श्यामशितल परियार : पाउ परेँ आमा । सात समुद्रपारिबाट यो परदेशी छोराको न्यानो माया अनि मिठो सम्झना, मेरी आमा तिमीलाई ।
साँच्चै आमा यो तातो मरुभूमीमा तिम्रो, गाउँघरको अनि मेलापात, उकाली–ओराली, भञ्ज्याङ, चौतारी, वनपाखा, खोलानाला, ‘जिउँदाका जन्ती, मर्दाका मलामी’ साथीभाइको साह्रै न्यास्रो लाग्छ । याद आउँछ । आँखा रसाउँछन्, मेरी आमा ।
पात झरेर उजाड बनेका वनपाखा पनि हरियाली भएका होलान् । वनपाखामा न्याउली, कोइलीले गीत गाउँदै होलान् । दिउँसो केही गर्मी र साँझ–बिहान शिरशिरे बतास चल्छ हाेला । अनि बारीमा मकै, धाप खेतमा चैते धान गोड्ने बेला पनि भयो होला । आज त आमाको मुख हेर्ने दिन । आमा, तर म आज तिम्रो सामु छैन ।
आमा, आज तिम्राे अलि बढि नै याद आयाे । आजका दिनसम्म कयौँ साल फेरिए । भित्तामा कयौँ भित्तोपात्रो पनि फेरिए । तर तिम्रो दुःख कहिल्यै फेरिएन ।मलाई हुर्काउन साह्रै दुःख झेल्यौ आमा तिमीले ! सायद त्यसको कुनै लेखाजोखा छैन ।
आफू भोको बसेर यो पेट भर्थ्याै । मलाई दुख्दा तिमी दुख्थ्यौ । म रुँदा तिमी रुन्थ्यौ । मलाई आँखा अगाडि देख्दा तिमी सारा दुःख पीडा भुल्थ्यौ नि है आमा ! म सानै छँदा बाबाले हामीलाई सदाका लागि छोडी यस धर्तीबाट बिदा भएसँगै तिम्लाई पर्नुसम्मको पिर पर्यो । तर पनि हार खाइनौँ । अनेक दुःख झेलो गरी यो छोरालाई हुर्कायौ, पढायौँ, बढायौ ।
तिमी भन्ने गर्थ्याै नि आमा, ‘सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु । सबैको पालो आउँछ यो दुनियाँमा । आखिर सुख दुःख दुवै जिन्दगीका पाटो न हुन् ।’ कहिल्यै हार खाइनौँ । आधा पेट खाएर बस्यौ । खाली खुट्टै उकाली–ओराली गर्यौ । च्यातिएकै चोली र पछ्यौरीले कयौँ साल गुजार्यौ ।
दुःख झेल्दाझेल्दै गाला चाउरी परिसके । तर त्यो मुहारमा आजसम्म यो छोराले खुशी छरेर उज्यालो पार्न सकेको छैन । तिमीले माया, ममताले हुर्कायौ । कयौँ दुःख कष्ट सह्याै । साँच्चै आमा तिमी देवी हौ ।
आज तिम्रै मुहारमा खुशी छर्न, तिम्रो पाउमा चप्पल, अनि चोली फेर्नका लागि यो खाडीमा रगत पसिना बगाउँदै छु आमा । यो तातो मरुभूमिमा बगाउँदै गरेको रगत पसिनाको कमाइले तिम्रो चोली फेर्नुछ । त्यो हाम्रो खरको सानो झुपडीको छानो टिनले टल्काउनेछु । यो परदेशमा आउँदा लागेको साहुको ऋण तिर्नुछ ।
आजको दिनसम्म सुखको श्वास फेर्न नपाएकी मेरी आमा, तिमीलाई धेरै खुशी दिनुछ । त्यही आशामा तिमीबाट आज म धेरै टाढा छु । तर बुढेसकालमा यो छोराको साथबाट टाढा हुनुपर्दा तिमीलाई कत्ति पीडा भएको होला, त्याे म बुझ्छु ।
पैसा कमाउनका लागि परदेशिने बेला तिमीले टीका लगाएर बिदाइ गर्दैगर्दा भनेकी थ्यौ, ‘बाबु, म त डुब्ने बेलाको घाम न हो । छिट्टै घर फर्की आउनु है !’ यसो भन्दै गर्दा तिम्रो आँखामा साउने भेल बगिसकेका थिएँ । फाटेको पछ्यौरीले आँखाको आँशु पुछ्दै भनेकी थ्यौ, ‘आफ्नो ख्याल राख् है बाबु । आफ्नो देश, आमाको मायालाई जहाँ भएपनि कैल्यै नभुल्नु है !’
यो निधारले तिम्रो पाउ छाेएर आँखाभरि आँसु बनाउँदै तिमीलाई घरमा एक्लै छोडी परदेश आएकाे पनि वर्षौ हुन लागिसकेछ आमा । आफ्नो देशबाट टाढा छु । तिम्रो काखबाट धेरै टाढा छु । तर आमा तिमीले भनेझैँ तिम्रो, मेरो देशको मायालाई भुलेको छैन । भुल्न सक्ने छैन । हरपल सम्झिरहेको हुन्छु ।
आफ्नै देशमा सीप, क्षमताअनुसाको रोजगारी हुने भए कयौँ छोराछोरी परदेशमा आउनु पर्दैन थ्यो होला, रोजीरोटीको लागि । परदेशिएका छोराछोरीको यादमा तिमीजस्तै कयौँ आमा तड्पुन पर्दैनथ्यो होला । रुनु पर्दैनथ्यो होला आमा ।
आमा तिम्रो आशीर्वादले परदेशमा मलाई राम्रै छ । अबको दुई वर्षमा म तिम्रो सामु उभिनेछु । घरको छानो टिनले टल्काउनेछु । साहुको ऋण तिर्नेछु । बिरामी मेरी आमालाई राम्रो अस्पतालमा उपचार गराउनेछु । तिम्रो चोली, पछ्यौरी फेर्नेछु । तिम्रो मुहारमा खुशी छर्नेछु आमा ।
धैर्य गर मेरी आमा । तिम्रो र देशको मायालाई मुटुभरि राखी छिट्टै आफ्नै गाउँघर फिर्ती हुनेछु । घर आएपछि बाँझा जमिनमा श्रम–पसिना बगाउनेछु । कुटो–कोदालो गरी, खोले सिस्नु जे छ, त्यही खाइ देशमै बस्नेछु । समाजको सेवा गर्नेछु ।
मेरी आमा, संसारमा हरेक कुरा परिवर्तनशील छन् । सकारात्मक परिवर्तन हुनु आवश्यक पनि छ । तर आमा तिमीलाई, देशको माटोलाई माया गर्ने यो मेरो मन कहिल्यै नफेरियोस् । नबदलियोस् ।
मातृभूमि र जन्म दिने जन्मदातालाई गर्ने माया, गर्ने सम्मानमा कहिल्यै कमी नआओस् । जन्मभूमि र जन्मदातालाई सदा मन मुटुमा राखी बाँच्न पाइयोस् ।
आमा, अब म छिट्टै घर फर्की आउनेछु । बिन्ती छ मेरी आमा, मेरो यादमा आँशु नबगाउनु है !
सम्बन्धित खबर
कहाँ हराएको छ हाम्रो खुसी ?
मगर समुदायको माघेसंक्रान्ति र पुतली नाँच: योमाखार र पेल्माखारसंग सम्बन्ध
‘मैले देखेको पोखरामा हाम्रो भूमिका’
मर्दी बेस क्याम्प यात्रा संस्मरण: झरीको कष्टकर यात्रा बिर्साउने त्यो घुम्टो उघारेको हिमाल
पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’
मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी