‘पोखरा जस्तो प्राकृतिक शहरमा कृत्रिम मैदान बनाउने भन्ने कसको सल्लाह हो ?’ सदस्य सचिव सिलवाल

‘पोखरा जस्तो प्राकृतिक शहरमा कृत्रिम मैदान बनाउने भन्ने कसको सल्लाह हो ?’ सदस्य सचिव सिलवाल

silwal

पोखरा । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले पोखरा रंगशाला भित्र निर्माण हुन थालेको फुटबल मैदान कृत्रिम बन्न नहुने कुरा निकै चासोका साथ उठाएका छन् । पोखरा रंगशालामा कृत्रिम घाँस टर्फको विपक्षमा रहेका पोखरेली फुटबलप्रेमीहरु सदस्य सचिब सिलवालको साथ पाए पछि थप उत्साहित हुँदै मैदानमा कुनै पनि हालतमा कृत्रिम घाँस टर्फ राख्न नहुने आवाज उठाउन थालेका छन् ।

दक्षिण एशियाली खेलकुद (साग) र नवौं राष्ट्रिय खेलकुदका लागि निर्माण हुन लागेका पूर्वाधारहरुको निरिक्षणका लागि पहिलोपटक पोखरा आएका सदस्य सचिव सिलवालले पोखरामा गरिएका आधा दर्जन भन्दा बढी कार्यक्रमहरुमा यही कुरालाई चासोका साथ उठाएका हुन् ।

काठमाण्डौ प्रस्थान गर्नु अघि शनिबार पोखरामा आयोजित दुई फरक कार्यक्रममा सदस्य सचिब सिलवालले यसै विषयलाई जोड दिए । पूर्ब खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपाल र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको कार्यक्रम समेत उनले यही कुरालाई उठाए ।

पोखरा जस्तो अनुपम प्राकृतिक सौन्दर्यले भरिएको ठाउँमा फुटबल मैदान पनि प्राकृतिक नै बन्नुपर्ने कुरामा जोड दिंदै सिलवालले भने– ‘मलाई थाहा छैन मैदानमा कृत्रिम टर्फ राख्न कसले यस्तो गलत सल्लाह दियो, तर पोखराको फुटबल मैदान भने प्राकृतिक नै हुनु पर्छ भन्ने मेरो मान्यता हो । म यसबाट पछि हट्न सक्दिनँ ।’

आफू हरेक क्षण काममा व्यस्त रहेको र पोखरा बसाईका क्रममा पनि आफू खेलकुदका लागि महत्वपूर्ण समय दिएको बताउँदै सदस्य सचिव सिलवालले कामको जिम्मा लिएका निर्माण कम्पनीलाई तीन वटा कुरामा कुनै हालतले पनि ‘कम्प्रोमाइज’ नर्गन भनेको बताउँदै उनले थपे – मैले निर्माण कम्पनीलाई कन्क्रिट कुरा ल्याउन भनेको छु, म आर्थिक अभाव हुन दिन्नँ, समय अगावै काम सकाउनुस्, क्वालिटीमा ‘कम्प्रोमाइज’ नगर्नुस ।’

अहिले साग खेलका लागि २७ मध्ये केही खेलका प्रशिक्षणका कार्यक्रमहरु सुरु भइसेको जानकारी दिंदै सदस्य सचिब सिलवालले नतिजा दिने खेलहरुलाई मात्रै विशेष प्राथमिकतामा राखेर हेरिने बताउदै उनले भने–‘अल आर इक्वेल भन्ने पक्षमा म छैन, हरेक खेल रिजल्ट ओरियन्टेड हुनुपर्छ ।’ मेडल सम्भावना नभएका खेलहरुमा लगानी नगर्ने स्पष्ट पार्दै उनले जोड दिंदै भने–‘लगानी कहाँ र कुन खेलमा गर्ने त्यसको स्पेसिफाई हुन आवश्यक छ त्यसको जिम्मेवारी सम्बन्धित संघ र कोचले लिनु पर्छ ।’ विगतमा योजनावद्ध सोच र दृष्टीकोण कुन खेलमा कति लगानी गर्ने परिपाटी नभएका कारण मुलुक जहिले पनि खेलकुदमा पछि परेको उनको स्पोष्टोक्ति थियो ।

खेलकुदमा समन्वयको अभावका कारण पनि गति लिन नसकेको स्पष्ट पार्दै सदस्य सचिब सिलवालले केन्द्र, प्रदेश र स्थानिय निकायका विच समन्वय फितलो रहेको महशुस आफूले गरेको बताए । सवैलाई अपनत्व हुने किसिमले पनि कामहरुलाई अघि बढाउने बताए ।

नेपाली क्रिकेटको समस्या समाधान एक हप्ता भित्र शुरु गर्ने बताउँदै जो जसले षडयन्त्र गरेर खेलकुद भाँड्ने काम गर्छन् ति वास्तविक अपराधी रहेको र त्यस्तालाई सार्वजनिक रुपमा नै दोषी घोषणा गर्ने सदस्य सिलवालले भने–‘आफू आइसिसीमा पुगेर भए पनि क्रिकेटको समस्या समाधान गरि छाड्छु यो मेरो प्रतिवद्धता हो ।’ खेललाई सर्पाने जो आए पनि हुन्छ भाँडेर खेल र खेलाडीको भविष्य बिर्गाने अधिकार कसैसंग नरहेकोमा उनको जोड थियो ।

विगतमा पनि अदालत बाट निकै अप्ठ्यारो महशुस आफूले गरेको बताउँदै खेलकुदका यस्ता विषयलाई अदालतले समेत फाष्ट ट्रयाक बाट न्याय दिन विशेष पहल समेत गरिने बताए ।
आफू जागिर खान सदस्य सचिब नभएको बताउँदै सदस्य सचिब सिलवालले जिम्मेवारी दिएको समयमा काम सकेर १३ औं साग गर्ने उनले बताए ।

भूतपूर्व खेलाडी मंच नेपालका अध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मंचका संस्थापक अध्यक्ष खड्ग रानाभाट लगाएतले बोलेका थिए ।

दोश्रो दिन पनि रंगशालाको निरीक्षण, टर्फको खुलेर विरोध

शुक्रबार करिव दिनभर जसो पोखरा रंगशालाको पूर्वाधार निर्माणको निरिक्षणमा बिताएका सदस्य सचिब सिलवालले दोश्रो दिन पनि पोखरा रंगशालामा करिब एक घन्टा निरिक्षण गरे । निर्माण हुन लागेको मैदान भित्रै छिरेर उनले निर्माण कम्पनीका ठेकदार प्राविधिकहरुलाई फेरि प्रतिप्रश्न तेस्र्याए । कस्ले भन्यो ? यो कृत्रिम टर्फ राख्न, कस्को सल्लाह हो ?

निर्माण कम्पनीका ठेकेदारका तर्फबाट हरिबाबु न्यौपाने र परिषद्का मुख्य इन्जिनियर अरुण उपाध्ययाले कृत्रिम घाँसे मैदानमा वकालत गरिरहँदा सदस्य सचिब सिलवाल भने त्यस्को विपक्षीमा उभिए । सामाजिक विकास मन्त्री नरदेवी पुन, बोर्ड सदस्य राजेश गुरुङ, विभागिय प्रमुख कमल खनाल, क्षेत्रीय अध्यक्ष सम्पन्न श्रेष्ठ र ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ सहित उपस्थितिमा उनले टर्फको खुलेर विरोध गर्दै भने–‘यो सच्चाउनु पर्छ, यो त्रुटीपूर्ण, यो स्ट्रक्चर मान्न सकिन्न जसरी हुन्छ कार्तिक १५ भित्र काम सक्नुस, बरु म को संग कुरा गर्नु पर्छ गर्छु।’

१३ औं साग तोकिएको मितिमा गर्न नसके राजिनामा दिन्छु

सदस्य सचिव शिलवालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएको मितिमा गर्न नसके राजिनामा दिने बताएका छन् । उनले तोकिएको मितिमा साग र ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नू आफ्नो ठुलो चुनौतिको रुपमा रहेको उल्लेख गर्दै प्रतियोगिता तोकिएको मितिमा गर्न नसके राजिनामा दिने उद्घोष गरेका हुन्।

उनले भने – ‘जे कामको निम्ति आएको हुँ त्यो गर्न नसके, म मेरो पदमा बस्नुको कुनै अर्थ हुदैन, मेरो हनुमुन पिरियडमा धेरै काम गरेर देखाउनु पर्छ, मलाई पूर्ण रुपमा खेलकुदमा सहयोग प्राप्त छ, साग सम्पन्न गर्न चुनौती पूर्ण छ र जिम्मेवार अनि दायित्व छ यी सबैलाई सन्तुल मिलायर अघि बढाउछु ।’

  • पोखरा स्पोर्टस् डटकमबाट । तस्विरः सुदर्शन रञ्जित

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds