चार वर्षीया नातिनीलाई भर्ना गर्न विद्यालय पुगेका दार्चुलाका ६५ वर्षीय लालसिंह विष्टलाई पढ्ने उत्कट चाहना भयो । उनले नातिनी मनिषालाई शिशु कक्षामा भर्ना गरे अनि आफू कक्षा एकमा भर्ना भए।
नेपाली भाषा राम्ररी बोल्न नजान्ने विष्टले स्थानीय डोटेल भाषामा भने, “आफू नजान्ने भएकाले पढ्न मन लाग्यो।” शैल्यशिखर आधारभूत विद्यालय, ठुलशैनमा नातिनी र हजुरबा भर्ना भएयता गयल नभई विद्यालय गइरहेका छन् ।
पारिवारिक सहमति
लालसिंह विष्टको सात जनाको परिवार छ । घरको कामकाज परिवारका अरु सदस्यले धान्ने भएकाले आफू नियमित विद्यालय जान समय पाएको उनले बताए।

उनी नातिनीसँगै बिहान विद्यालय जान्छन्। दिनभरि पढ्छन् र नातिनीसँगै घर फर्किन्छन् । उनकी श्रीमती देवकी भन्छिन्, “घर फर्केपछि नातिनीसँगै बसेर आफू पनि पढ्नुहुन्छ र नातिनीलाई पनि पढाउनुहुन्छ।”
“यो उमेरमा आएर विद्यालय पढछु भनेपछि ठिकै छ पढनूस् भनेर परिवारको सहमतिमा विद्यालय भर्ना गरेका हौँ।” विद्यालयकी प्रधानाध्यापक कमला विष्टका अनुसार लालसिंह आफ्ना नातिनीसरहका केटाकेटीसँग कक्षाकोठामा प्रफुल्ल रहन्छन् । उनी भन्छिन्, “साना केटाकेटी पनि आफ्ना हजुरबा सरहका साथी पाउँदा रमाएका छन्।”

प्रोत्साहन
प्रधानाध्यापक विष्टले भनिन्, “उमेर पुगेका व्यक्तिलाई पढाउन केटाकेटीको तुलनामा सजिलो पनि हुँदोरहेछ।”स्कूल जाने उमेरका कोही नछुटून् भन्ने सरकारी अभियानका कारण अहिले धेरै बाबुआमाले आफ्ना छोराछोरीलाई बेलैमा भर्ना गर्न थालेका छन्।
दार्चुलामा पनि पहिलो र दोश्रो चरण गरी भर्ना अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमै विद्यालय जाने उमेरका सम्पूर्ण केटाकेटी विद्यालय भर्ना भएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख जयराज पन्तले बताए।
दार्चुला जिल्लामा अहिले कक्षा एकदेखि १२ सम्मका गरि ३४५ सामुदायिक विद्यालय छन्। १५ वटा संस्थागत विद्यालय रहेको एकाइले जनाएको छ । सामाजिक सुरक्षा भत्ता पाउने समयमा ६५ वर्षका लालसिंह विष्ट विद्यालय जाँदा समाजमा सकारात्मक सन्देश गएको छ।
पन्त भन्छन्, “लालसिंह स्कूल गएपछि विद्यालय उमेर समूहका बालबालिकाहरू उमेर गइसक्यो भन्दै विद्यालय जान हिचकिचाउने प्रवृत्ति निरुत्साहित हुनेछ।” बीबीसी नेपाली
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध