पोखरामा वैशाखबाट सुरु गर्ने भनिएको ‘ई-टिकेटिङ’ भदौबाट होला त ? सिस्टममा नजानेलाई कारबाही

पोखरामा वैशाखबाट सुरु गर्ने भनिएको ‘ई-टिकेटिङ’ भदौबाट होला त ? सिस्टममा नजानेलाई कारबाही

Pokhara Bus

पोखरामा चल्ने सार्वजनिक सवारीमा भदौबाट ई–टिकटिङ प्रणाली सुरु हुने भएको छ । पोखरा महानगरले वैशाखबाट नै सुरु गर्ने भनेपनि सुरु हुन सकेको थिएन । वैशाख १ गतेबाट लागू गर्ने गरी गएको चैतमा पोखरा महानगरपालिका, प्राविधिक व्यवस्थापनको जिम्मा पाएको एनक्लाउड कम्पनी र पोखराका सार्वजनिक यातायात सम्बन्धित संस्थाहरुबीच सम्झौता भएको थियो । तर, प्राविधिक कारण देखाउँदै महानगरले भाका सारेको थियो । अब भने यसलाई सुरु गर्न महानगरले अन्तिम तयारी थालेको छ ।

पूर्वघोषित महत्वकांक्षी योजना आउँदो भदौ १ गतेबाट लागू गर्ने महानगरपालिकाले जनाएको छ । नगर प्रमुख मान बहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भदौ १ गतेबाट लागू गर्ने गरी तयारी भईरहेको जानकारी दिए । ‘आउँदो भदौ १ गतेबाट सुरु गर्ने गरी तयारी भईरहेको छ’ उनले भने ।

पोखरामा रहेका सात वटा यातायात समिति ई–टिकेटिङ सिस्टममा जानेछन् । पोखरा बस ब्यवसायी समिति, पृथ्वी राजमार्ग बस सञ्चालक समिति, स्थानीय श्रृंगा यातायात व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि र ट्याक्सी व्यवसायी समिति ई–टिकेटिङ सिस्टममा जानेछन् ।

ई–टिकेटिङ बारे अहिले धेरै पोख्रेली अन्योलमा छन् । कतिलाई यो विषयमा जानकारी पनि छैन् । यही विषयमा जानकारी दिन साउन २१ (मंगलबार) बाट विभिन्न जानकारीमूलक कार्यक्रम सुरु हँदैछ । यो सुविधा लागू भएपछि यात्रु र बस व्यवसायी दुवैको समय र पैसा बचत हुनेछ । यात्रु ठगिने सम्भावना पनि न्यून हुनेछ ।

के हो ई-टिकेटिङ सिष्टम ?

ई–टिकटिङ सवारी भाडा भुक्तानी गर्ने माध्यम हो । बसका सहचालकसँग एउटा डिभाइस हुन्छ । सहचालकसँग भएको त्यही डिभाइस मार्फत यात्रुले टिकट पाउँछन् । यो प्रणाली सुरु भएपछि प्रत्येक यात्रुले विशेष प्रकारको यात्रा कार्ड पनि पाउनेछन् । व्यवसायीले दिएको त्यही कार्ड गाडीका सहचालकले डिभाइसमा ‘टच’ गराउनेछन् । लागेको भाडा त्यही कार्डबाट काटिनेछ । त्यो कार्डमा यात्रुले पहिल्यै पैसा जम्मा गरेको हुनुपर्छ ।

ओम डेभलपमेन्ट बैंकले यसमा सहकार्य गरेको छ । पहिलो चरणमा नगद नै लिएर सहचालकले ई–टिकट प्रदान गर्नेछ भने दोस्रो चरणदेखि यात्रुकार्ड उपलब्ध भइसकेकाहरुले कार्ड टच गरे पुग्छ । जिपिएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ । सो कार्डलाई १ सय रुपैयाँ पर्नेछ । कार्ड लिएबापत बैंकले त्यसमा १ सय रुपैयाँ बोनस दिनेछ । दोस्रो चरणमा चढेको ठाउँमा टच गर्ने र झर्दा समेत टच गर्दा आफूले यात्रा गरेको दुरीबमोजिम पैसा काटिनेछ ।

तत्काललाई ८ सय बसमा यो सिष्टम जडान गर्ने तयारी हुँदै छ । राजधानी काठमाण्डौका केहि यातायातमा यो सिष्टम लागू भइसकेको छ । बसका चालक र सहचालकलाई मेसिन चलाउने तालिम दिने काम पनि अन्तिम चरणमा छ । यो सिस्टम जडान र नियमित सुचारु गर्नका लागि कम्पनीले पोखराका प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँका दरले खर्च असुल्नेछ । सबै बसमा लागू भए सेवा अझै प्रभावकारी हुने बस व्यवसायीको विश्वास छ ।

सिस्टममा नजानेलाई कारबाही

भदौबाट सुरु गर्ने योजना भएपनि यसको औपचारिक घोषणा असोजमा हुनेछ । यो बीचकोे एक महीना यसको प्रभावकारिता जाँच गरिनेछ । सिस्टम सुरु भएपछि यसमा नजानेलाई भने कारबाही हुने भएको छ ।

यो सिस्टम जडान नगर्ने चालक र सहचालकलाई दण्ड जरिवाना नै गरिने पोखरा बस व्यवसायी समितिका महासचिव अमृत शर्माले जानकारी दिए । उनले भने, ‘यसमा नजानेलाई कारबाही हुन्छ, अझै के कसरी अगाडि बढ्ने भन्ने बारे छलफल हँदै छ ।’

यसको अनुगमन गर्न अनुगमन समिति बनाउने तयारी भइरहेको महासचिव शर्माले बताए । ‘व्यवसायी र महानगरबीच छलफल गरेर समिति बनाउने भनिएको छ, उनले भने, ‘दुई चार दिनमा यो समितिले पनि पूर्णता पाउला ।’

महासचिव शर्माका अनुसार ८ सय बसमध्ये ७ सय बसका १४ सय चालक र सहचालकलाई यसबारे जानकारी गराइसकिएको छ । अब बाँकी १ सय बसका चालक र सहचालकलाई पनि यसबारे छिट्टै जानकारी गराइने उनले बताए ।

  • अनुप पौडेल । बिग खबरबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds