अघिकांश उत्पादनमा आयातमा निर्भर रहँदै आएको मुलुकको ग्रामीण क्षेत्रको वास्तविकतालाई चुनौती दिँदै यहाँको एउटा गाउँले बाख्रापालनबाट मात्रै वार्षिक रु ७० लाख भित्र्याउने गरेको छ । पोखरा महानगरपालिकामा रहेर पनि विकट रहेको मौजामा व्यावसायिक रुपमा शुरु बाख्रापालनबाट किसानले प्रत्येक वर्ष पोखरा बजार र आसपासमा खसी, बोका माहु बाख्रा बिक्री गरेर गाउँमा उक्त रकम भित्रिएका हुन् ।
प्रदेशको ‘बाख्रा हब’को रुपमा विकसित सो गाउँका ४६ जना किसानले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएको मौजा बाख्रापालन कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिए । गाउँमा यतिखेर दुई हजार ७०० को सङ्ख्यामा बाख्रा रहेको बताउँदै उनले बाख्रा खरीद, खोर निर्माण र घाँसको व्यवस्थापनलगायतमा किसानको हालसम्म रु चार करोडभन्दा लगानी भइसकेको छ ।
जमुनापारी, खरी, सिनाल, बोयर, सानानलगायत विभिन्न जातका बाख्रालाई उन्नत जातको बेयर बोकाबाट प्रजनन गर्दै नश्ल सुधार गर्दै आएको बताउँदै उनले अहिले प्रजननका लागि जिउँदो बोयर बोका प्रति केजी एक हजार र अन्य बोकाको मासुको लागि रु ५०० का दरले बिक्री हुने गरेको बताए ।
“उत्पादित खसी बोका बिक्री हुँदैन कि भन्नुपर्दैन, पोखरा बजारबाट खरीदका लागि व्यापारी खोरमै आउने गरेका छन्,” अध्यक्ष गुरुङले भने । उनका अनुसार सहकारीमा आवद्ध अन्य शेयर सदस्यलाई समेत व्यावसायिक बाख्रापालनमा प्रेरित गर्ने सोच अघि बढाइएको छ ।
खोरमा कम्तीमा पाँचवटा बाख्रा हुने किसानलाई सहकारीको शेयर सदस्य बनाउने मापदण्ड बनाइएको उल्लेख गर्दै उनले एउटै खोरमा साना ठूला गरी दुई सय वटासम्म बाख्रा पाल्ने किसान रहेको जानकारी दिए । घाँसमा आधारित बाख्रापालनलाई जोड दिँदै आइएकामा त्यसका लागि राइखनियो, दुदेलो, इपिलइपिल जस्ता विभिन्न जातका घाँससमेत उत्पादन गर्ने गरिएको छ । हिउँदको मौसमको लगभग छ महीना बाख्रालाई जङ्गलमा घाँस चराउनका लागि सामूहिक खोर निर्माण गरिएको छ ।
विदेश जानका लागि आफन्तसँग लिएको ऋणबाट १० वटा माहु बाख्रा खरीद गरेर शुरु गरेको बाख्रापालन फस्टाएर अहिले मौजा आँटिघरमा रहेको खोरमा १२५ वटा बाख्रा पुगेका छन् । खशी, बोका र माहु बाख्रा बिक्रीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ । स्थानीय बासिन्दा गोविन्द सापकोटाका अनुसार यतिखेर खोरमा साना ठूला गरेर दुई सय बाख्रा पुगेका छन्, खसी बोका बिक्रीबाट वार्षिक सात लाख भन्दा बढी आम्दानी हुने गरेको छ ।
सहकारीमार्फत बाख्राका साथै मौसमी तथा बेमौसमी तरकारी खेती र व्यावसायिक भैँसी, लोकल कुखुरापालनमा जोड दिने तयारी गरिएको छ । व्यावसायिक कृषि एवं पशुपालनका लागि दक्ष प्राविधिक र उत्पादित वस्तु ढुवानीमा यातायात साधनको समस्या परेको दुखेसो उनले सुनाए । मौजाकै हिराजङ्ग गुरुङले ११० वटा र टेकबहादुर गुरुङले ७० बाख्रा पाल्नु भएको छ । उनीहरूले वार्षिक क्रमशः रु छ लाख र रु चार लाख आम्दानी गरी घर सञ्चालन गर्दै आएको बताए। बाख्रापालनमा सो क्षेत्रका युवाको पनि सक्रिय सहभागिता छ ।
स्थानीय जातका बाख्रालाई उन्नत जातको बोका दिएर गरिएको प्रजननबाट जन्मेका पाठापाठीबाट बढी उत्पादन हुने गरेको बताउँदै किसानले बाख्रामा अहिलेसम्म खासै रोग लागेको छ्रैन । जङगल र घरबारीमा लगायतको डाले घाँसले बाख्रापालनमा सहयोग पुगेको सामूहिक धारणा छ । पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सिम गुरुङका अनुसार मौजालाई बाख्रा, भैसी, कुखुरापालन र ताजा तरकारी उत्पादनको नमूना पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तह तीन वटै सरकारको सहयोग अपरिहार्य रहेको छ ।
सरकारबाट प्रदान गरिने अनुदान सर्वसुलभ तरिकाबाट वास्तविक किसानले पाउनुपर्नेमा जोड दिँदै उनले पशुपालन र कृषिका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गण्डकी प्रदेश सरकारले मौजालाई बाख्राको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ खोर र नश्ल सुधारका लागि किसानलाई रु २० लाख अनुदान प्रदान गरेको छ ।
सरकारबाट खोर सुधारका लागि रु १० लाख र बोयर जातको स्रोत केन्द्र निर्माणका लागि राष्ट्रिय पशु प्रजनन केन्द्र लामापाटन भेडीफर्मबाट तीन वटा बेयर जातका बोकासहित रु १० लाख बराबरको अनुदान प्राप्त भएको कृषि सहकारीका अध्यक्ष गुरुङले जानकारी दिए ।
मुलुकमा भएको परिवर्तनसँगै सिंहदरबारको अधिकार घरघरमा भन्ने गरिए पनि सरकारबाट प्रदान गरिने अनुदान लिने प्रक्रिया झन्झटिलो भएको कारण अहिले पनि वास्तविक किसान पहुँचभन्दा टाँढा रहेको सामूहिक धारणा छ ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ