धादिङमा कैदीबन्दीलाई यस्तो सुविधा: कैदी युवतीसँग कोठामा, सुरक्षाकर्मी मदिरामा मस्त

धादिङमा कैदीबन्दीलाई यस्तो सुविधा: कैदी युवतीसँग कोठामा, सुरक्षाकर्मी मदिरामा मस्त

kaidi bandi in hotel

धादिङ – जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ। भिडियोमा रोचक त के देखिन्छ भने कैदीलाई कोठाभित्र एक महिलासँग थुनिन्छ र कैदीलाई होेटलसम्म पु-याउन गएका सिभिल प्रहरी र कारागारका सहनाइकेहरू रक्सी खाँदै बाहिर पहरा दिइरहन्छन्। नागरिक दैनिकका लागि धादिङबाट सरिता श्रेष्ठले न्यूज लेखेकी छन् ।

होटलका कोठामा भेटिन्छन् कैदीबन्दी

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ सेर्तुङका तामाङ जिल्ला अदालत धादिङबाट कैद सजाय तोकिएका अभियुक्त हुन्। कानुनतः उनी जिल्ला कारागारभित्रै थुनिएको अवस्थामा हुुनुपथ्र्यो। किनभने उनलाई जिल्ला अदालत धादिङले जबर्जस्ती करणी मुद्दामा २०७० जेठ २३ गते ११ वर्षको जेल सजाय तोकेको छ। तर उनी सदरमुकाम धादिङबेंसीको एक होटलको कोठा १०४ मा नियोजित रूपमा थुनिन्छन्। उनलाई अरू कसैले थुनेको नभई जिल्ला कारागार धादिङबाट उपचार गर्ने बहानामा आफैं बाहिर आएका हुन्। तामाङ धादिङ कारागारका सहायक नाइकेमध्येका एक हुन्।

कारागार सुरक्षामा नेपाल प्रहरी खटिएको हुन्छ। तर कैदीलाई उपचारका लागि बाहिर ल्याउने वा नल्याउने अधिकार कारागार प्रशासनसँग हुने प्रावधान ऐनमा छ। जेल प्रशासनसँग अनुमति लिएर मात्रै प्रहरीले कैदीलाई बाहिर निकाल्न पाउँछ र सँगसँगै सुरक्षाकर्मी खटाउनुपर्छ। यसरी उपचारका बहानामा अस्पताल नभई होटलका कोठामा युवतीसँग भेटिनु अभियुक्तको अर्को अपराध हो। स्रोतका अनुसार कैदीलाई अस्पतालमा उपचार गर्ने बहानामा युवती भेट्न होटलसम्म पु-याइन्छ। कारागारमा यस्ता अनैतिक क्रियाकलाप वर्षौदेखि नै हुँदै आइरहेको स्रोतको भनाइ छ।

अपराध गरको प्रमाणित भए सजायस्वरूप अभियुक्तलाई कारागारमा थुनिन्छ। कैद सजाय भुक्तान नहुन्जेल अभियुक्तहरू उपचारबाहेक कुनै अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम भए पनि धादिङ कारागारका कैदीबन्दी सदरमुकामका होटलहरूमा मस्ती गरिरहेको अवस्थामा भेटिनु कारागारको चरम लापर्बाहीको संकेत हो। कारागारका चौकीदार र कारागार प्रशासनको मिलेमतोमा कारागारभित्रका कैदीबन्दी यसरी खुलमखुला बाहिर भेटिएपछि कारागारको सुरक्षामा प्रश्न चिह्न उठेको छ।

कारागारभित्रको अर्को बेथिति त्यहाँभित्र अत्यन्तै महँगो मूल्यमा दैनिक उपभोग्य सामग्रीको बिक्री–वितरण हुनु पनि हो। चौकीदार र सहायकबाहेक अन्य कैदीबन्दी महँगो मूल्य तिरेर आवश्यक सामग्री किन्न बाध्य छन्। धादिङ कारागारमा लामो समयदेखि टोकबहादुर तामाङ चौकीदार थिए भने अहिले रूपेश चापागाईं छन्। चापागाईं पनि भर्खरै चौकीदार बनेका हुन्। पहिले चौकीदार रहो टोकबहादुर भने अहिले सहायक चौकीदार छन्।

कारागारलाई सुधार गृहका रूपमा पनि लिइन्छ। सरकारले तोकेको निश्चित क्रियाकलापबाहेक अरू प्रतिबन्धित क्रियाकलाप कारागारभित्र गर्न पाइँदैन। तर धादिङ कारागार भित्र चौकीदारहरूले छुट्टै राज्य चलाइरहेका छन्। भित्रै जुवातास खेलाउने र बजारमूल्यभन्दा पाँचगुणा महँगोमा कैदीबन्दीलाई रक्सी बिक्री गर्ने गरेको कारागारबाट बाहिरिएका नीलकण्ठ नगरपालिका–८ का राम तामाङले बताए। ‘चौकीदार र सहायक चौकीदारहरूबारे कुरा उठाउनेलाई उनीहरूले धम्की दिने र कुट्ने गर्छन्,’ उनले भने, ‘कारागारभित्र चौकीदार र उसका सहायकहरूले अन्य कैदीबन्दीसँग पैसा उठाएर जुवाताससमेत खेलाउने गरेका छन्।’

कैदीबन्दीलाई सरकारले दैनिक सात सय ग्राम चामल दिने भए पनि अन्य खाद्य सामग्री कैदीबन्दी आफैंले व्यवस्था गर्नुपर्ने हुन्छ। तर बजारमा १५-२० रुपैयाँमा पाइने चाउचाउ ४५ रुपैयाँसम्म तिरेर किन्नुपर्ने उनले बताए। कारागारभित्र आवश्यक दैनिक उपभोग्य सामान किनमेल गर्न गएका बजार नाइकेसँग सुरक्षाकर्मी र प्रहरीकै मिलेमतोमा रक्सी र जुवातास भित्रिने गरेको स्रोतको भनाइ छ।

पैसा भएकाहरूले चौकीदार र कारागार सुरक्षाका लागि खटिएका प्रहरीहरूलाई पैसा खुवाएर बाहिर मोजमस्ती गर्न जाने, कारागारभित्रै जुवातास खेल्ने र रक्सीखाने गरेका छन् भने पैसा नहुनेहरू चौकीदारहरूको शोषणमा बस्न बाध्य भएका छन्।

[यस साभार समाचारको शीर्षक परिवर्तन गरिएको छ ।]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ