अश्विन दानी, पोखरा । ठ्याक्कै एक वर्ष अघि बैशाख २३ गते गोरखाको बिसौनी मोडमा नगरपालिकाको टोली जेसिभिसहित पुग्यो, बल प्रयोग गरेरै त्यहाँ रहेका केही घुम्ति पसल र होर्डिङ बोर्डहरु हटाइयो ।
जुनबेला गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भनेका थिए, ‘गोरखा नगरलाई क्लिन सिटी बनाउने कार्यक्रम अन्तर्गत अव्यवस्थित रुपमा रहेका टहरा र होर्डिङ बोर्ड हटाउन थालेका हौँ । मापदण्ड विपरित कसैलाई व्यवसाय सञ्चालन गर्ने अधिकार छैन ।’
मेयर पन्तले एक्शनमै उत्रिएर गोरखालाई क्लिन सिटी बनाउने भन्दा नगरबासी खुब हौसिए । तर, त्यसको भोलिपल्टैदेखि टोली गायब भयो, व्यवसायीहरु भने जहाँको तहिँ । ‘पोहोरै मेयर आफै आएर यहाँ डोजर चलाउन ला’का हुन् । एकदिन डोजरले एक दुई वटा टहरो र बोर्ड हटायो । हामीलाई पनि हटाउँछन् कि भन्ने लाग्या’थ्यो तर भोलिपल्टबाट खै कस्ले रोक्यो कुन्नि ? धन्न हामीलाई हटाएनन्’ विगत तीन बर्षदेखि बिसौनी मोडमा घुम्ती पसल गरिरहेका एक व्यवसायी हौसिँदै भने, ‘सबै टहरो हटाउँछु भनेर डोजर चला’को एक बर्ष बढि भैसक्यो, खै हटाउन सक्या छैनन् । हामीलाई त आनन्दै छ ।’ ति व्यवसायीले नाम सार्वजनिक नगर्न आग्रह गरे ।
मापदण्ड बिपरित घुम्ती पसल सञ्चालन गर्नेहरु आफैँ सरकारलाई राजश्व नतिर्ने गरेको स्वीकार गर्छन् । ‘हाम्ले त घुम्तीको भाँडा बाहेक अरु केहि तिर्नु पर्दैन । कोहि माग्न पनि आउँदैनन्’ उनले नगरपालिकालाई व्यङ्ग्य गर्दै भने, ‘मलाई त नगरपालिकाले टहरो नहटाएकै फाइदै छ । कतै कर पनि तिर्नु पर्दैन ।’
टहरो विस्थापित गर्न एक पटक बल प्रयोग गरेपछि एक बर्षसम्म बेवास्ता गर्नुमा नगरपालिकाका पदाधिकारी र बिचौलिया बीचमा मिलेमतो हुन सक्ने घुम्ति पसलेहरु तर्क गर्छन् । ‘नगरपालिकालाई यो मापदण्ड विपरित हो भन्ने पनि थाहै छ । एक बर्ष अघि डोजर लगाएर एकदुई जना साथीलाई विस्थापित गरेकै हो’ अर्का ब्यापारी भन्छन्, ‘हामीले भाडा बुझाउने साहुँ र नगरपालिकाका कर्मचारीको सेटिङ भाको छ कि जस्तो लाग्छ । नत्र बल प्रयोग गरेरै एक बर्ष अघि कसैको हटाउने कसैको नहटाउने ? यसमा अरु के कारण हुन्छ त ?’
त्यहि घुम्ति पसलको बिषयमा २०७५ भाद्र १८ गते गण्डकन्यूजमा जग्गा कस्को, भाडा कस्लाई ? शीर्षकमा प्रकाशन भएको समाचारमा पनि मेयर पन्तले त्यो ठाउँ छिट्टै खाली गर्ने जनाएका थिए । तर, अहिलेसम्म उक्त मोडको समस्या ‘ज्यूँ को त्यूँ’ छ ।
गोरखालाई ‘क्लिन सिटी’ बनाउने कार्यक्रम अन्तर्गत नगरपालिकाले मापदण्ड विपरित बनेका टहरा विस्थापित गर्न डोजर चलाएपछि पनि पटकपटक छिट्टै हटाउँछौँ भन्दै गफ दियो तर घुम्ति पसल जस्ताको तस्तै । अझैपनि नगरपालिकाका मेयरले घुम्ति छिट्टै हटाउँछौँ भन्दै गफ दिन भने छाडेका छैनन् ।
‘हामीले पहिलो चरणमा गोरखामा फुटपाथ हटाउन अस्तिदेखि काम सुरु गरेका छौँ । पहिलो चरणको काम सकेपछि त्यो घुम्ति पनि हटाउँछौँ’ गोरखा नगरपालिकाका मेयर पन्तले भने, ‘बल प्रयोग गरेर घुम्ति हटाको भए पहिल्यै हटाउन सकिन्थ्यो । तर, त्यहाँका व्यवसायीले कन्भिन्स गराएर हटाउन खोज्दा समय लागेको हो ।’ त्यहाँका व्यवसायीहरुले राजश्व नतिर्ने गरेको मेयर पन्त आफैँ बताउँछन् । तर, अहिलेसम्म राजश्व नतिर्ने तथा मापदण्ड विपरित घुम्ति सञ्चालन गर्नेहरुलाई छुट किन ?
सम्बन्धित समाचारः
जग्गा कस्को, भाडा कस्लाई ?
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो