दीपक-दीपा समुहको फिल्म असोज २४ गते प्रदर्शन ‘छ माया छपक्कै’ !

दीपक-दीपा समुहको फिल्म असोज २४ गते प्रदर्शन ‘छ माया छपक्कै’ !

6 maya chapaki

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्ने फिल्मको रिलिज टार्गेट दशैं हुने गरेको छ । ‘छक्का पञ्जा’ को तिनै सिरिजले दशैं विदामा जबरजस्त व्यापार गरेका कारण उनीहरुले अन्य मितिमा फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन सकेका छैनन् । साम, दाम, दण्ड, भेद जे–जे गरेर हुन्छ फिल्म दशैंमै रिलिज गरेर छाड्छन्, दीपकराज । दीपक-दीपाको समुहलाई ‘छ’ नाम र दशैं निकै फापेको छ ।

केही वर्षदेखि दशैं विदामा ‘छक्का पञ्जा’ टिमको एकलौटी हालिमुहाली थियो । तर, गत वर्षदेखि भेट्रान निर्देशक अशोक शर्मा पनि थपिए । फिल्म ‘जय भोले’ बाट उनी १२ वर्ष निर्देशनमा फर्किए र फिल्म प्रदर्शनका लागि दशैं रोजे । उनले ‘छक्का पञ्जा’ सिरिजसँग भिड्नकै लागि फिल्म बनाएको चर्चा पनि चलेको थियो । ‘छक्का पञ्जा ३’ जुन मितिमा आउँछ त्यही मितिमा फिल्म जुधाउने तयारीमा थिए, उनी ।

तर, दीपकराजले दामको प्रयोग गरि ‘जय भोले’ लाई फूलपातीमा सारेर ‘छक्का पञ्जा ३’ घटस्थापनामा प्रदर्शन गरे । दशैं विदा कुनै हालतमा गुमाउने पक्षमा नरहेका उनी यसपटक भने नयाँ फिल्म ‘छ माया छपक्कै’ लाई दशैंमा ल्याउन असफल भएका छन् । यो फिल्मलाई घटस्थापना वा फूलपातीमा प्रदर्शन गर्ने भित्री तयारी थियो । तर, अब विजयादशमीपछि मात्र प्रदर्शन हुने भएको छ ।

अशोक शर्माले फिल्म ‘रातो टीका निधारमा’ घटस्थापनामा प्रदर्शन गर्दैछन् । त्यसको एक हप्ता अगाडि अर्थात् असोज ३ गते मल्टीस्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ । यो मितिमा ‘छ माया छपक्कै’ ल्याउन दीपकराजले हेमराज विसीको फिल्म ‘घामड शेरे’ लाई सारेर कात्तिकमा पुर्‍याएका थिए । तर, उनी तब हिस्स भए जब ‘कबड्डी कबड्डी कबड्डी’ ले अचानक असोज ३ मा आउने निर्णय गर्‍यो ।

यसले दीपकराजको रिसको पारो उचाइमा पुग्यो । उनले ‘कबड्डी कबड्डी कबड्डी’ सँग भिड्ने भन्दै भाद्र २७ गतेलाई ‘छ माया छपक्कै’ को प्रदर्शन मिति घोषणा गरे । तर, ‘कबड्डी’ टिम डराएन । अब दीपकराज दशैंको टिकापछि फिल्म प्रदर्शन गर्ने निर्णयमा पुगेका छन् । उनले फूलपाती समेत लत्याएका छन् । यसको कारण बलिउड फिल्म ‘वार’ हो । ऋतिक रोशन र टाइगर श्राफको यो फिल्म फूलपातीको दुई अगाडि प्रदर्शन हुँदैछ ।

केही दिन अगाडि सार्वजनिक भएको यो फिल्मको धमाकेदार ट्रेलरपश्चात् दीपक-दीपाको समुह ‘छ माया छपक्कै’ लाई फूलपातीमा प्रदर्शन गर्ने निर्णयबाट हटेको हो । मल्टीप्लेक्समा ‘वार’ को चेपुवामा पर्ने डरले यो फिल्म फूलपातीमा आउन डराएको हो । तर, निर्माता गिरी बलिउड फिल्मसँग नडराएको बताउँछन् । हलावाला र वितरकले नेपाली फिल्मलाई गर्ने सौतेनी व्यबहारका लागि पछाडि हटेको उनको भनाई छ ।

उनी भन्छन्, ‘यदी हलवालाले ‘वार’ र ‘छ माया छपक्कै’ लाई बराबर सोज दिन्छन् भने हामी भिड्न तयार छौं । तर, हलवालाले विदेशी फिल्मलाई आवश्यकताभन्दा पनि बढी सोज दिएर नेपाली फिल्मलाई न्यून सोजमा खुम्चाउँछन् । अनि, जानी-जानी कसले खुट्टामा बञ्चरो हान्छ ?’ ‘वार’ सँग भिड्दा ‘छ माया छपक्कै’ लाई मल्टीप्लेक्सहरुले प्रयाप्त सोज नदिने हुँदा फूलपातीमा फिल्म ल्याउन नसकेको उनको भनाई छ ।

उनको भनाईमा धेरै हदसम्म सत्यता छ । नेपालका वितरक र हलवालाहरु विदेशी फिल्म प्रदर्शन हुँदा नेपाली फिल्मलाई सौतेनी व्यबहार गर्ने गर्दछन् । भोली शुक्रबारबाट प्रदर्शनमा आउने लागेको फिल्म ‘मारुनी’ यसको उदाहरण हो । ‘साहो’ सँग भिड्न लागेको यो फिल्म मल्टीप्लेक्समा न्यून सोजमा खुम्चिएको छ । यो पहिलो पटक भएको भने होइन । यसअघि थुप्रै नेपाली फिल्मले यो नियति भोगिसकेका छन् ।

यो अवस्था ‘वार’ सँग भिड्दै गर्दा ‘छ माया छपक्कै’ को पनि हुन सक्थ्यो । त्यसैले दीपकराजले विगत हेरेर ‘वार’ सँग भिड्ने जोखिम उठाउन चाहेनन् । अब दीपक-दीपा समुहको फिल्म असोज २४ गते प्रदर्शनमा आउने सम्भावना प्रवल छ । भोली यो फिल्मको पहिलो गीत सार्वजनिक हुँदैछ । दीपकराजसँगै केदार घिमिरे, जितु नेपाल, केकी अधिकारीलगायतका कलाकारहरुको यसमा अभिनय छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds