गोरखाका एसपीले गण्डकी प्रमुख डिआईजीलाई नै रक्सीले मातेर गाली गरेपछि…

गोरखाका एसपीले गण्डकी प्रमुख डिआईजीलाई नै रक्सीले मातेर गाली गरेपछि…

sp gorkha

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी विनोद शर्मा घिमिरेलाई आफ्नै मातहतको गोरखा जिल्लाका प्रहरी प्रमुख एसपी भोला रावलले दिउँसै मदिरा सेवन गरी गाली गरेका छन् । नौ दिनदेखि वेपत्ता भइरहेका गोरखाको यारु बगरका व्यवसायी धनकमल गुरुङ र उनीमाथि आक्रमण गर्ने ६ जनाको खोजी अनुसन्धान बारेमा बुझ्न खोज्दा एसपी रावल सम्पर्कमा आएका थिएनन् । पछि बल्ल बल्ल घिमिरेले एसपी रावललाई सम्पर्क गर्न सफल भए तर मदिराले मात्तिएर मोबाइल फोनमा आमाचकारी गाली गरेको खुलासा भएको छ ।

डिआईजी घिमिरेले प्रदेशको सञ्चारमार्फत एसपी रावललाई आफूलाई फोन गर्न लगाउनू भन्ने आदेश दिएपछि रावलले घिमिरेलाई फोन गरेको बताइन्छ । तर, जयनेपाल सर समेत नभनी सुरुमै डिआईजीलाई मुख छाड्ने, कहिले गाली गर्ने, गीत गाउने गरेको समाचार सुशासनन्यूज डटकमले सार्वजनिक गरेको छ ।

आफ्नो मातहतको जिम्मेवार प्रहरी अधिकृतले फोनमा तथानाम गाली गरेको विषयमा डिआईजी घिमिरेले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई रिपोर्ट गरे । खनालको आदेशमा घिमिरेले प्रदेश प्रहरी कार्यालयका एसपी हरिराज वाग्लेलाई गोरखा पठाए । वाग्ले जिल्ला अस्पतालबाट डाक्टर लिएर बुधबार दिउँसो करिब साढे ३ बजे एसपीको निवासमा पुगे । कार्यालय समयमा खुट्टा टेक्न नसक्ने गरि उनी अझै रक्सी पिइरहेका एसएसपी वाग्ले निवासमा प्रवेश गर्दा रावलले उनलाई समेत चिन्न सकेनन। डाक्टरले मापसे जाँच गरेपछि एसएसपी वाग्ले रिपोर्ट लिएर पोखरा फर्किए । रावललाई अर्धचेत अवस्थामा त्यहीं छाडिदिए।

छड्के निरीक्षणका क्रममा बुधबार दिउँसो गोरखा आएको एसएसपी हरिराज वाग्लेको टोलीले निरीक्षण गर्दा कार्यालय समयमै मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको डिआइजी घिमिरेले जानकारी दिए । ‘गोरखाका एसपी तीन दिनसम्म सम्पर्कमा नआएपछि हामीले एसएसपीको नेतृत्वको टोलीलाई आन्तरिक रुपमा निरीक्षण गर्न पठाएका थियौँ । दिउसो १२ बजे नै निवासमा मादक पदार्थ सेवन गरेर बसेको भेटियो’, डिआइजी घिमिरेले भने, ‘टोलीले गोरखा अस्पतालबाट चिकित्सकको टोली ल्याएर मेडिकल चेकजाँच गरी मुचुल्का पनि गरेको छ । प्रतिवेदन पनि तयार गरेको छ ।’

डिआईजी घिमिरेको भनाई जस्ताको तस्तैः

मैले गोरखाका एसपीलाई फोन गरें । धेरैपटक फोन गर्दा उठेन । पछि सञ्चारमार्फत खबर गराएँ । बल्ल उताबाट कल ब्याक आयो । सुरुमै उहाँले मुख छाड्नुभयो । गीत पनि सुनाउनुभयो । जिल्लाको सुरक्षाको कमाण्ड लिएर बसेको प्रहरी अधिकारीले गर्न मिल्ने व्यवहार थिएन त्यो । यो त हदै भयो । केहीबेर सुनेपछि फोन काटिदिएँ । आफूले रिपोर्ट गर्नुपर्ने निकायमा रिपोर्ट गरें । प्रदेश प्रहरी कार्यालयका एसपी हरिराज वाग्लेको नेतृत्वमा टिम पठाएर मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गराइयो । माथिबाट कारबाही गर्ने कुरा भएको छ । प्रहरी आचरणमाथि धावा बोल्नेमाथि हदैसम्मको कारबाही हुन्छ।

कारबाहीको तयारी हुँदै

जिल्लाको समग्र शान्ति सुरक्षाको जिम्मेवारी बोकेका एक जिम्मेवार अधिकृत कार्यालय समयमा रक्सीले मातेर मजकुर कार्यालयको प्रमुखलाई गाली गरेपछी गण्डकी प्रदेश प्रहरी कार्यालयले छानबिन शुरु गरेको छ। कारबाहीको प्रक्रिया स्वरुप गोरखाका प्रहरी प्रमुख एसपी रावललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले स्पष्टीकरण सोधिसकेको छ। उनलाई जिम्मेवारीबाट हटाएर त्यहाँ नयाँ एसपी पठाउने बारेमा प्रहरी मुख्यालयमा बिहिवार छलफल भएको स्रोत बताउँछ। तत्कालीन गोरखा प्रहरी प्रमुख एसपी बिमल बस्नेत केन्द्रमा तानिएपछी नेकपा नेताद्वय भिम रावल र नारायणकाजी श्रेष्ठको जोडबलमा भोला रावललाई गोरखाको प्रहरी प्रमुख बनाएर पठाइएको चर्चा थियो। त्यसो त गोरखाका डिएसपी महेन्द्र नेपालको पनि रावलसंग जोडि मिलेको चर्चा छ।

महानगरीय प्रहरी बृत थानकोटको प्रमुख हुँदा अख्तियारको टोलीको स्टिङ अपरेसनबाट जागिर गुमाउने अवस्थामा पुगिसकेका डिएसपी नेपाललाई प्रहरी मुख्यालयले त्यहाँबाट हटाएर गोरखा पठाएको थियो। एसपी रावल र डिएसपी नेपालको उक्त जोडि केहिबर्ष अगाडि जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत थियो। गुल्मीमा रहदा रक्सी देखि चाउचाउ सम्म मागेर डिएसपी नेपालले त्यहाँका व्यापारीलाई हैरान पारेका थिए। उनलाई पनि जिम्मेवारीबाट हटाउने बिषयमा छलफल भईरहेको प्रहरी मुख्यालय स्रोतको दावी छ।

सुशासनन्यूज डटकम बाट ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds