फेवाताल स्थित गुठी जग्गा हत्याउने चलखेल !, ३९ बर्षको लागि निजी कम्पनीलाई दिइने

फेवाताल स्थित गुठी जग्गा हत्याउने चलखेल !, ३९ बर्षको लागि निजी कम्पनीलाई दिइने

fewa tal

पोखराको फेवाताल स्थित तालबारी मन्दिरको नाममा रहेको जग्गा अधिकारको दुरुपयोग गरी गुठी संस्थानले निजी कम्पनीलाई सुम्पिन लागेको छ । तालको बीचमा रहेको तालबाराही मन्दिरको पुजाआजा लामो समयसम्म चलाउनका लागि तत्कालीन कास्की राज्यले तीनवटा गुठीको ब्यवस्था गरिदिएको थियो । अक्षता गुठी, पाडा गुठी र समिधा गुठीमध्ये समिधा गुठीको नाममा रहेको ५५ रोपनी जग्गा गुठी संस्थाले निजी कम्पनीलाई भाडामा दिने निर्णय गरेको छ । असार १० र १२ गतेको गोरखापत्रमा सूचना प्रकासन गरी संस्थानले ३९ बर्षका लागि भाडामा लगाउन लागेको हो ।

स्थानीयले चाहीँ गुठीको जग्गा निजी कम्पनीलाई दिन नहुने बताएका छन् । पर्यावरणीय दृष्टीले पनि यो जग्गा निकै संबेदनशील रहेको भन्दै उनीहरुले सामाजिक सेवाका क्षेत्रमा जग्गाको उपयोग हुनुपर्नेमा जोड दिए । जग्गाको संरक्षण र मन्दिरको विकास तथा सञ्चालनका लागि तालबाराही गुठी ब्यवस्थापन समिति छ । समितिले नै गुठीको जग्गामा आश्रम सञ्चालन गर्ने योजना बनाएपनि संस्थानले जग्गा दिएन । बरु मानव सेवामा भन्दा ब्यवसायिक प्रयोजनमा जग्गा प्रयोग गर्ने तयाी भयो । तर जग्गा लिजमा दिने बिषयमा समितिसँग कुनै छलफल नभएको समितिका अध्यक्ष हिक्मतजंग कुवँर बताउँछन् ।

‘हामीसँग छलफल नै भएन । हामीले त बरु यसलाई बृद्धाश्रम बनाउने परिकल्पना गरिरहेका थियौं । सोही अनुसार वडा हुँदै महानगर र मालपोतको समेत सिफारिस गुठी संस्थानलाई बुझाएका छौं,’ उनले भने, ‘हामी निर्णय कुरेर बसिरहेका छौं । संस्थानले त जग्गा नै लिजमा दिने सूचना पठायो । यो निर्णय हामीलाई मान्य छैन ।’ समितिले मंगलबार निजी कम्पनीलाई गुठीको जग्गा नदिन दवावमुलक सार्वजनिक भेला गरेको थियो । भेलाले पनि मानवीय हितमा जमिन प्रयोग गर्नुपर्ने सुझाव दिएको छ ।

तर गुठी संस्थानले चाहीँ अतिक्रमणबाट रोक्नका लागि लिजमा दिने तयारी गरिएको दावी गरेको छ । गुठीको सञ्चालन र ब्यवस्थापनकै लागि जग्गा लिजमा दिन लागेको संस्थानका प्रशासक नारायण चौधरी बताउँछन् । ‘अरु जग्गा गुठियारहरुले खाईसके । बचेको यही हो । यो पनि केही बर्षमा सकिन्छ,’ उनले भने, ‘अतिक्रमण हुनबाट जोगाउनकै लागि लिजमा दिन खोजिएको हो । यसको कुनै गलत मनसाय छैन ।’ देशभरी नै गुठीका जग्गा ब्यवसायिक प्रयोजनका लागि लिजमा दिएर आम्दानी गरिरहेको भन्दै उनले पोखराको जग्गाबाट झनै धेरै आम्दानी गर्न सकिने बताए ।

श्रोतका अनुसार एउटा कम्पनीले जग्गा हत्याएर रिसोर्ट चलाउने तयारी गरिरहेको छ । गुठीको नाममा रहेको १ सय १५ रोपनी जग्गामध्ये आधाआधि जग्गा ब्यक्तिले भोगचलन गर्न थालेका छन् । पाणा गुठीमा रहेको १९ रोपनी मध्ये १७ रोपनी जग्गा पाणाहरुले २०६४ सालमा नैै रैकर सावित गराएर आफ््नो नाममा दर्ता गरिसकेका छन् । यसका लागि उनीहरुले सरकारले तोकेको ३० प्रतिशत रकम संस्थानलाई बुझाएका छन् । अरु जग्गा पनि विभिन्न नाममा अतिक्रमण भएको छ । त्यसलाई गुठीको नाममा फर्काउनुको सट््टा भएको जमिन पनि निजी कम्पनीलाई दिँदा मन्दिरको भविष्य नै धरापमा पर्न सक्ने धेरैको अड्कल छ । उक्त जग्गा तालवाराही गुठी व्यवस्थापन समितिमार्फत संरक्षण हुँदै आएको छ । स्वामित्व भने गुठी संस्थानमा छ । भाडामा दिने निर्णय फिर्ता नलिए जस्तोसुकै संघर्ष गर्न पनि पछि नपर्ने स्थानीयको चेतावनी छ ।

पोखरा महानगरपालिकाले संस्थान र प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेर यो निर्णय फिर्ता लिन आग्रह गरेको छ भने परम्परा, संस्कार र संस्कृतिमाथी हस्तक्षेप गर्न नहुने भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीलाई समेत यो काम रोक्न पत्र पठाएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पनि गुठी संस्थान भुमाफियाको जालोमा फसेको भन्दै निजी कम्पनीलाई जमिन दिन नहुने बताए । ‘स्थानीय सरकारको क्षेत्रभित्र पर्ने जग्गा कसरी प्रयोग गर्न लागिएको हो, कुनै जानकारी छैन । उसैको जग्गा भएपनि समन्वय त गर्नुपर्छ नि । सिधै माथीबाट निर्णय गर्दैमा कार्यान्वयन हुन्छ र रु,’ जिसी भन्छन्, ‘लिजमा दिनुपर्ने कारण सहित हामीलाई कन्भिन्स गराउन सके ठीकै छ । अन्यथा मनपरी गर्न पाईँदैन । महानगरले यसलाई रोक्छ ।’

२०७४ सालमा सर्वोच्च अदालतले यसलाई राजगुठीको रुपमा फैसला गरिदिएको छ । यही जग्गामा २०६७ सालमा स्थानीयले बृद्धाश्रम बनाउने योजना सहित ५ हजार १ सय जनाको हस्ताक्षर गुठी संस्थानलाई बुझाएका थिए । तर संस्थानले समितिलाई यसबाट हटाएर निजी कम्पनी भित्र्याउन लागेको हो । जुनसुकै हालतमा पनि यो निर्णय खारेज गर्नुपर्ने उनीहरुको माग छ । वडाध्यक्ष जगतबहादुर पहारी पनि संस्थानले गलत बाटोबाट जग्गा चलाउन खोजेको बताउँछन् । उनले स्थानीयसँग भेला गरेर ब्यवस्थापन समितिको समन्वयमा काम गर्नुपर्ने भन्दै केन्द्रबाट लादेको निर्णय कार्यान्वयन नहुने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds