‘मलाई हेग लगे विश्वकै हिरो हुन्छु तर मलाई लगेर हिरो बनाउँछन् जस्तो लाग्दैन’ – प्रचण्ड

‘मलाई हेग लगे विश्वकै हिरो हुन्छु तर मलाई लगेर हिरो बनाउँछन् जस्तो लाग्दैन’ – प्रचण्ड

Prachanda

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग पुर्‍याइएपनि केही फरक नपर्ने बताएका छन् । सोमबार ललितपुरस्थित आफ्नै विनसमा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले आफूलाई हेग लैजाने र एक दिन भएपनि जेल हाल्ने भनेर गरिएको प्रचार डिजाइन अनुसर भएको दाबी गरेका छन् ।

कतिपयले ‘प्रचण्डलाई हेगमा लैजाने रे, एक दिन भए पनि जेलमा हाल्ने रे’ भनेर प्रचार गरिएको भन्दै उनले त्यसलाई परिवर्तन नचाहनेहरुको डिजाइनको संज्ञा दिए । ‘हेग लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु,’ प्रचण्डले भने, ‘तर यिनीहरुले मलाई हेग लैजान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन । त्यो हुन दिन चाहँदैनन् ।’

हेग पुर्‍याए संसारका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भनेर बुझ्ने भन्दै प्रचण्डले त्यो आफ्ना लागि गर्वको कुरा हुने बताए । प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेसम्म आफूहरु कोही पनि कमजोर नहुने बताए । ‘यो रहँदासम्म हामीलाई जहाँ लगेपनि हामी हिरो । यो नै उल्टियो भने नेपालले दुःख पाउने नेपाल नै बर्बाद हुने खतरा छ’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन् ।

लोकातान्त्रिक गणतन्त्र ल्याउने पार्टी, त्यसका नेताहरुलाई बदनाम गर्न पाइयो भने यसलाई उल्ट्याउन सकिन्थ्यो भनेर आजभोलि अलि बढी फोकस गरेर आफूहरु विरुद्ध षडयन्त्र र प्रचार गर्ने प्रयास भएको बताए ।

‘विप्लव नेकपामा आउनुपर्छ या सिद्धिनुपर्छ’

प्रचण्डले विप्लव समूहले सिद्धिने या नेकपामा समाहित हुने एक विकल्प रोज्नुपर्ने पनि बताएका छन् । प्रचण्डले भने, ‘ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ, कुनै उपाय छैन । या त सिद्धिनपर्छ ।’ नेत्रविक्रम चन्द (विप्लव) समूहले थालेको संघर्ष सफल नहुने उनले दाबी गरे । पेरुको, फिलिपिन्सको, श्रीलंकाको लिट्टे जस्तै समाप्त हुने खतरा रहेकाले आफूहरु शान्ति प्रक्रियामा आएको उनले बताए ।

माओवादी पार्टी विभाजन हुनुको जिम्मेवारी आफूले लिने पनि उनले बताए । प्रचण्डले भने, ‘यसको जिम्मेवारी मैले नै लिनुपर्छ, म मुख्य लिडर हुनुको नाताले त्यो बेलामा साथीहरुलाई बुझाउन सकिनँ ।’

तर, नेता मातृका यादव, महेन्द्र राय यादव लगायतको उदाहरण दिँदै र नवप्रवेशीलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा पार्टी परित्याग गरेकाहरु पनि अहिले फर्किन थालेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘तपाईंहरु ठीक समयमा, ठीक निर्णय गरेर ठीक ठाउँमा नै आउनु भएको छ । मैले भन्ने गरेको छु, ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds