एजेन्सी– नुसरत जहान रफीमाथि मट्टीतेल खनाइयो र जीवित नुसरतलाई आगो लगाइयो । र, त्यो पनि उनको स्कुलमा । यो घटना हो बंगलादेशको । दुई साताअघि जस्तो नुसरतले आफ्नै स्कुलका प्रिन्सिपलविरुद्ध यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । नुसरतले आफूमाथि भएको यौन दुव्र्यवहारबारे बोल्ने जुन हिम्मत जुटाइन्, उनीमाथि जसरी आगो लगाइयो, यी सब कुराहरुले अहिले बंगलादेशमा चर्को रुप लिएको छ र विरोध प्रदर्शनहरु चर्किएका छन् ।
यतिमात्र होइन, विश्वले एसियाली देशहरुमा यौन उत्पीडनको अवस्था अत्यन्त कमजोर भएको भन्दै आवाज उठाउन थालेको छ । नुसरत १९ वर्षकी मात्र थिइन् । बंगलादेशको राजधानी ढाकाबाट १६० किलोमिटर दक्षिण पर्ने सानो गाउँ फेनीकी नुसरत मद्रासा अथर्वा इस्लामिक स्कुलमा पढ्दै थिइन् । २७ मार्चमा नुसरतले हिम्मत जुटाएर भनेकी थिइन्– मलाई प्रिन्सिपलले अफिसमा बोलाए अनि मेरा संवेदनशील अंगहरुमा छुन थाले, म त्यहाँबाट भागेँ ।
परिवार र समाज दुवैले आफूमाथि थप आशङ्का गर्ने र आफ्नो बेइज्जती हुने डरले बंगलादेशमा धेरै युवतीहरु यस्ता विषयमा बोल्न चाहँदेनन् । तर, नुसरतले आफूमाथि भएको दुव्र्यवहारबारे बोलिनन् मात्र, परिवारको सहयोग खोजिन् र प्रहरीकहाँ उजुरी दिन गइन् । स्थानीय प्रहरी चौकीमा उनले यसबारे बताएकी थिइन् । उनले आफूमाथि भएको दुव्र्यवहारबारे बोल्दा प्रहरी कार्यालयका अधिकारीले आफ्नो मोबाइलमा उनको भिडियो खिचिरहेका थिए ।
भिडियोमा नुसरतले आफ्नो अनुहार छोप्ने बारम्बार प्रयास गरिरहेकी छिन् । प्रहरीले चाहिँ ‘खासै ठूलो कुरा नभएको’ भन्दै उनको भिडियो खिचेका छन् । यही भिडियो स्थानीय सन्चारमाध्यममा आएपछि नुसरतको यो कुरा बाहिर आएको हो । नुसरत जहान रफी एउटा सानो गाउँकी मध्यम परिवारकी किशोरी थिइन् । उनको परिवार पुरातनवादी सोचको भएकाले उनी धार्मिक विद्यालयमा पढ्न थालिन् । २७ मार्चमा नुसरत प्रहरीकहाँ गएपछि उनको स्कुलका हेडमास्टर पक्राउ परे ।
त्यसपछि नुसरत झन् समस्याहरुमा फँस्न थालिन् । पक्राउ परेका हेडमास्टरको रिहाइका लागि धेरैले आवाज उठाए । स्थानीय नेताहरुले हेडमास्टर रिहाइ गर्नु पर्ने विरोधको समर्थन गरे । अनि मानिसहरुले नुसरतविरुद्ध अनेक आरोपहरु लगाउन थाले । जसले जति आलोचना गरे पनि ६ अप्रिलमा नुसरत आफ्नो परीक्षा दिन स्कुल गइन् । उनले आफूमाथि भएको दुव्र्यवहारबारे बोलेको ११ दिन मात्र भएको थियो । दाइ महमुदुल हसन नोमानसँग गएकी नुसरतलाई स्कुलको कम्पाउन्डभित्र छिर्न नै दिइएन ।
पछि नुसरत त स्कुलभित्र छिरिन् तर उनका दाइलाई भित्र जान दिइएन । पछि नुसरतले भनेअनुसार उनलाई स्कुलको छैटौं तलामा लगिएको थियो । त्यहाँ बुर्का लगाएका केही महिलाले उनलाई पिटेनन् मात्र, उनले लगाएको आरोप फिर्ता लिन पनि दबाब दिए । तर, उनले मानिनन् ।
नुसरतले हेडमास्टरविरुद्धको त्यो आरोप फिर्ता लिन नमानेपछि उनीमाथि मट्टीतेल खनाइएको र आगो लगाइएको नुसरतले बताएकी थिइन् । यसलाई नुसरतको आत्महत्या जस्तो बनाउन खोजिएको तर नुसरतले मृत्युअघि दिएको बयानका आधारमा उनको हत्या गर्न खोजिएको पुष्टि भएको त्यहाँका प्रहरी अधिकारीले बताएका छन् । तर, अस्पतालमा पुर्याइएकी नुसरतको ८० प्रतिशत शरीर जलेको त्यहाँका चिकित्सकहरुले बताएका छन् । नुसरतले अस्पताल जाने बाटोमा एम्बुलेन्समा आफू बाँच्दिनँ होला भन्ने आशंकाका साथ दाइको मोबाइलमा नै यो बयान पनि रेकर्ड गराएकी छिन् ।
‘त्यो शिक्षकले मलाई छोएकै हुन्,’ उनले भनेकी छिन्, ‘म मेरो अन्तिम सास रहुन्जेल लडिरहनेछु ।’ उनले आफूमाथि आक्रमण गर्ने केही विद्यार्थीको नाम पनि लिएकी छिन् । १० अप्रिलमा नुसरतले अन्तिम सास फेरिन् । त्यसयता प्रहरीले १५ जनालाई पक्राउ गरिसकेको छ । उनको निधनको समाचार स्थानीय सन्चारमाध्यमहरुमा आएपछि उनको अन्तिम संस्कारमा हजारौँ मानिसहरु सहभागि भएका थिए ।
प्रधानमन्त्री शेख हसिनाले नुसरतको परिवारलाई भेटेकी छिन् । ती हेडमास्टर प्रहरी हिरासतमा छन् भने नुसरतको भिडियो बनाएका प्रहरी पनि कारवाहीमा परेका छन् । र, बंगलादेशमा अधिकांश मानिसहरु यतिबेला सामाजिक सन्जालमा एउटै दुखेसो पोखिरहेका छन्– मलाई डर छ, मेरो घरमा पनि छोरी छ ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी