गण्डकी प्रदेशको ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ अभियान

गण्डकी प्रदेशको ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ अभियान

avyan

पोखरा । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ अभियान सुरु गरेको छ । प्रदेशले पशुपालक कृषकको घरदैलोमा पुगेर सेवा दिने उद्देश्यलेका साथ ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ अभियान सुरु गरेको हो ।

मन्त्रालयको सोहि अभियान मार्फत पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले मङ्गलबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी ३४ पशु सेवा प्राविधिकलाई विभिन्न ७ उपकरण प्रदान गरेको छ। उपकरण पाउनेमध्ये तनहुँका २० र नवलपुरका १५ पशु सेवा प्राविधिक रहेको प्रयोगशालाका प्रशिक्षक डा गणेश केसीले जानकारी दिए ।

उनका अनुसार पशु सेवा प्राविधिकलाई माइक्रोस्कोप, सर्जिकल सेट, खसी पार्ने उपकरण, सेन्टिफ्युज लगायतका उपकरण प्रदान गरिएको छ। माइक्रोस्कोप भने तनहुँमा ४ र नवलपुरमा २ वटा मात्रै प्रदान गरिएको उनले जानकारी दिए। पशु सेवा प्राविधिकलाई करिब १४ लाख रुपैयाँको उपकरण प्रदान गरिएको छ। पशु सेवा विभागमार्फत गत वर्ष नै वितरण गर्नुपर्ने ती उपकरण प्राविधिक कारणले वितरणमा ढिलाइ भएको बताइएको छ ।

उपकरण पाएसँगै कृषकको घरघरमै पुगेर सेवा दिन सहज हुने पशु सेवा प्राविधिक धनराज कुमालले बताए। उनले भने,  ‘उपकरणको अभावमा सेवा प्रवाहमा असहजता उत्पन्न भएको थियो, अब भने सहज हुने भएको छ।’

पशु सेवा प्राविधिकलाई उपकरण प्रदान गर्दै गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि र पशुपालनमा प्रदेशलाई आत्मनिर्भर बनाउन पशु प्राविधिकको महत्वपूर्ण भूमिका रहने धारणा राखे। उनले समयमै उपचार नपाउँदा पशुको मृत्युसमेत हुनसक्ने भएकाले पशु प्राविधिक त्यसप्रति बढी संवेदनशील हुनुपर्नेमा जोड दिए।

मन्त्री थापाले कृषिमा श्रमप्रतिको विश्वास जगाउन आवश्यक रहेको जोड दिँदै कृषकलाई काम गर्ने वातावरण सिर्जना गर्न प्रदेश सरकार सदैव क्रियाशील रहने प्रतिबद्धता जनाए । युवापुस्तालाई कृषिमा आकर्षण गर्नका लागि नीति बनाउन सरकार लागिपरेको बताउँदै उनले कृषिलाई सम्मानित पेसा बनाइने जिकिर गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds