैज्ञानिकहरु अगाडि दुइटा प्रश्न खडा भएका छन् – एउटा, के डाइनासोरलाई पुनर्जीवन दिन सकिन्छ ? अर्को, के डाइनासोरजस्तो जन्तुलाई पुनः जीवित पार्नु उचित हुन्छ ? पहिलो प्रश्नको उत्तरको खोजी गर्दा वैज्ञानिकहरु डाइनासोरलाई पुनर्जीवन दिन सकिन्छ भन्ने निष्कर्षमा पुगे ।

यसको आधार उनीहरुले संसारका केही यस्ता किरा र चरामा फेला पारे जस्को डीएनए डाइनासोरसित मेल खान्छ । उनीहरुको डीएनएबाट डाइनासोरलाई जगाउन सकिन्छ । तर, यसलाई दोस्रो प्रश्नले थिचेर राखेको छ । किनभने उनीहरुले डाइनासोरलाई पुनर्जीवन दिनुमा कुनै औचित्य पाएका छैनन् । वैज्ञानिकले एउटा भेँडाजस्तै अर्को भेंडा बनाए । त्यो सारा संसारले देखे । एउटा मानिसजस्तो अर्को मानिस पनि बनाउने प्रस्ताव गर्दा अमेरिकी सरकारले त्यसमा रोक लगाइदियो र आर्थिक स्रोत पनि दिएन । त्यही क्रममा डाइनासोरको पुनर्जन्म गराउने विचार पनि एकातिर पन्छाइयो ।

यसबाट के थाहा लाग्छ भने डाइनासोरको अन्त्य भएको हजारौं वर्ष भए पनि पुनः जगाउन सकिने रहेछ । वैज्ञानिकहरु र अरु निर्णयकर्ताले नचाहेरमात्र यो काम नभएको रहेछ । चाहे भने हुनसक्ने रहेछ । हजारौं वर्षअगाडि लुप्त भएको जन्तु त पुनरागमन गर्न सक्दो रहेछ भने १० – १२ वर्षअगाडि मात्र हटाइएको राजतन्त्रको पुनरागमन किन हुन सक्दैन ? जसरी डाइनासोरको पुनरागमन वैज्ञानिकहरुको हातमा छ उसरी नै नेपालमा राजतन्त्रको पुनरागमन नेपाली जनताको हातमा छ । सो तथ्य गणतन्त्रका पक्षधर पुष्पकमल दाहालले नै उजागर गरिसकेका छन् । राजतन्त्रलाई लखेट्न सक्ने जनताले कम्युनिस्टहरुलाई पनि लखेट्न सक्छन् भन्नुको मतलब यही होइन ?

यसै सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीले मसान घाटबाट हाडखोर जम्मा गरेर राजतन्त्रको पुनस्र्थापना हुन सक्तैन भन्ने अभिव्यक्ति दिए । यो पनि अलि मेल नखाने देखियो । किनभने एक त (तत्कालीन) राजा अहिले पनि जीवितै छन् । यसैले राजसंस्था हाडखोरमा परिवर्तित भइसकेको छैन । अर्को हाडखोरमै परिवर्तित भइसकेको जन्तु पनि पुनर्जीवित गराउन सकिँदो रहेछ । त्यो विज्ञानले साबित गरिसकेको छ । संसारमा केही यसता कम्युनिस्ट नेता छन् जसको पार्थिव शरीर यथावत संरक्षण गरेर राखिएका छन् । त्यसमध्ये रुसमा लेनिन र चीनमा माओत्से तुङ्ग हुन् । वैज्ञानिकले उनीहरुलाई पुनर्जीवित पार्न सकिन्छ भनेर त्यसमा अनुसन्धान र कार्य गर्न अनुरोध गरेका थिए । तर आजसम्म सो अनुमति दिइएको छैन ।

कुनै प्रकारले कुनै दिन सो अनुमति दिइयो भने के हुने होला भन्ने जिज्ञासा सर्वत्र छ । लेनिन र माओको शरीर जीवित भए के उनीहरुले आजको दुनियाँ बुझ्नेछन् ? या उनीहरुको गिदी र बुद्धि यथावत स्थितिमा पाइनेछन् ? के उनीहरु अजम्बरी भएर बाँच्ने छन् ? यी प्रश्नहरुको उत्तर कतैबाट आएको छैन । तर यी प्रश्नहरुले वैज्ञानिक तथा निर्णयकर्तालाई झक्झकाउने गरेका छन् । विज्ञानको यस्तो चमत्कारप्रति अनभिज्ञता देखाएर हाम्रा नेताहरुले राजतन्त्रबारेमा छाडेको घृणाको तीर आफैँतिर आइलाग्न सक्छ भनेर विचार पुर्याउन पर्दैन ?

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds